स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रिने नाका हो, रूपन्देहीको बेलहिया। यो नाका करिब एक वर्षदेखि ठप्प छ। कोरोना महामारीमा बन्द गरिएका नेपाल–भारत सीमा नाका खोल्ने निर्णय सरकारले गरे पनि बेलहियाबाट भित्रिन चाहने पर्यटकले अनुमति पाएका छैनन्।
लुम्बिनी प्रदेशका नेपालगन्ज, कृष्णनगर र महेशपुर नाकाको अवस्था पनि उस्तै छ। आउजाउमा रोक लगाइएकै छ। जिल्ला प्रशासनको आदेशमा कडाइ गरिएको नाकामा खटिएका सुरक्षाकर्मी बताउँछन्। भारतीयहरू व्यक्तिगत कामले सीमावर्ती बजारमा आउने गरे पनि पर्यटकका रूपमा भित्रिन सकेका छैनन्।
‘भारतीय पर्यटक गाडीमा परिवारसहित नाकासम्म आइरहेका हुन्छन्’, रूपन्देहीको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारी भन्छन्, ‘तर, अनुमति नहुँदा हामी उनीहरूलाई सीमाबाटै फर्काउन बाध्य छौँ।’
भारतबाट आउने नेपालीलाई प्रहरीले नाम, ठेगानासहितको अभिलेख राखेर प्रवेशको अनुमति दिने गर्छ। भारतीयको हकमा सरकारी परिचयपत्र राखेर भन्सारसँग सम्बन्धित काम गर्ने भन्सार एजेन्ट, बिरामी, विद्यार्थीलगायत अत्यावश्यकलाई मात्र आउन दिने गरिएको छ।
‘सरकारले लकडाउनपछि एकातिर होटल व्यवसाय खोल्नु भन्यो, अर्कोतिर सीमा बन्द यथावत् नै राखेको छ’, लुम्बिनी होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष गोविन्द ज्ञवाली भन्छन्, ‘सीमा बन्द गरेर राखेपछि पर्यटक कसरी आउँछन् त ? हामीलाई मुर्ख मात्र बनाइएको छ।’
होटल व्यवसाय खुला गरिए पनि नाका नखुल्दा पर्यटन व्यवसाय लकडाउनसरहकै अवस्थामा रहेको उनको भनाइ छ। ‘सीमा क्षेत्रको व्यवसाय भारतीय पर्यटकबाट आश्रित छ’, उनी भन्छन्, ‘भारतीय पर्यटकलाई नै आउन नदिने हो भने पर्यटन क्षेत्र चलायमान हुन सक्दैन। हामीले पर्यटक स्वागत गर्न जरुरी छ।’
सिद्धार्थ बिजनेस गु्रपका क्षेत्रीय प्रबन्धक केशव न्यौपानेका अनुसार यो सिजनमा बास बस्ने पर्यटकमध्ये कम्तीमा ८–१० प्रतिशत भारतीय हुन्थे। बिहान आएर साँझ फर्कनेको संख्या त अझै धेरै हुन्थ्यो। भन्छन्, ‘बाँके, बर्दियाका पर्यटकीय क्षेत्र घुम्न र क्यासिनोमा भारतीय पर्यटक आउँथे। अहिले पर्यटक शून्य छ।’