बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग गरेको छ।
समाजका कोषाध्यक्ष डीआर पनेरु, पुर्वअध्यक्षद्वय नरबहादुर सार्की र धर्मराज जोशी, पूर्वसचिव सुरेन्द्र भण्डारी, पुर्वकोषाध्यक्ष नवराज भट्टलगायतको समुहले भट्टको घरमै गई बैतडी दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्की र वडाध्यक्ष भरतसिंह महरालगायतको उपस्थितिमा सहयोग हस्तान्तरण गरेको हो।
गत माघ २१ गते बिहान विद्यालय गएकी भागरथीको बलात्कारपछि हत्या घटनापश्चात घरको पनि आर्थिक अवस्था कमजोर भन्ने समाचार बाहिरिएको थियो।
उक्त समाचार आएपछि सुदूरपश्चिम समाज कोरियाले गत माघ २५ गतेदेखि ‘भागरथीकी आमाका आँशु पुछौँ’ अभियान शुरु गरेको थियो। उक्त अभियानमा कोरियामा रहेका १६९ सहयोगीहले स्वःस्फुर्तरूपमा सहयोग गरेका थिए।
अभियानबाट कुल रु २७ लाख ३८ हजार ३९१ कोरियन वन रकम सङ्कलित भएको र सोही रकम भट्टको परिवारलाई हस्तान्तरण गरिएको सुदुरपश्चिम समाज कोरियाले जनाएको छ।। रासस