भनिन्छ, घटना उही रूपमा नदोहोरिए पनि उस्तै रूपमा चाँहि दोहोरिन सक्छ। नभन्दै, रोम जल्दा निरो बाँसुरी बजाइरहेजस्तै घटना नेपालमा दोहोरियो। यद्यपि, घटनाको आयाम र कोण फरक थियो। अर्को कोणबाट हेर्दा पाराडाइम सिफ्ट भएको पनि भन्न सकिएला। त्यसो भन्न चाँहि यतिले मात्र नपुग्ला, सेकेण्ड ओपनियन नै जरूरी हुन्छ।
खड्गप्रसाद ७०औं जन्मदिवशको खुशीयाली मनाइरहेका थिए। सरकारी निबासमा केक काटेर भर्खरै सकिएको थियो, अब पालो थियो, श्रीमतीको पुस्तक लोकार्पणको। त्यो पनि सुरू भैसकेको थियो।
यतिबेलै रामशाहपथमा रहेको सर्वोच्च अदालतले उनलाई जन्मदिनको शुभकामना दियो, ‘प्रतिनिधिसभा विद्घटन बदर। यो निर्णयबाट भए गरिएका सबै कार्य शुन्य अवस्थितिमा। १३ दिनभित्र संसदको अधिवेशन बोलाउनु।‘
खड्गप्रसाद एकाएक छांगाबाट खसेजस्ता भए। उनलाई केही दिनदेखि यस्तै फैसला हुने लागिरहे पनि त्यस्तो नहुने झिनो आशा बाँकि नै थियो, तर त्यो झिनौ आशा पनि चकनाचुर भयो। वैशाख १७ र २७ मा चुनाव हुने र आफूले दुई तिहाइ ल्याउने भनेर सरकारी खर्चमा देशभरि ‘ठूला कुरा गर्दै’ हिडेका ओलीका लागि एकाएक भाउतो आइलाग्यो। अब के गर्ने ? उनको बोल्ती नै बस्यो।
उनको सातो गएपछि अहिले उनका अनुचरहरू बिस्तारै सातो बोलाउन थालेका छन्। सामाजिक सञ्जालमा सातो बोलाउनेमा उनका केही डाइ हार्ट अनुयायीहरू भेटिएका छन् जस्तो कि, महेश बस्नेत, गोकुल बासकोटा, शंकर पोखरेल। उनीहरू टोन पनि त्यति टेकोलाग्ने खालको छैन।
उता, खड्गप्रसादको कदमको विपक्षमा रहेको क्याम्पमा भने खुशीयाली छाएको छ। प्रचण्ड-माधव त चितवन पुगेर एकअर्कालाई लड्डु नै खुवाउन भ्याइसके। विरोधसभा विजयसभामा परिणत गर्न निर्देशन भैसक्यो। सर्वोच्चको फैसला आएको केही समयपछि साँझ नढल्दै देशभर दीपावली भयो।
मुलुकमा यति धेरै खुशी र दु:खी हुने बाहेक अरू थरि मानिस पनि छन्। एकाथरिलाई यो सबै घटना कागलाई बेल पाक्यो हर्ष न विष्मत छ। यसमा पनि दुईखाले मान्छे छन्, एकखालका धनी/शक्तिशाली मानिस जसलाई जे आएपनि फरक पर्दैन। अर्काथरि, धन र चेतना दुबैले गरीव असहाय छन् जसलाई यो निर्णयले छुँदै छुँदैन।
यस अतिरिक्त पार्टी राजनीतिभन्दा माथि उठेका नागरिक पनि छन्, उनीहरू यतिबेला एक किसिमले राहत त महसुस गरिरहेका छन् तर अब यस अगाडि के होला भन्ने चिन्ता पनि छ। उनीहरूको चिन्ता यो खड्गप्रसादको हैन, अरू खड्गप्रसादहरू जन्मन नदिन के गर्ने होला/ कस्तो थिति बसाल्ने होला?, भन्नेसँग सम्बन्धित छ। यो घटनाबाट पाठ सिकेर नेताहरू फेरि यस्तो दुर्घटना नदोहोर्याउनेतिर लाग्छन् कि लाग्दैनन् होला?, उनीहरू सामु यो प्रश्न पनि ठिङ्ग उभिएको छ।
नेपाली राजनीतिक इतिहासमै अहम् महत्व राख्ने घटना हो यो, संविधानको कोणबाट हेर्दा त यो लाइफलाइन नै हो। यस्तो ऐतिहासिक घटना भएकाले यसमाथि क्रिया/प्रतिक्रिया हुनु स्वभाविक हो र भएका पनि छन्। अधिकांशको प्रतिक्रिया सकारात्मक छ, खुशी छन् उनीहरू। केहीले आशंकासहितको खुशीयाली मनाएका छन्। दु:खी हुने भनेका खड्गप्रसादबाट कुनै न कुनै किसिमको लाभ लिएका मानिस मात्र छन् या खड्गप्रसादमा राष्ट्रियताको 'माचोम्यान' देख्ने भ्रमबाट मुक्त नभएकाहरू छन्। अर्कोथरि खड्गप्रसादले उपद्रो मच्चाउँदा कतै राजा फर्काएर आफ्नो पालो फर्काउन पाइएला कि भन्ने आशामा रहेकाहरू पनि छन्। यो दु:खी कित्तामा यताउता जताका भए पनि व्यक्तिलाई नै महत्व दिने सोचका मानिस छन्।
यो निर्णयसँगै अब मुलुकले कुन बाटो लेला? आममानिसको मनमा यही प्रश्न छ वा यही प्रश्नको सेरोफेरोका पुरक प्रश्न छन्। केही मानिसलाई लागेको थियो, अब खड्गप्रसादले नैतिक रूपमा राजीनामा दिएर मार्गप्रशस्त गर्नेछन्। उनीहरूको बिचारमा यसो गर्दा उनको राजनीतिक शाख पनि बच्थ्यो र सम्भवत: नेकपा पनि विभाजन हुनबाट बचेर बाँकि दुई वर्ष नेकपाकै अर्को कुनै प्रधानमन्त्रीमार्फत मुलुकले राजनीतिक स्थायित्व पाउँन सक्थ्यो। यसो गर्दा राजनीति मूलबाटोमा आउँथ्यो र त्यसमा उभिएर यो घटनाले सिकाएका पाठका आधारमा थप काम गर्न सकिन्थ्यो।
खड्गप्रसादले राजीनामा दिएर नेकपाको सांसद भएरै बस्नु तत्कालका लागि सबैभन्दा उत्तम समाधान हो। यसो भयो भने नेकपा फुटबाट बच्छ र मुलुकले स्थिरता पाउँछ। तर, त्यसो नगर्ने हो भने उनलाई साधारण सदस्य पनि नरहने गरी सांसदबाटै निस्कासन गर्नुपर्छ। जसले गर्दा मुलुकका यी र अरू 'खड्गप्रसादहरू'लाई पनि एउटा गतिलो पाठ मिल्नेछ।
तर, खड्गप्रसादका प्रेस सल्लाहकार सूर्य थापाले लेखिसके, ‘प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ। तत्काल राजीनामा दिनुहुने छैन।‘ यसले खड्गप्रसाद त्यो बाटोमा हिड्ने मुडमा भएजस्तो देखिएन। उनका अर्का अनुयायी शंकर पोखरेलले भनिसके, सर्वोच्चको फैसलाबाट सुरू हुने अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टी गर्नेछ।‘ खड्गप्रसादका लागि शान्तवनाका रूपमा आएका यी भनाइले उनी चुपचाप छोड्नेवाला छैनन्, आफ्नो सत्ता जोगाउन जे गर्न पनि तयार हुनेछन् भन्ने संकेत गर्छ। उनलाई आशा छ, शेरबहादुरलाई प्रधानमन्त्रीको घाँस हालेर सके आफैं प्रधानमन्त्री हुने, नसके पनि माधव-प्रचण्डलाई प्रधानमन्त्री हुन नदिने रणनीति सफल हुनेछ। हुन त ओली देउबाबीच एक किसिमको सत्ता सहमति भैसकेको पनि राजनीतिक वृतमा कुरा चलेको छ। पछिल्लो समय देउबाको कथनी र करनीले पनि त्यसको केही छनक पनि दिइरहेको छ।
तर, यसका लागि पहिले त उनी नेकपामा संसदीय दलको नेतामा टिकिरहन पर्ने हुन्छ वा नेकपाको केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्याएर पार्टी फुटाउन सक्नुपर्ने हुन्छ। अहिलेको अवस्थामा यी दुबै सम्भावना देखिदैन। उनी शक्तिशाली प्रधानमन्त्री हुँदा त त्यो सम्भावना नभएको नेकपा- अंकगणित बाहिरिइसकेको थियो भने अहिले त उनी सर्वोच्च अदालतले झापड दिएर नैतिकतामै प्रश्न उठेको नाजुक मोडमा आइपुगेका छन्। यस्तो अवस्थामा हिजो पदका लागि उनको पक्षमा गएका कतिपय नेकपा नेता तथा सांसद मूलधारमै फर्किने छन्। यो स्थितिमा अब उनले आफ्नो सांसद पद जोगाउन पनि प्रचण्ड माधवको गुलामी गर्नुपर्ने स्थिति हुनसक्छ।
हुन त एकथरि मानिस अझै पनि खड्गप्रसादले पार्टी विभाजनका लागि संसदीय दल वा केन्द्रीय समितिमा आफू अनुकुल संख्या भएको अध्यादेश जारी गर्ने सम्भावना रहेको पनि बताइरहेका छन्। यद्यपि, त्यो सम्भावना पनि सजिलो देखिदैन । कारण, पहिलो त अब १३ दिनभित्र संसदको अधिवेशन बोलाउनुपर्ने बाध्यता छ र अधिवेशन अगाडि अध्यादेश ल्याएर त्यो सबै प्रपञ्च मिलाउन सहज छैन। दोस्रो, राष्ट्रपति विद्यादेवीलाई ओलीले यति धेरै एक्सपोज र दुरूपयोग गरिसके कि अब त उनी आफैविरूद्धको महाअभियोगबाट बच्न पनि त्यसो गर्न सक्ने अवस्थामा छैनन्। अब उनी ओली निर्णयको मसी सुक्न नपाउँदै सहीछाप गर्ने गल्ती गर्ने नगर्लिन्। समयले उनलाई अब आफू टिकिरहन पनि प्रचण्ड-माधव पक्षलाई नै रक्षाकवच बनाउनुपर्ने अवस्थामा पुर्याइदियो ।
विद्यादेवीलाई अन्तिम प्रश्न सोध्नुपर्छ, राष्ट्रपतिको थान्कोमा बस्ने कि खड्गप्रसादको ‘प्यादा’ (रामकुमारीको उपमा पैचो लिएर) भएर बस्ने? राष्ट्रपति भएर बस्ने हो भने शंकाको सुविधा दिनुपर्छ अन्यथा महाअभियोग लगाएर उनलाई दण्डित गरेर आगामी दिनका लागि पाठ दिनुपर्छ।
मुलुकको हावा अग्रगमनको दिशामा चलेकाले अब खड्गप्रसादलाई खड्गो काट्न गाह्रो छ। त्यसैले उनको पक्षमा नेपालको राजनीति जाने सम्भावना तत्कालका लागि देखिदैन। स्वयं देउबा पनि कांग्रेसको पछिल्लो अंकगणितमा खड्गप्रसादको बैशाखी बन्न सक्ने अवस्था छैन।
यस्तो अवस्थामा मुलुक अग्रगमनकै दिशामा जानुपर्ने हुन्छ। त्यो भनेको अहिलेका लागि कम्तिमा पनि व्यक्ति हैन, पद्धतिको कुरा गरिरहेका पक्षधरको सरकारमा आगमन हो। त्यसको सुरूवात नेकपाको संसदीय दलमा खड्गप्रसादलाई अविश्वासको प्रस्ताव राखेर हटाएर सुरू गर्न सकिन्छ। त्यो नभए खड्गप्रसादविरूद्ध संसदमा दर्ता भैसकेको अविश्वासको प्रस्ताव संसद सुरू भएको पहिलो दिनमै प्रक्रियामा लगेर हुन सक्छ। त्यसो भयो भने खड्गप्रसादलाई हटाएर नेकपाका अर्का कुनै नेताको नेतृत्वमा सरकार बन्न सक्छ। खड्गप्रसाद धन्धुकारी नहुने हो भने नेकपाकै बहुमतको सरकार बन्न सक्छ। उनी धन्धुकारी हुने हो भने संसद पुनस्थापर्नाको पक्षमा रहेको नेकपाको प्रचण्ड-माधव घटक, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीको दुईतिहाइको सरकार बन्न सक्छ।
यसरी बन्ने सरकारले केही आधारभूत कुरा भने गर्नैपर्ने हुन्छ। त्यो के भने पहिलो त त्यो सरकारमा योग्य व्यक्तिको प्रतिनिधित्व गराउनुपर्छ। दोस्रो, खड्गप्रसादले गरेका अनैतिक नियुक्तिहरू तुरून्तै खारेज गर्नुपर्छ। तेस्रो, खड्गप्रसाद र विद्यादेवी प्रवृतिलाई कहिल्यै टाउको नउठाउने अवस्थामा पुर्याउनुपर्छ। सकिन्छ भने खड्गप्रसादलाई साधारण सदस्य पनि नरहने गरी हटाएर सांसदबाटै निस्कासन गर्नुपर्छ। उनका केही हनुमानलाई पनि त्यो स्तरको सजाय दिनुपर्छ। विद्यादेवीलाई अन्तिम प्रश्न सोध्नुपर्छ, राष्ट्रपतिको थान्कोमा बस्ने कि खड्गप्रसादको ‘प्यादा’ (रामकुमारीको उपमा पैचो लिएर) भएर बस्ने? भनेर सोध्नुपर्छ। राष्ट्रपति भएर संवैधानिक सिमामा बस्छु बनिन् भने शंकाको सुविधा दिनुपर्छ अन्यथा महाअभियोगमार्फत् दण्डित गरेर उनलाई मात्र सबक सिकाउने हैन कि आगामी दिन लागि पनि नजीर स्थापित गर्नुपर्छ। यो सँगसँगै प्रत्यक्ष निर्वाचित राष्ट्रपति या प्रधानमन्त्रीको दिशामा सोच्नुपर्ने हुन्छ। संविधानमा उठेका कतिपय प्रश्नहरूको सम्वोधन गर्नुपर्ने यसबेला यदि यो प्रश्नको पनि हल गरियो भने एक निर्वाचन क्षेत्रबाट जितेर सिंगै मुलुकबाट जितेको जस्तो गरेर राज गर्ने खड्गप्रसादहरूको मुहान सुक्ने छ।
तर, यी सबै नगरेर टालटुले नीति अपनाइयो भने न अहिलेका खड्गप्रसाद चेत्छन्, न आउने दिनका सम्भावित खड्गप्रसादहरू यो परिधटनाले सिकाएको पाठअनुसारको व्यवहार गर्न तयार हुन्छन्। अहिलेको नागरिक आन्दोलन र मिडियाको अपेक्षा यी केही मूलभूत प्रश्नहरूको सम्बोधनतिर पनि लक्षित छ। त्यसो नगरिए मात्र एक थान खड्गप्रसाद गएर अर्को एक थान खड्गप्रसाद सत्तामा आउने हुन्छ। त्यसले अन्तत: आम नेपालीलाई निरूत्साहित त बनाउने छ नै, लोकतन्त्रको पनि खिल्ली उडाउने छ।
आशा गरौं, अब त्यसो हुने छैन। यो परिघटनामार्फत् समयले यी खड्गप्रसाद र अरू खड्गप्रसादहरूलाई पनि गतिलो पाठ दिएको छ। बाँकि त उनीहरूकै कर्मले निर्धारण गर्ने हो । आगे उनीहरू नै जानुन्।