'प्रदेश २ सरकारको भ्रष्ट चरित्रले मधेसको नाम बदनाम भएको छ'

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं शहरी विकास मन्त्री प्रभु साहले प्रदेश २ सरकारको भ्रष्ट चरित्रले सिंगै मधेसको नाम बदनाम भएको बताएका छन्। 

पर्साको छिपहरमाई गाउँपालिकाद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका मन्त्री साहले मधेशी दल नेतृत्वको प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त भएको बताउँदै उनीहरुको कारण दुनियामा मधेसको इमेज नै खराब भएको बताए।

प्रदेश २ सरकारले संघीय सरकारको जनता आवास कार्यक्रम मार्फ़त गरिब दलितको आवासको लागि बर्सेनि आउने गरेको करिब डेढ अर्ब रकम दुरुपयोग भएको भन्दै मन्त्री साह आक्रोशित बने। प्रदेश सरकार गठन भएको तीन वर्ष बितिसक्दा समेत हेर्न लायक एउटा पनि काम नभएको मन्त्री साहले बताए।

"संघीय सरकारले जनता आवास कार्यक्रममार्फत वर्षको करिब डेढ अर्व रकम पठाउने गरेको छ। तर प्रदेश सरकारले वर्षेनी उक्त रकमको दुरुपयोग गर्दै आएको छ।" मन्त्री साहले भने, "गरिब दलितको घर बनाउनको लागि सरकारले प्रदेशमा पठाएको रकम खर्च नगरेर गरिबलाई झन दु:ख दिन खोज्ने प्रदेश सरकारको हर्कत आपत्तिजनक छ।"

 "हिजो पहिचान र सम्मानको नाममा भोट मागेका मधेशी दल आज मधेसको अपमान र बदनाम गराउन उद्धत छ। देशकै सबभन्दा सानो प्रदेश-२ भए पनि अरु प्रदेशको तुलनामा दोब्बर संख्यामा मन्त्री राख्नु , सबभन्दा गरिब प्रदेश भए पनि अरुको तुलनामा सांसद-मन्त्रीको तलब सुविधा बढ़ी हुनु, उधोग, व्यापार, कृषि, पर्यंटन जस्ता सम्भावनै सम्भवनाले भरिएको क्षेत्रलाई पुरै बेवस्ता गर्नु र बजेटलाई कमिशनको चक्करमा बाडचुड गरि दुरुपयोग गर्नु जस्ता कार्यले आज गौरवपूर्ण इतिहास बोकेको मधेस बदनाम भईरहेको छ।" मन्त्री साहले भने, "प्रदेश सरकार गठन भएको तीन वर्ष भईसकेको छ तर अहिलेसम्म कुनै एउटा काम देख्नुभएको छ, जुन प्रदेश सरकारले गरेको हो ? एउटा पनि काम छैन। यस्ता धोखेबाजलाई अब मधेशी जनताले साथ दिन सक्दैनन्।"

मधेशी दलले जनतालाई निरन्तर धोका मात्र दिदै आएको बताउँदै नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका मन्त्री साहले मुलुक र जनताका लागि जसपा आवश्यक नभएको बताए। उनले जसपाकै कारण प्रदेश २ मा भ्रष्टाचार, लुट, हत्या, तथा आतंक बढेको आरोप लगाए। 

कार्यक्रममा प्रदेश सभा सदस्य महम्मद समीर, संविधानसभा सदस्य राजकुमार गुप्ता एवम् जयप्रकाश थारु, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ता, नेताहरू डा. विशम्भर शर्मा, बलिराम साहलगायतका जनप्रतिनिधि एवम् नेताहरुको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: : 2021-02-27 08:32:00

प्रतिकृया दिनुहोस्