जुम्ली युवाको रगतमा घोलिँदै छ विष

ऊ सबैमा अब्बल थियो। त्यसैले त सबैको प्यारो थियो। पढाइदेखि खेलकुद सबैको बादसाह थियो । उसलाई जिल्लामा नचिन्ने कोही थिएनन्। वाह वाहाइको ताज उस्को शीरमा थियो तर पनि उसलाई कतै घमण्ड थिएन आफू सबैभन्दा अब्बल भएकोमा। 

यही बानीले त उसको गुणगान गाउन बाँकी कोही थिएनन्। भन्नु पर्दा जिल्लाले आशा गरेको विद्यार्थी नक्षेत्र उसलाई उपनाम दिँदा पनि फरक पर्दैन। मेरो सबैभन्दा मिल्ने साथीको 'बकेट लिस्ट' निकाल्ने हो भने ऊ एक नम्बरमा पर्दथ्यो।

ऊ अर्थात शुभाकर । शुभाकर मल्ल उसको पूरा नाम। घर सिंजा, जुम्ला। अध्ययन जुम्ला सदरमुकाममा। कोठा भाडामा बस्थ्यो। जिल्ला स्तरीय परीक्षामा जिल्ला टप भएसँगै उसको नाम विद्यार्थीमध्ये सबैभन्दा शिखरमा थियो। नहोस् पनि किन? बहुप्रतिभाको धनी ऊ, अग्रज माझ झुक्न पछि नपर्ने। साना अनुजहरुलाई स्नेहले  भरिदिने भएपछि सर्वप्रिय नहुने कुरै थिएन। जिल्ला स्तरीय परीक्षाफलपछि जिल्लाले र विद्यालयले ठूलै सम्मान गरेका थिए शुभाकरलाई।

सायद शुभाकरकै संगतले होला– मेरो पढाई पनि राम्रो हुँदै गएको थियो। त्यसैले त साथीको संगतले मानिस सफलता चुम्छ र त साथीत्वको उदाहरणमा  मदन कृष्ण र हरिवंशको "मह" सर्वप्रिय छ।

तर कक्षा नौ पनि सँगै सुरुवात गरेका हामी अलिक पछिबाट टाढिदै गयौं। यस कारण होइन कि हामीबीच कुनै मनमुटाव भएर वा कुरा नमिलेकोले टाढा भयौँ। बस हाम्रो संगतको बीच लागुऔषधको आगमन भएको थियो। हो! लागुऔषध, जो जीवन होइन र हुन सक्दैन पनि।

जाडो बिदामा ऊ छुट्टी मनाउन सुर्खेत झरेको थियो जुम्लाबाट। म जुम्लामै थिए। बिदाका दौरान उसका नयाँ साथी बनेछन् । फरक ठाउँमा नयाँ साथी बन्नु कुनै नराम्रो कुरा होइन तर उसको  संगत गलत समूहसँग हुन पुगेछ। सुर्खेत गएकै बेला उसले लागुऔषध सेवन सुरु गरेको रहेछ। आजसम्म नि थाहा छैन मलाई उसले रहरले गरेको थियो या लहलहैमा। तर त्यो नै उस्को जीवन बदल्न पर्याप्त नकारात्मक कारण थियो।

ऊ जुम्ला फर्किएपछि नै मसँगको संगत पातलिएको थियो। यो मैले मात्रै होइन, हामीलाई सधै सँगै हिँडेको देख्ने गुरुदेखि अग्रजहरुले समेत देखिरहेका थिए। त्यसैले मलाई हाम्रो मित्रतामा के भयो भनेर प्रश्न गर्ने धेरै थिए । सायद् उसलाई पनि गरेकै थिए होलान।

विद्यालय सुरु भएको करिब तीन महिनापछि ऊ नियमित आउन छोडेको थियो। एक हप्तासम्म विद्यालय नआए पछि म उसको कोठामा पुगेँ तर जब त्यहाँ पुग अवस्था भयावह थियो।कोठाभरि चुरोटका ठूटाहरु गाँजा र चरेसको धुवाँले मौलाएको। औषधिका पत्ता जस्ता कैयौं थान पाताहरु र सिरिञ्जहरु मात्रै। ऊ र उसका नयाँ सङ्गतीहरु राता आखाका साथ ओछ्यानमा लडिरहेका थिए।

थाहा छैन कति दिनदेखि बिनाखाना मात्र लागुऔषधको सहाराले बाँचिरहेका थिए उनीहरु। केही महिनामै मानिस परिवर्तन हुने रहेछ भनेर पहिलो पल्ट आफ्नै आँखाले देखेँ।

जुम्लामा त्यति बेला लागुऔषध निकै चरम सीमामा पुगेको थियो। लागुऔषधले जुम्लाका तमाम युवापङ्तिहरु नस्ट भैरहेका थिए। जिल्लाको भविष्य धुवाँ सिरिञ्ज र ट्याबलेट्मा उडिरहेको थियो तर त्यही घानमा जिल्लाको नक्षेत्र त्यसरी हराउँछ भन्ने कसैले सोचेका पनि थिएनन् होला। लागुऔषध मात्रै छिरेको थिएन जुम्लामा र अन्धकार भविष्य पनि आउँदै थियो।

शुभाकरको त्यो अवस्था देखेर म आफुलाई थाम्न सकिनँ। उसको बुवालाई खबर पुर्‍याइ हालेँ। 

सिँजाबाट आएर उसलाई अस्पताल राखेउ हामीले करिब २ हप्ता। त्यस पछि  घर आइसके पछि पनि उसलाई सबैले सम्झाएकै हो र २-४ महिना ऊ ठिकै भएझैं गरी विद्यालय आउने गर्थ्यो। तर पनि लागेको बानी थियो उसको।

ऊ विद्यालय आउँदा समेत कहिले नशामै झुमेर आएको हुन्थ्यो। उसको पढाइ खस्किँदै गयो। खेलकुद र अरु कुरा छोडेको एक वर्ष हुन लागिसकेको थियो, लगभग। कक्षा एसएलसी परीक्षा आउदै गर्दासम्म उसको लागुऔषधको लत फेरि सुरु भइसकेको थियो।

ट्युसन पढ्दा समेत ऊ नशा मै झुमेर आउने गर्थ्यो। विद्यालयमा सधै पहिलो बेञ्चमा देखिने शुभाकर पछि नदीको किनारमा लागुऔषधको नशामा झुमिरहेको भेटिन्थ्यो।

कक्षा १० सकियो। उच्च शिक्षाका निम्ति हामी राजधानीतिर हामी लाग्यौँ। म र शुभाकरको संगत एकदम पातलिसकेको थियो। तर पनि म उसको बारे सोधखोज गरिरहन्थे। 

काठमाडौं छिरेबाट उसको लागुऔषधको नशा झन् आकासिएको थियो। सङ्गत गर्ने फेरिएका थिए। उसका जो २४ घन्टा नै नशामै हुन्थे। उसलाई लागुऔषध सेवन गरेकै अवस्थामा प्रहरीले भेटेर गोर्खेलौरी धेरै पटक लगाएर चीसो कोठाको बाँस नगराएको नि होइन तर ऊ कहिले त्यो कहालीलाग्दो कालो बाटोबाट निस्किन सकेन। 

कक्षा ११ सुरु भएपछि एक दिन बिहानै शरीरले भुइँ छोड्ने खबर आयो। शुभाकरको लागुऔषधको उच्च सेवनका कारण आफ्नै कोठामा मृत अवस्थामा भेटियो भनेर। पत्ताउनै नसकिने पनि थिएन। उसको त्यो लत थियो, तर यसरी कुनै दिन जिल्लाले नै आशा गरेको व्यक्ति लागुऔषधकै कारण यसरी अल्पायु मै संसार छोड्छ भनेर विश्वास गर्न सक्ने अवस्थामा म भने थिइन। लागुऔषधकै कारण शुभाकर हामी माझ रहेन।

माथि उल्लेखित कथा र पात्र काल्पनिक भए तापनि, आजको दिनसम्म आइपुग्दा जुम्ला जिल्लाको  लागुऔषधमा फस्दै गरेको हरेक युवाको कहानी शुभाकरको झैं नहोला भन्न सकिन्न। 

कसरी जिल्ला भित्री रहेको छ, लागूऔषध? कसको सक्रियतामा घोलिँदै छ जुम्ली युवाहरुको रगतमा विष? जुम्ला जिल्लाका तमाम युवापुस्ता लागुऔषधको शिकार भइरहेका छन्। 

केही थान व्यक्तिको धन आर्जन गर्ने मनसायले पूरै जिल्लाको भविष्य अन्धकार हुँदै जाँदा ढिलो चाडो यस्ले ठूलो क्षति  निश्चय नै गर्ने छ।  यदि आज सम्पूर्ण जुम्लाबासी सचेत नागरिकहरुले बेलैमा ध्यान नजाने हो भने भोलि शुभाकरको जस्तै अवस्थामा जो सुकै भेटिन सक्ने छ। 

त्यसैले सरोकारवाला निकायदेखि प्रत्येक नागरिक सचेत हुन जरुरी छ। आज लागुऔषधको व्यापारलाई बेलैमा नियन्त्रणमा नल्याउने हो भने लागुऔषध सेवनकर्ताले ढाकिएको जुम्ला टाढा छैन। 'जाग युवा जाग।'

प्रकाशित मिति: : 2021-02-13 19:38:00

प्रतिकृया दिनुहोस्

    मर्म स्पर्षी कथा र यथार्थ परक सामाजिक बिकृतिलाइ निराकरणकालागी दिएको सुझाब सम्पुर्ण जुम्ली युवाहरुले आत्मसाथ गर्न जरुरी छ ।

    • 3 बर्ष अगाडि
    • Kamal Rokaya