बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानीमा पहिलोपटक केन्द्रीय विद्युत् पुगेको छ।
नेपाल विद्युत् प्राधिकरणले पाण्डवखानीमा केन्द्रीय विद्युत् सेवा सञ्चालन गरेको हो।
लामो समयदेखि लघु जलविद्युत्को भरमा गुजारा गर्दै आएका पाण्डवखानीवासी पहिलोपटक केन्द्रीय विद्युत् पुगेपछि हर्षित भएका छन्।
भौगोलिक विकटतासँगै लघुजलविद्युत् मर्मतसम्भारमा पटकपटक हुने समस्याले लामो समयदेखि हैरानी खेप्नु परेको अवस्थामा केन्द्रीय विद्युत् सेवा सञ्चालन भएपछि सहज भएको स्थानीय व्यवसायी देवनारायण श्रीसले बताए।
ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत पाण्डवखानीमा विद्युतीकरण गरिएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिवनारायण गोसलीले जानकारी दिए।
विकट अनि दूरदराजका जनतालाई विद्युत् सेवा उपलब्ध गराउँदै उपभोक्ताको दैनिकीमा सहजता ल्याउने कार्यमा विद्युत् प्राधिकरणले आफ्नो कार्यलाई निरन्तरता दिएको उनको भनाइ छ।
आवश्यकताअनुरूप ट्रान्सफर्मर, पोलसँगै अन्य विद्युतीय सामग्री व्यवस्थापन गरिने बागलुङ वितरण केन्द्रका सुपरभाइजर रेशम गौतमले जानकारी दिए।
केन्द्रीय विद्युत्को पहुँच पुगेसँगै अब स्थानीय स्रोत र साधनको सदुपयोग गर्दै जनतालाई आर्थिक समृद्धिमा जोड्न सहज हुने गलकोट नगरपालिका–१० पाण्डवखानीका वडाध्यक्ष तिलक घर्तीले बताए।
आमा समूहको आयस्रोत आलुखेती
गलकोट–७ मल्मको मूलपानी आमा समूहले यो वर्ष जोडेको सम्पत्ति चार मुरी आलु हो।
कात्तिकमा लगाएको १० पाथी आलुले चार मुरी फसल दिएपछि समूहमा आबद्ध सबै आमाहरु खुशी छन्।
घरखर्च टार्नकै लागि हरेक वर्ष आफ्नो खेतबारीमा आलु खेती गर्दै आएका समूहका सदस्यहरुले यो वर्ष समूहमा खेती गरे।
समूहको सक्रियतामा लगाइएको आलु राम्रो फलेपछि आम्दानी बढ्ने पक्का छ।
स्थानीय सरकारले महिला सशक्तीकरणका छुट्याएको बजेट सदुपयोग गर्दा यहाँका महिलाहरुले आलुको राम्रो फसल लिएका हुन्। मल्ममा १४ वटा समूहले १० पाथीका दरले आलु लगाएका छन्।
विगतमा महिलाका लागि भनेर छुट्याइएको बजेट गोष्ठी र बैठकहरुमा सकिन्थ्यो।
हरेक वर्ष बजेट पाउँदा पनि महिलाको आर्थिक अवस्था उस्तै रहेपछि यस वर्ष महिला समूहले नयाँ प्रयास थालेका हुन्।
वडाले महिलाका लागि छुट्याएको रु ७५ हजार बजेटले ताराखोलाको आलुको बीउ महिला जागरण केन्द्र मल्मले ल्याएर बाँडेको हो। सबै समूहले लगाएको आलु चारदेखि छ मुरीसम्म फलेको छ।
‘पहिले देखिने गरी केही हुने थिएन, यसपटक आलु लगाएको राम्रो आम्दानी हुने देखेका छौँ’ मिलिजुली आमा समूहका अध्यक्ष टीका सहानीले भने, ‘अहिले सबै बेचेर पैसा राख्छौँ, अर्को वर्ष त्यही पैसाले धेरै बीउ किनेर समूहमा लगाउँछौँ।’
समूहकै सदस्यका बाँझो रहने जमीनमा उनीहरुले खेती गरेका थिए । अहिले बीउ पूँजी जम्मा गरेर अर्को वर्ष व्यावसायिक उत्पादन गर्ने योजना रहेको उनले सुनाए।
‘अभिमुखीकरण भनेर सकेको भए पनि थोरै पैसा यसै जान्थ्यो तर हामीले आम्दानीका लागि बीउ खोज्यौँ’, महिला जागरण केन्द्र मल्मका अध्यक्ष ललिता थापाले भने, ‘यो सामूहिक आम्दानीको शुरुआत हो, अहिले फलेको आलुको मूल्य सबै बीउमा लगाउँदा अर्को वर्षदेखि समूह आर्थिकरूपमा सबल हुन्छ।’
समूहमा जम्मा हुने रकम ऋणधन गर्ने भएकाले महिलाको दैनिकी चलाउन सहज हुने थापाले बताए।
ताराखोलाको आलु स्वादिलो हुने भएकाले बजारमा राम्रो माग छ। मल्मका केही आमा समूहले उत्पादित आलुलाई एक पाथीको रु २०० का दरले बिक्रीसमेत गरेका छन्।
‘अर्को वर्षको बजेट पनि आम्दानी हुने क्षेत्रमै खर्च गर्छौँ’ थापाले भने, ‘महिलाहरुले सामूहिकतामा विश्वास गरेर आम्दानी बढाउनु छ।’
मल्मका महिलाले थालेको आम्दानीसँग जोडिने अभियान अन्य क्षेत्रका महिलाका लागि सिकाइ हुने महिला जागरण केन्द्र मल्मका उपाध्यक्ष थुमकली थापाले बताए।
वडा कार्यालयले लक्षित वर्गका लागि छुट्याएको रु दुई लाख ५० हजार बजेटमध्ये महिला र दलितका लागि ३०÷३० प्रतिशत र जनजाति तथा अपाङ्गता भएकाहरुका लागि २०÷२० प्रतिशतका दरले बाँडफाँट गरेका थिए। जनजातिका लागि छुट्याइएको रकमले च्याउ खेती तालीम दिइएको छ।
भूपूसैनिकको नवीकरण र रुजु
जिल्लामा पेन्सन क्याम्प शुरु भएको छ। कोरोना भाइरस महामारीका कारण रोकिएको क्याम्प एक वर्षपछि सोमबारदेखि केही दिनका लागि शुरु भएको हो।
यस पटकको क्याम्पमा भारतीय सेना र विभिन्न संस्थाबाट अवकासप्राप्त भूपूसैनिकहरुको उल्लेख्य उपस्थिति रहेको छ। प्रत्येक छ महिनामा हुँदै आएको क्याम्प एक वर्षको अन्तरालमा चलेको हो।
‘कोभिड महामारीका कारण अघिल्लो पटक क्याम्प बस्न सकेन’ भारतीय सेनाका ले। क। सुशान्त त्रिपाठीले भने, ‘अध्यावधिका लागि यस पटक क्याम्प सञ्चालन गर्ने निधोमा पुग्यौँ।’
केही वर्षपहिले क्याम्पबाट भूतपूर्वहरुले पैसा नै बोकेर जान्थे तर अहिले भने पेन्सनर ज्युँदै रहेको, मृत्यु भएको, परिवारले पाउने पेन्सनको विषयमा जानकारी र मृतकको पेन्सनपट्टा दाखिलाको काम भइरहेको छ।
‘कोरोना महामारी भनेर हामीले छ महिनामा हुने क्याम्प रोकेका थियौँ, अहिले सडकभरि मान्छे भएपछि क्याम्प रोक्नुपर्ने देखिएन’, त्रिपाठीले भने, ‘यो नियमित प्रक्रिया हो।’
लामो समयपछि क्याम्प चलेकाले अधिकांश भूतपूर्वसैनिकहरु भेला भएका छन्। बागलुङ नगरपालिका–३ गुठीमा भूपूहरुको ठूलो भीड लागिरहेको छ।
एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकमा खोलिएका खातामार्फत प्रत्येक महिना निवृत्तिभरण पाउनेहरुको खातामै रकम जाने भएकाले पेन्सन क्याम्पमा भूतपूर्वहरुको चाप भए पनि आर्थिक चाप छैन।
फागुनको १० गतेदेखि शुरु भएको क्याम्प फागुनको १४ गतेसम्म चल्ने जिल्ला सैनिक बोर्ड बागलुङका सेक्रेटरी गोपालसिंह थापाले बताए।
सदरमुकाम बागलुङमा रहेको क्याम्पबाट करीब रु ८० करोड वितरण हुन्थ्यो तर गत वर्षदेखि भने बैंक खातामै रकम जम्मा हुने भएकाले रकम वितरण भने क्याम्पमा हुने छैन। सैनिक बोर्डका अनुसार साविकको धौलागिरि अञ्चलमा आठ हजारभन्दा धेरै पेन्सनर रहेका छन्।
भारतीय सेना र भारतका विभिन्न सङ्घसंस्थाबाट अवकासप्राप्त भूपूलाई पेन्सन दिनका लागि हरेक वर्ष नवीकरण गर्ने प्रक्रिया छ।
बैंक खातामा पेन्सन आउने भए पनि पेन्सनरहरु भने लाइन लाग्ने गरेका छन्।
‘हरेक अङ्ग्रेजी महिनाको अन्तिम दिन पेन्सन खातामा आउँछ’ थापाले भने, ‘खातामा रहेको रकम जहिले पनि निकाल्न मिल्छ तर भीडभाड हुने गरेको छ।’
पेन्सन खातामा जम्मा भएको रकममा ब्याज प्राप्त हुने भए पनि पेन्सनरहरुले नबुझेका कारण बैंकमा भीडभाड हुने गरेको थापाको भनाइ छ।
बागलुङमा क्याम्प बस्ने बेला नवीकरण नभएमा पोखरा पुग्नुपर्ने भएकाले पनि धेरै भीड हुने गरेको त्रिपाठी बताउँछन्।
‘विशेष गरेर पेन्सनरको मृत्यु भयो र उहाँको श्रीमतीका नाममा नामसारी गर्नुपर्ने भएमा क्याम्पले धेरै सहयोग गर्छ’ यनले भने, ‘कागजी सबै काम हामी मिलाउँछौँ, पेन्सन सबैको खातामै जम्मा हुने व्यवस्था भएको छ।’ रासस