‘खलासी’मा खुले खतिवडा (भिडियो)

बिएल संवाददाता

काठमाडाै‌ं
Breaknlinks
Breaknlinks

रङ्गकर्मी सुजन खतिवडा र्‍याप गीत ‘खलासी’मा देखिएका छन्। ‘मेरो नाम चाहिँ खलासी’ बोलको गीतमा र्‍यापर प्रोस्टेनको आवाज रहेको छ। अमेरिका रहेर नेपाली हिपप संगीतलाई हुर्काइरहेका प्रोस्टेनले डेढ वर्षअघि रचना गरेर गाएको उक्त गीतको बाँकी काम लकडाउनले गर्दा रोकिएको थियो।

भक्तपुर स्थायी घर भएका २३ वर्षीय प्रशान्त पराजुली अहिले अमेरिकाको डल्लासमा छन्। उनले २०१९ पहिलो गीत ‘गारो छ सोल्टी’ ल्याएका थिए जसमा अध्ययनका लागि विदेशिएका विद्यार्थीको संघर्षको कथा सुन्न पाइन्छ। उनले ‘भिसिट नेपाल २०२०’, ‘यात्रा’ लगायतका गीत गाएका छन्।

नेपाली संगीतलाई हलिउडमा चिनाउन चाहने उनी खलासी पात्र मार्फत् आवाजविहिनहरुको आवाजलाई उठाउन चाहन्छन्। गीतले खलासी पेसाप्रतिको मानिसको परम्परागत कमजोर धारणामा परिवर्तन आउने उनको विश्वास छ।

गीतको म्युजिक भिडियोमा खतिवडाको अभिनय रहेको छ भने निकेश खड्काको निर्देशन रहेको छ। गीतमा खलासी पेसा सम्मान गर्न लायक भए पनि नेपाली समाजमा यसलाई अपमान गरिने वास्तविकतालाई उजागर गरिएको छ।

खलासी पेशालाई प्रतिनिधित्व गर्दै यही कथावस्तुलाई शब्द तथा दृश्यमा उतारिएको खतिवडाले बताए। धादिङ गल्छी-३ छाँगेटारका सुजन केही वर्षदेखि रंगकर्मीको परिचय बनाइरहेका छन्।

बिएसडब्लुमा स्नातक तहमा अध्ययन गरिरहेका उनी अनामनगरमा रहेको मण्डला थिएटरमा अभिनय सिकिरहेका छन्। आफ्नो पहिलो भिडियो ‘खलासी’मा काम गर्दा यो पेशालाई नजिकबाट नियालेको र अभिनयमा अभिव्यक्त गर्ने प्रयास गरेको उनले अनुभव सुनाए।

प्रकाशित मिति: : 2021-02-18 07:02:00

प्रतिकृया दिनुहोस्