कसरी फक्रिन्छ फूल कोपिलामै चुडेर फाले //
कसरी सुगन्ध फैलिएला कोपिला नै कुल्चिन थाले //
बिहे भएको लामो समयपछि जोयाको घरमा खुशीयाली छाएको छ। जोया र युुगेशलाई बिहे गरेको ६ वर्षपछि भगवानले उपहार दिएका छन्– छोरी। श्रीमान–श्रीमतीको सल्लाहमा छोरीको नाम नेहा राखियो। दुवै जना पहिलो सन्तान छोरी भएकोमा धेरै खुशी बने तर घरमा छोरी जन्मिएको ६ महिनामै दुखद् घटना घट्यो। जोयाको अल्पआयुमै निधन भयो।
युगेश शरीरिक रुपमा कमजोर छ। ऊ राम्रोसँग बोल्न सक्दैन। दाहिने खुट्टा छोटो भएकोले हिँड्न गाह्रो हुन्छ। श्रीमतीको मृत्युपछि युगेशले छोरी नेहालाई राम्रोसँग हेरचाह गर्न गर्यो। श्रीमतीको मृत्युपछि धेरैले युगेशलाई दोस्रो बिहे गर्नको लागि सुझाव दिए तर उनले आफ्नी छोरीले दुःख पाउने डरले दास्रो बिहे गरेनन्। आँखाको नानीजस्तै थिइन्। युगेशले ज्याला–मजदुरी गरेर छोरीको भविष्य सुनौलो सपना सजाएका थिए। १० वर्षीयाा नेहा कक्षा ५ पढ्ने भइन्। नेहाले पढ्नमा खुब ध्यान दिन्थिन्। अतिरिक्त क्रियाकलापमा पनि सक्रिय हुन्थिन्।
उमेरसँगै नेहाको शारीरिक परिवर्तन हुँदै गएको थियो। युगेशले नेहालाई कहिलैआमाको कुनै कमि महसुस हुन दिएनन्। छिमेकीको छोराको बिहेमा युगेशले नेहालाई सँगै लगे। बिहेको रमझममा ऊ खूब रोमाञ्चित हुन्छ। साँझ पर्न थालेपछि युगेशले छोरीलाई घर फर्किन भन्यो तर बिहेको रम्झममा लालित भएकी नेहा घर फर्किन मानिन।
बेहुली ल्याएपछि बल्ल जाने भनेर जिद्दी गर्छे बाबुसँग। छोरीको जिद्दीको अगाडि युगेशको केही लाग्दैन। ऊ राती सम्म बस्यो तर अबेरसम्म पनि बेहुली लिएर आएनन्। उनीहरु निराश हुँदै घर फर्किए। घरमा पुगेको केही समयमै बिहे घरमा जन्ति आए। बाजा बजेको, मान्छेको गाइँगुइँको आवाज घरबाटै सुनेकी नेहाको मनले चुलबुल भयो। बुवालाई नभनी घरबाट हतार–हतार बिहे घर पुगी। बेलुकासँगै काखमा सुतेको छोरी बिहान आँखा खुल्दा साथ छोरी नभएपछि युगेशको होशहवास उड्यो। घरवरिपरि खोज्दा नभेटेपछि छिमेकीको घरतिर हतार हतार गए। छिमेकीलाई छोरी हराएको सूचना दिए।
गाउँका सबै जना मिलेर नेहालाई खोज्न खोज्न थाले। दिउँसोसम्म पनि भेट्दैनन्। केही बेरमा एक जनाले गाउँ तलको मकैबारीमा कोही मृत भेटिएको खबर लिाएर आए। सबै गाउँलेसँगै युगेश पनि त्यो शव भएको ठाउँतिर गए। त्यति बेलासम्म ऊ निकै हतााश भएको थियो– कतै मकैबारीमा भेटिएको त्यो शव छोरीकै पो हो कि! युगेश मकैबारीमा पुग्दा नेहाको शव जलेर कालो भएको अवस्थामा भेटियो। नेहाले लगाएको रातो कुर्ताको केही भाग बाँकी थियो। युगेशले आफ्नो छोरीलाई चिनिहाल्यो।
सबैले उनी बलात्कृत भएको हुनसक्ने अनुमान गरे। आँखाको नानीजस्तै बनाएर हुर्काएको छोरी! सुनौलो सपना देखेर सजाएको छोरी! आज मुढोजस्तै अवस्थामा देखेर बेहोश भयो। छिमेकीले प्रहरीलाई खबर गरे। प्रहरी घटनास्थलमा पुगे। प्रहरीले पोस्टमार्टम गरेपछि थाहा भयो– नेहाको बलात्कारपछि हत्या भएको रहेछ। खोज, अनुसन्धान गर्दा छिमेकी काकाले बलात्कार गरेका रहेछन्। नेहाको बलात्कार गर्ने अपराधीलाई समातेर १५ वर्षको जेल सजाय भयो। एक लाख पैसा तिर्न पनि लगायो। पीडित पक्षले एक लाख रुपैयाँ पाउँछन्। बिचरा शारीरिक र मानसिक दुवै रुपले अशक्त युगेश छोरीको अपराधी र छोरीको लाशलाई टुलुटुलु मात्र हेर्दै आखाबाट आँशु बगाइरहे।
छोरी बितेको वर्षाैं भइसक्दा पनि युगेशका आँखा रसाउन छोडेनन्। छोरी गुमाउनुपर्दाको पीडाले उनको छाती पोलिरहन्छ। त्यो बढी दुःख अपराधीले जेलमा आनन्दले जीवन कटाएको देख्दा उसका उसलाई झन् दुःख लाग्छ।प्रस्तुत कथा काल्पनिक हो। नेपालमा यस्ता प्रकृतिका घटना भइरहेको मिडियामा खबर सुन्छौँ। कहिले त आफैँले देख्नुपर्छ। समाजमा हुने बलात्कारका घटना जिम्मेवार व्यक्तिबाटै पैसाको चलखेल गरेर लुकाउनसमेत खोजिन्छ।
यो कस्तो न्याय हो, सरकार? बालिकाको मूल्य कागजको पैसासँग तुलना गर्ने? बलात्कारको घटना दिनदिन भइरहन्छन्। यो क्रम बड्दो छ। तिम्रो कानको तेल भरिएन। अब त छल्किएर पोखिनुपर्ने बेला भएन र? न्याय देऊ हाम्रा चेलिबेटी बचाइदेऊ भन्दै कराइरहेका, अनि रसाइराखेका आँखा तिम्रा जनताका होइन्न र?
जनताका लागि बाँच्छु, जनताकै लागि मर्छु भन्ने तिम्रा बाचा कसम कहाँ गए सरकार? जब चुनाव आउँछ, तब त घोक्रो फुट्ने गरेर कराउछौँ? हामी भनेको जनताको लागि हो, हामी जनताको रहेक माग पूरा गर्छौ भनेर। खै त जनताको छोरी बचाउने माग पूरा भएको, जनताको आँसु पुस्छु भन्ने तिम्रा हातहरु कता गए?
छ महिनाको बालिका सुरक्षित नभएको मेरो देशमा महिला सुरक्षित कसरी हुन्छ? कि बलात्कारीलाई कडा सजाय दिँदा आफू अनि आफ्ना छोरा, भतिजा गुमाउने डर त हैन? कतै ती साना–साना नानीहरु रगतले लत्पतिएको घटनाहरु बारम्बार सुनिरहँदा किन तिम्रा मनमा करुणाको भाव जागेन मन्त्रीज्यू?