शेयरबजारमा फेरि नयाँ रेकर्ड, नेप्से २६ सय बिन्दुमाथि

शेयरबजारले मंगलबार नयाँ रेकर्ड कायम गरेको छ। नेप्से सूचक मंगलबार १५.५० अंकले बढेर २६०१.५१ विन्दुमा पुगेको छ।

नेपालको शेयरबजारको इतिहासमा यो अहिलेसम्मकै उच्च विन्दु हो। त्यस्तै मंगलबार सेन्सेटिभ सूचक पनि ४.०९ अंकले बढेको छ। बैंकिङ समूहको सूचकमा वृद्धि हुँदा नेप्से नयाँ रेकर्ड कायम भएको हो।

कारोबार रकम मंगलबार फेरि १० अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। मंगलबार २०८ वटा कम्पनीको १ करोड ७७ लाख ३२ हजार ७६५ कित्ता शेयर १० अर्ब ३ करोड ५४ लाख ५४ हजार ९५५ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

कारोबारमा आएका ११५ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ५३ वटा कम्पनीको शेयरमूल्य बढेको छ। सात कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएन।

बैंकिङ्ग उपसमूहको सूचक सबैभन्दा धेरै २.०८ प्रतिशतले बढेको छ भने विकास बैंक र अन्य उपसमूहको सूचक पनि क्रमशः ०.२४ र ०.२७ प्रतिशतले बढेको छ। उत्पादनमूलक उपसमूहको सूचक भने सबैभन्दा धेरै १.८७ प्रतिशतले घटेको छ।

मौद्रिक नीतिको समीक्षामा शेयर बजारलाई असर गर्ने कुनै नीति परिवर्तन नभएपछि सोमबार एकैदिन बजार ९२ अंकले बढेको थियो। उच्च अंकले बढेको बजारमा मंगलबार भने प्रोफिट बुक गर्ने लगानीकर्ता बढेपछि केहि उपसमूहमा सामान्य करेक्सन देखिएको छ।

कारोबारमा आएका कम्पनीहरुमध्ये ४ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन चन्द्रागिरी हिल्स, नेपाल इन्फ्रास्टक्चर बैंक, मिर्मिरे माइक्रोफाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सनराइज फस्ट म्युचुअल फण्ड र हिमालयन उर्जा विकास कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यसैगरी सिद्धार्थ बैंक, नेपाल बैंक, ग्लोबल आइएमई बैंक र एनएमबि बेंकको शेयरमूल्य पनि ४ प्रतिशतभन्दा धेरैले बढेको छ।

साधना लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ६.१५ प्रतिशतले घटेको छ भने पाँचथर पावर कम्पनीको ५.६६ प्रतिशत, बरुण हाइड्रोपावरको ५.५६ प्रतिशत, स्वाभिमान लघुवित्तको ५.०६ प्रतिशत र महुली सामुदायिक लघुवित्तको ४.७४ प्रतिशतले घटेको छ।

नबिल बैंकको सबैभन्दा धेरै ५४ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने ग्लोबल आईएमई बैंकको ४३ करोड ५० लाख, नेपाल बैंकको ३९ करोड १६ लाख र नेको इन्स्योरेन्सको ३७ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

प्रकाशित मिति: : 2021-02-16 18:16:00

प्रतिकृया दिनुहोस्