१० अर्ब रुपियाँको एनआरएन डेभलपमेन्ट फन्डको दर्ता अघि बढ्यो

बिएल संवाददाता

काठमाडाै‌ं

गैरआवासीय नेपाली संघ (एनआरएन) को पहलमा स्थापना हुन लागेको एन.आर.एन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएको छ।

काठमाडौँमा उपलब्ध संस्थापकहरूका तर्फबाट शुक्रवार हस्ताक्षर भएको हो।

सो अवसरमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्षद्वय डा. बरी के सी र सोनाम लामा, कोषाध्यक्ष महेशकुमार श्रेष्ठ, सल्लाहकार हरिबोल भण्डारीलगायत डा. खगेन्द्र जीसी, चिरञ्जीवी थापाले प्रबन्धपत्रमा हस्ताक्षर गरेका थिए।

यो कम्पनीले नेपालमा कम्तिमा १० अर्ब रुपैयाँ लगानी भित्र्याउने तयारीमा छ। १० अर्ब लगानीका लागि हालसम्म डेढ अर्बभन्दा बढी रकमको प्रतिबद्धता आइसकेको छ।

हस्ताक्षर समारोहमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले गैर आवासीय नेपालीले देखेको सपना छिट्टै पूरा हुन लागेको बताए।

कम्पनी दर्ताका लागि औपचारिक रुपमा मिलेको सहमतिहरुले गैरआवासीय नेपालीहरुलाई उत्साहित बनाएको उनको भनाइ थियो । नेपालमा लगानी गर्नका लागि यसले बाटो खुला गरेको उनले बताए।

कुनै पनि देशको समृद्धिका लागि सामूहिक लगानी आवश्यक भएकोले यस अभियानमा विश्वभरिका हरेक नेपालीले व्यक्तिगत लगानी गरेर नेपालको विकास र समृद्धिमा योगदान गर्न सक्ने उनको भनाई थियो।

उनले मन खोलेर नेपालमा लगानी गर्नका लाचग आग्रहसमेत गरे। नेपालमै पहिलो पटक यस्तो ठूलो राशीको लगानी हुन लागेको भन्दै उनले यो सुरुवातले गैरआवासीय नेपालीले अपनत्व महसुस गर्न पाउने बताए।

संघका पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछानेले यस अभियानमा विशेषतः साना लगानी कर्तालाई प्रोत्साहन गर्ने उल्लेख गरे।

नेपालमा लगानी गर्न चाहने हरकोही गैरआवासीय नेपालीले यस अभियानमा आफ्नो सानो सानो पूँजी पनि लगानी गर्न सक्ने बताए।

नेपालमा यस्त ठूलो लगानी पहिलोपटक हुन लागेको भन्दै कालान्तरमा यसमा त ठूलो उपलब्ध हासिल गर्नसक्ने उनको भनाइ थियो।

अध्यक्ष कुमार पन्तले नेपालका लाचग बहुप्रतिक्षित र ऐतिहासिक दिन भन्दै गैरआवासीय नेपालीलाई नेपालको समद्धिका लागि योगदान गर्ने बाटो खुलेको बताए।

स्वदेशको विकास र समद्धिमा योगदान गर्ने अभियानअन्तर्गतको एक महत्वपूर्ण योजनाले लामो समयको प्रयासपछि मूर्त रूप प्राप्त गर्ने पुगेको भन्दै उनले खुशी व्यक्त गरे।

१० अर्बको कोषमा सरकारले पाँच प्रतिशत अर्थात् ५० करोड रूपैयाँ लगानीको प्रतिबद्धता जनाइसकेको उनले बताए।

यस्तै संस्थापकहरूको तर्फबाट १० प्रतिशत अर्थात् १ अर्ब रूपैयाँ लगानी गर्ने त्यसमध्येको एक अर्ब ८० करोडको प्रतिबद्धता जुटिसकेको अध्यक्ष पन्तले बताए।

यस अभियानको ८५ प्रतिशत लगानीमा संसारभरिका गैरआवासीय नेपालीले १० डलर र त्यसभन्दा माथि लगानी गर्न पाउने छन्।

नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न उत्सुक संसारभरिका गैरआवासीय नेपालीको प्रतीक्षाको घडी अब समाप्त हुँदै गएको भन्दै उनले दर्ता प्रक्रिया सकिएपछि चाँडै नै आईपीओ जारी गर्ने जानकारी गराए।

उनले ठूला मात्रै नभई साना लगानीकर्ताले पनि आफ्नो सानो पूँजी लगानी गर्नसक्ने वातावरण बनेको भन्दै यस ऐतिहासिक सफलताले संसारभरिका नेपाली उत्साहित भएको बताए।

हस्ताक्षर समारोहमा क्षेत्रीय उपसंयोजक मनोजकुमार श्रेष्ठ, एनआरएनए स्पोर्टस् एकेडेमीका उपसंयोजक धर्मराज चगरी, एनआरएनए सांस्कृतिक तथा सम्पदा समितिका संयोजक, गोविन्दप्रसाद गौतम, एनसीसी चीनका अध्यक्ष प्रदीप न्यौपाने तथा महासचिव यमबहादुर क्षेत्री, ताञ्जानीयाका अध्यक्ष पुष्पराज भट्टराई, परामर्शदाता अनल मट्राई, कानूनी परामर्शदाताका प्रतिनिधि र संघका कार्यकारी निर्देशक राजेश राणालगायतको उपस्थिति थियो।

प्रकाशित मिति: : 2021-02-19 14:45:00

प्रतिकृया दिनुहोस्