यज्ञराज जाेशी / पुष्पराज चाैलागाईं
के चिकित्सकसँग संवेदना हुँदैन? के चिकित्सकको मन हुँदैन?
अवश्य हुन्छ!
हुन्छ भने जीवन रक्षा गर्ने चिकित्सकलाई मानिसहरू किन संवेदनहिनतासँग जोड्छन्?
पेसागत बाध्यतामात्रै हो त?
मुलुककै जेठो अस्पताल वीरका वरिष्ठ न्युरो सर्जन डा. राजीव झा कहिलेकाहीँ यस्तै कुरामा घोत्लिन्छन्।
डा. राजीवले १८ हजारभन्दा बढी टाउकाको शल्यक्रिया गरिसकेका छन्।
हजारौं क्षतविक्षत टाउकाहरूमा उनका कोमल औंला सल्बलाएका छन्।
हेर्नै नसक्ने गरी फुटेका टाउकाले उनलाई कहिल्यै अत्याएनन् र उनी कहिल्यै हडबडाएनन् पनि। कहिल्यै काँपेनन् डा. राजीवका हात। कहिल्यै संवेदनाले छोएन उनको मुटु।
त्यस्ता टाउकाले सधैं बनाइरह्यो जिम्मेवार।
डाक्टरकै हात काँपे बिरामीको जीवन कसले बचाउने? मुटु कमजोर बने कसले जीवन रक्षा गर्ने? उनलाई सधैं मान्छेलाई बचाउनुपर्ने जिम्मेवारीले मात्रै थिचिरह्यो।
डा. राजीवले कहिल्यै आफूलाई ‘पर्फेक्ट’ ठानेनन्। जति नयाँ ‘केस’ आउँथे उनका लागि त्यो जीवनको पहिलो सिकाइजस्तै लाग्थ्यो।