बिमारले थलिएकी ७० वर्षीया इतिहासकारको नागरिक आन्दोलन

शिलापत्र

काठमाडाै‌ं

  बसन्त बस्नेत

 

स्तन क्यान्सरबाट मुक्त भएर थकाइ मारिरहेकी ७० वर्षीया इतिहासकार मुक्ता श्रेष्ठलाई ५ पुसको असंवैधानिक ओली कदमले घर बस्न दिएन ।

सोमबार कीर्तिपुरको पाँगा दोबाटो चोकमा पति श्याम श्रेष्ठसँगै मुक्ता नागरिक आन्दोलनमा ओर्लिइन् । लेखक, नागरिक अगुवा रहेका पतिलाई मिडियाले छेउको कुनामा बोलाएर क्यामरा, माइक्रोफोन तेर्स्याउन थाले । उनी भीडभाडमा समेत एक्लै परिन् । 

अब जुलुस यहाँबाट नारा लगाउँदै त्रिभुवन विश्वविद्यालय परिसर जानेवाला थियो ।

दम फुलेर बोल्ने अवस्था थिएन मुक्ताको । पाँगाको नागरिक सभामा बोल्न आयोजकले गरेको आग्रह उनले मास्क लगाएरै टारिरहिन् । ०३६ सालदेखि निरन्तर सडक संघर्षहरूमा सहभागी मुक्ताको उपस्थिति नै यहाँनेर काफी भइदियो । बालकृष्ण माबुहाङदेखि विनोदविक्रम केसीसम्म, नवीन तिवारीदेखि अंशु खनालसम्म त्यहाँ आफ्ना प्रस्तुतिहरू राख्न थाले । मुक्ता तिनलाई सुन्न थालिन् ।

‘क्यान्सर निको भए पनि म अझै बिरामी नै छु, त्यसमाथि बाथ थपियो, जीउ दुखिरहन्छ,’ मुक्ता यो संवाददातासँग आफ्नो हाल सुनाउँदै थिइन् ।

नागरिक अगुवा विमल अर्यालले मुक्तालाई आरामका लागि घर पठाउन चाहन्थे, अनि पति श्यामलाई आफूहरूसँगै लैजान । श्याम पत्नीलाई छाडेर जाने कि नजाने दोमनमा परे । मुक्ताले श्यामलाई जाने इशारा गरिन् । अनि पाँगा दोबाटोको संघर्षमा सामेल भएर घर फर्किन् । 

प्रकाशित मिति: : 2021-02-15 17:00:00

प्रतिकृया दिनुहोस्