नेपाली कविता र बजार

सबैभन्दा बढी लेखिने र पढिने विधा कविता भए पनि पछिल्लाे समय कवि चल्ने र नचल्ने पाठक र बजारलाई जिम्मा दिएकाे पाइएकाे छ। कविताकाे माग बजारमा कस्ताे छ? पाठकले कस्ता कविताहरू बढी रुचाउँछन्? त्यहि अनुरुप कविहरूले लेखिदिने गरेका छन्। यस्ताे प्रवृत्तिले नेपाली कविताकाे भविष्य कस्ताे रहला भन्ने चिन्ता बढेको छ। लेखिए जति नेपाली कविताले बजार नपाउनु कविहरू हल्लाकाे पछाडि लाग्नु हाे।

कविता कविकाे आत्मा हाे। कविता लेख्न साेचेजस्ताे सजिलाे छैन। कविता लेख्नु अगाडि बजारकाे माग के–कस्ताे छ? भनेर बुझ्नुभन्दा पनि कविता कस्ताे हुनुपर्छ भन्ने लेखकले बुझ्न जरुरी छ। कविता कस्मेटिक सामान हैन। कविता त्याे हाे, जसले समाज परिवर्तन गर्न अहम भूमिका खेल्दछ। कविताले जनचेतना फैलाउने सामर्थ्य  राख्नुपर्दछ।

कविता समाजकाे ऐना हाे, जसले अनुहार छर्लङ्ग देखाउँछ। तर पछिल्लाे समय कविहरू हल्लाकाे पछिपछि लागेर र स्याबासी पाउनकाे लागि कविता लेख्ने गरेका छन्। कमै कविहरूले कवितामा चिन्तन गरेकाे पाइन्छ। कविता समाचार लेखेजस्ताे, कथा लेखेजस्ताे हैन। यस्ताे भन्दैगर्दा कथा र उपन्यास लेख्न सहज छ भन्न खोजिएकाे चाहिँ हाेइन। सबै विधा उत्तिकै जटिल छन्। यस्तै जटिल विधाकाे पनि अझ जटिल विधा हाे, कविता। कविता त्याे हाे, जसले थाेरै शब्दमा भावकाे गहिराईसम्म पुर्‍याउँछ। शब्दहरूले जालाे बुन्दैमा कविता बन्दैन। यस्तै जटिल विधामा सशक्त कविता लेखिरहने कवि हुन्- लता कार्की

कार्की नेपाली साहित्यमा आफ्नाे नाम नमेटिने गरि लेखाउन सफल कवि हुन्। राजनीतिमा पनि उत्तिकै दखल भएकी र समाजलाई अक्षरहरू मार्फत हुबहु उतार्न सफल कार्की जीवनलाई नजिकबाट नियाल्न सक्ने मानवीय संवेदनालाई व्यवहारिक रूपमा लेख्न खप्पिस कवि हुन्। उनी मध्यमवर्गीय मानिसका पीडाहरू बोल्ने कवि पनि हुन्। उनका कवितामा अक्सर मानिसले पूरा गर्न बाँकी रहेका सपनाहरू, आर्थिक अभाव र जीवनमा घटेका यथार्थपरक घटनालाई चित्रण गरिएको हुन्छ। 

विभिन्न पत्रपत्रिकामा थुप्रै कविता प्रकाशित छन्। गुमनाम रहेर कविता लेखिरहने अहिलेकाे नयाँ पुस्ताका कविमा उनकाे नाम अग्रपंक्तिमा राख्दा  न्याय हुन्छ जस्ताे लाग्छ। संघर्षमय जीवनबाट फुत्त निस्केर कविता सङ्ग्रह बजारमा ल्याएकी कार्कीको पहिलाे कृति ‘उल्टाे पाइला’ कविता सङ्ग्रहले नेपाली साहित्यमा अमिट छाप छाेड्रान सफल भएकाे छ।

कविता र कलाकारितालाई एकैसाथ अंगालेकी कार्की पछिल्लाे पुस्ताकाे मन मुटुमा बस्न सफल कवि हुन्। उनी कविता भनेपछि हुरुक्कै हुने गर्छिन्। ‘ढुङ्गाकाे कापबाट निस्किएकाे ज्वालाजस्ता र आरनकाे भुङ्ग्राेमा फलाम पगालेर बनाइएका हतियार जस्ता धारिला’ शब्दले उनको कवितालाई थप ओजपूर्ण बनाएकाे छ। 

कवितालाई सन्तान जत्तिकै माया गर्ने कवि कार्की  कवि गाेष्ठीमा कमै भाग लिने गर्छिन्। उनी भन्छिन्–‘कविता बजारमा हल्ला चले जस्ताे त्यति सस्ताे छैन।’ उनकाे कवितामा फरक दृष्टिकाेण छ। उनी भन्छिन्, ‘कविता लेख्छु भनेर लेखिन्न। कवितामा शैली, सामाजिक भाव, कविताले दिने चेतना सबै मिल्नु पर्छ।’

कविता कविता जस्ताे हुनुपर्छ। अनि मात्र कविता बन्छ। उनकाे भनाई अनुसार कवितालाई नेपाली साहित्यमा त्यति महत्त्व दिएकाे पाइन्न। उनै कवि कार्कीकाे कविता सङ्ग्रह ‘उल्टाे पाइला’ लाई यहाँ नियाल्ने प्रयास गरेकाे छु। ‘उल्टाे पाइला’ कविता हात परेपछि पढेँ। कविता पढ्दै जाँदा मनमा उर्जा थपिदियाे। प्रत्येक कविताले समाजिक चित्रण गरेकाे पाएँ। कुनै पनि कवितामा राेनाधाेना पाइनँ।

कविता साेचेभन्दा पनि उच्चकाेटीकाे छ। उनी भन्छिन्,‘कवितामा ज्यादै राेनाधाेना भाव लेख्नु हुँदैन, जुन कविताले समाजलाई अगाडी बढाउन सक्दैन्।’

गरिब दिनदु:खीकाे जीवन कस्ताे छ ? त्यस्तै भाव उतार्न सक्नुपर्छ भन्ने कवि हुन्, कार्की।

उनी भन्छिन्, ‘कविता राष्ट्रिय पत्रिकामा छपाएर र राजधानीमा वाचन गर्दै हिँडेर चर्चित हुँदैन। फेसबुककाे लाइक कमेन्टमा त्यति बिश्वास नराख्ने कवि पनि हुन्, कार्की।

नेपाली साहित्यअन्तर्गत कविता विधामा सबैभन्दा बढी धार, विचार र वादहरू भित्रिएका छन्। यीबाट उनी टाढा बस्न रुचाउँछिन्। उनी भन्छिन् ,‘ कविता आफैँमा उत्कृष्ट विधा हाे। जीवनमा अनुभूत गरिएका अन्तरआत्माकाे प्रकाश नै साहित्य हाे।’ उनले पटकपटक भनेकी छिन् भारी शब्दहरूकाे थुप्राे मात्र कविता हाेइन। उनले आफ्नाे भनाईमा लेखेकी छिन्,‘हाम्राे वर्ग, चेतना, हामीले उठाएकाे  सामाजिक मुद्धाहरू माथि कविताले न्याय गर्नुपर्छ।’

कवि हुने हाेडमा फितलाे मुद्दा उठाइनु र आफ्नाे वर्ग पहिचान नगरि लेख्दा कविताकाे आवाज उनीहरूकाे पहुँचसम्म पुग्दैन। उनी भन्छिन्,‘हामीले लेखेका कविता हलाे जाेत्दै गरेका किसानहरूले र भान्छामा खाना पकाइरहेकी आमाले बुझ्नुपर्छ। पसिना चुहाइरहेका मजदुरहरूले बुझ्नुपर्छ। हामीले लेखेका कविता ती तमाम सामान्य जीवन बाँचिरहेकाहरूले बुझ्नुपर्छ।’ जसका लागि कविता लेखिएकाे हाे तिनैले बुझेनन् भने कवि हुनु र कविता लेख्नुकाे कुनै औचित्य हुँदैन। हाम्राे वर्ग तिनै हुन्, जसकाे आवाज कलमले बुलन्द गर्नुपर्छ। 

करिब दुई दशकदेखि कविता लेख्दै आएकी कार्कीको कविता कस्ताे छ त? ‘उल्टाे पाइला’ कविता संग्रहमा सहर र सपना, प्रेम भएकाे छ, आमा र निर्वासित सपनाहरू, बन्द पर्खालभित्र, देश दु:खेकाे छ, पैसाका रङहरू, मुर्दावाद-जिन्दवाद, जङ्गेपिलर, एउटा हिउँद काँपिरहेछ, बिहानीकाे गीत, मेराे पहिलाे पाठशाला, माटाेकाे रङ, जलजला, सपनाकाे पर्खाइ, हरियाे पासपाेर्ट, माइलाकाे सपना, ए जून !, घरकाे आँधी, मेराे बुद्ध कहिले हाँस्छ हाेला ?, जीवन तेराे अस्तित्व कहाँ छ ? भट्टी, बेहिसाब प्रेम लगायत ४० थान कविता सङ्ग्रहित छन्। उनकाे 'उल्टाे पाइला' कविता सङ्ग्रहभित्रकाे पहिलाे कविताकाे कवितांश पढाैँ।

सपना खाेज्दै उड्ने पुतलीकाे दैनिकीलाई विम्बकाे माध्यमबाट उनी सहर र सपना कवितामा यस्ताे लेख्छिन् -

सहर निदाएपछि सन्नाटाभित्र
जवान भएर जान्छ सहरकै बैँस
रङ्गीचङ्गी बत्तीकाे उज्यालाेमा
आफ्नाे याैवन पाेख्दै रमाउँछ
जसरी रमाउँछ पुतली
जलिरहेकाे क्याण्डलमा।

(सहर र सपना)

जब साँझमा सहर निदाउँछ तब सहर उज्यालाे राैनकमा नाच्छ। हर मान्छेकाे सपनाहरू यस्तै हुन्छन्। पुतली जस्ताे पुतली क्याण्डलकाे वरिपरि जति रमाउँछ त्यतिनै खतरा हुन्छ, उसकाे जीवन। सपना देख्दै सहरमा भाैतारिरहेका युवाहरूकाे कथा हाे सहर र सपना। कवि कार्कीकाे पहिलाे कविता नै यति सुन्दर छ। कतिपय कविताहरूले पाठककाे हृदयमा अमिट छाप राख्न सफल हुन्छन्। याैटा युवक जाे बाँच्नकाे लागि संघर्ष गरिरहेकाे छ। एउटा युवक जाे गरिब छ। दिन रात पसिना बगाउँछ र पनि उसले टन्न खान नपाएर मृत्युसँग जुधिरहेकाे हुन्छ। पटकपटक त्यही युवकसँग प्रेमकाे नाटक गर्दै खेल्ने युवतीहरूकाे चित्रण शब्दहरूले छर्लङ्ग बनाइदिएका छन्।

एउटा युवक, जाेसँग एकजाेर चप्पल छैन। शरीर ढाक्नकाे लागि एकसराे कपडा छैन। जाे एकछाक खानकाे लागि पसिना बगाउँछ, त्यहि युवकलाई सपना देखाउने याे राज्यका नेताहरू देखेर वाक्क वा दिग्दार बनेकी छिन् कवि। एउटा श्रमिकलाई मार्क्सकाे सिद्धान्त पढाउन खाेज्छ पूँजीपति वर्ग, त्यसकाे बीचमा एउटा पात्र नारी देखा पर्छिन्, जसले औधी प्रेम गर्छिन्। प्रेम कवितालाई देश र समाजकाे चित्रण गर्दै यसरी सरल र गम्भीर भएर लेखेकी छन् -

जब नियाल्छु एकपटक
उसका अनुहारमा
निर्दाेष रेखाहरू काेरिएका देख्छु
उसका निश्चिल आँखाहरूमा
सुनामी उर्लेकाे देख्छु
उसका काेमल ओठहरूमा
भाेक-प्यास देख्छु
तब, म आफैँभित्र खुम्चन्छु

मलाई लाग्छ त्याे सुन्दर युवक
मार्क्सकै सिद्धान्तमा रुमल्लिएर
एउटा वर्गयुद्ध लडिरहेकाे छ
पुँजीपति वर्गलाई श्रम सिकाइरहेछ
उसका श्रमिक हातका औँलाहरू
सल्बलाएर छुन खाेज्छन्
चुनाैतिका पहाडहरू
त्यसैले मलाई किन हाे
त्यस सुन्दर युवककाे
चुनाैतीपूर्ण, संघर्षपूर्ण जीवनसँग
प्रेम भएकाे छ।

(प्रेम भएकाे छ)

सरकार गाउँगाउँमा भ्रमण गर्न आउँछ र धनी वर्गहरूलाई मार्क्सकाे सद्धान्त पढाएर सहर फर्कन्छ र गरिबहरूलाई अपहेलना गर्छ। यस्ताे सरकार गरिब किसानहरूकाे न्यायकाे पक्षमा कहिल्यै हुनै सक्दैन भन्ने तर्क यस कवितामार्फत कविले उठाएकी छिन्। कवि भन्छिन्,‘छाेरीहरू याे देशमा सुरक्षित छैनन्। म पनि सुरक्षित छैन। याे देशमा सपना देख्नु बेकार छ। हामी देशकाे सन्तान त हाैँ। तर याे देशमा हामी स्वतन्त्र छैनाैँ। सपनाहरू निर्वासित छन्। कवितामार्फत आमालाई भन्छिन्, आमा म राताे घाम हुन चाहन्छु। यस्ता अत्याचारहरू निमिट्यान्न पार्न मैले लड्नुपर्छ भन्ने अभिव्यक्ति कवितामा देख्न पाइन्छ। उनी पासाङ ल्ह्यामु शेर्पा, गाैतम बुद्ध र वीर सहिदकाे स्वाभिमानकाे कुरा गर्छिन् कवितामा यस्ताे भनेकी छन् -

सगरमाथा फर्फराइरहेकाे
पासाङ दिदीकाे बैँस पनि
हिउँसँगै घट्दै छ कि ?
लालिगुराँसका रङ्गहरू
मधुरा बेरङ्गी हुँदै छन् कि ?

तिम्राे शान्त बुद्ध
द्वन्द्व-संगीनले घाेचिएर
आहत देख्छु।

(आमा र निर्वासित सपनाहरू)

देशलाई फाेहाेरकाे डङ्गुर बनाएकाे प्रति कटाक्ष्य गरेकी छन् कवि कार्कीले। अर्काे कविता छ 'बन्द पर्खालभित्र' याे कविता बम्बईमा बेचिएकी छाेरीकाे कथा हाे। जसकाे कुनै अस्तित्व नै छैन। बेचिएका छाेरीहरू दर्दनाक पिडाहरूलाई कवितामा लेखेकी छिन्। छाेरीहरूकाे भाेगाई कति दर्दनाक छ, भाेग्नेहरूलाई मात्रै थाहा हुन्छ कि महसुस गर्नेलाई मात्र। वेश्यालयमा बलात्कृत भएर बाँच्नु पर्दाकाे पीडा हाे याे कविता -

रक्सीकाे नशाले मात्तिएर
रातभरि गन्हाउने
लाेग्ने मान्छेहरूका ताताे श्वास
बेलीचमेलीकाे सस्ताे वास्ना
चपाएर पिच्च थुकेकाे
पानका राता टाटाहरू
कैयौँ चमेली र मखमलीकाे काैमार्य लुटेर
आलाे फाल्साका रगतले
सजाइएकाे काेठा उसलाई गन्हाउँछ।

(बन्द पर्खालभित्र)

प्रस्तुत कवितामा कविले बेचिएका आमा छाेरीहरूकाे दैनिकी भाेगाईलाई आफूले नभाेगी र सुनेकै भरमा महसुस गर्दै लेखेकी छिन्। जुन कवितालाई अंग्रेजीमा अनुवाद गरेर विश्वसामु पुर्‍याउने हाे भने नेपाली कविता र कविहरू पढिनेछन् भन्दा फरक पर्दैन। देश बनाउन तम्सिएका नेताहरूकाे दिनचर्या कसरी बितिरहेका छन् त ? उनी कविता यस्ताे लेख्छिन् -

व्यपारीहरू फस्टाउँछन् भट्टिमै
चोरदेखि गुन्डासम्म मालामाल हुन्छन्
भट्टीमै देश बनाउने पनि भट्टीमै भेटिन्छन्
र भट्टीबाटै देश चलाउँछन्।

ऊ भट्टीमै गर्छ देश विकास
भट्टीमै बनाउँछ लडाकु योजना
ऊ भट्टीलाई देश सम्झेर पिईरहेछ
वा देशलाई भट्टी सम्झेर।

(भट्टी)

यस कवितामा नेताहरूकाे दिनचर्यालाई व्यङ्ग्यात्मक शैलीमा प्रहार गरेकी छिन्। हाम्रा नेताहरूकाे जीवनशैलीलाई जस्ताकाे त्यस्तै उतार्न सफल छिन् कवि लता कार्की।

यस्तै उनकाे प्रेम कविता पनि उत्तिकै दमदार छन्। विम्ब र प्रतिकलाई जन्मदिने आमा जत्तिकै माया गर्ने कवि कार्की प्रेमकाे गहिराइमा पुगेकाे महसुस गर्दै यस्ताे लेख्छिन् -

बेहिसाब प्रेम

लता कार्की

म यसरी रित्तिएँ तिमीमा
जसरी नशा प्यालाबाट रित्तिन्छ
म यसरी सकिएँ तिमीमा
जसरी सलाईकाे बारुद आगाेमा सकिन्छ।

यसरी लिप्त, यस्ताे सुषुप्त
तिमीमा कपुरजस्तै बिलिँदै गएँ
मनकाे पत्रपत्रमा भासिँदै
म कतिबेला सकिएँ - थाहा नै भएन
म कतिबेला रित्तिएँ - पत्तै पाइनँ
बिहानीकाे शीतझैँ -
कतिबेला पाेखिएँ म - प्रेम बनेर तिमीमा ?

- न प्रेम पुण्य हाे
- न प्रेम पाप हाे
प्रेम मात्र बेहिसाब हाे
हाे, म बेहिसाब प्रेम गर्छु तिमीलाई।

****

प्रस्तुत कवितामा प्रेमकाे उच्चतम विन्दुमा पुगेपछि एउटा सफल प्रेमी जाेडीले कस्ताे अनुभूत गर्छ त? यहि कविताले प्रस्ट पारेकाे छ।

प्रेम पनि स्वच्छ हुनुपर्छ। प्रेमकाे परिभाषा गर्नै सकिँदैन। जति जनाले जस्ताे तरिकाले प्रेमकाे परिभाषा गरेपनि त्याे सधैँ अपूराे हुन्छ भन्ने बुझाइ भएकी कवि लता कार्कीकाे याे कविताले भने प्रस्ट पार्छ। साँचाे माया र प्रेम कस्ताे हुन्छ? पढेपछि पक्कै थाहा हुन्छ।

यस्ता थुप्रै कविताहरूले देश, समाज, मानवप्रवृत्ति र जीवनका भाेगाईलाई सशक्तरुपमा कलम चलाउन सफल भएकी छन् उनी। कविले लामा कविताहरूलाई अलि छाेट्याएर कसिलाे बनाउने ठाउँ हुँदाहुँदै अलि हतार पाे गरेकी हुन कि! कतैकतै शब्दहरूमा राख्नुपर्ने चिन्हमा ध्यान नपुगेकाे छैन तर यत्ति हुँदाहुँदै पनि पहिलाे कृतिमै यति सशक्त कविता लेख्न सक्नु नै कविकाे क्षमता हाे। यसमा मान्नै पर्छ।

यथार्थपरक सहित प्रभावपूर्ण र समाजकाे चित्रण गरि कविता लेख्न सक्ने कविलाई हार्दिक बधाई छ। साथै यश कृतिमा भएका केही कमिकमजाेरीलाई मनन् गर्दै अझ सशक्त कविताहरू पढ्न पाइयाेस्। दाेस्राे कृतिकाे लागि शुभकामनासहित कवि लता कार्कीकाे 'उल्टाे पाइला' कविता सङ्ग्रह पठनीय र सशक्त रहेकाे छ।

विधा - कविता सङ्ग्रह
लेखक - लता कार्की
मूल्य - २०० /-
प्रकाशक - चिन्डाे बुक्स, काेटेश्वर काठमाडौं  

प्रकाशित मिति: : 2021-02-13 12:13:00

प्रतिकृया दिनुहोस्

    हार्दिक आभारी छु । किताबकाे समिक्षामा याे मेेराेे दाेस्राे हाे । प्रकाशण गरिदिनुभएकाेमा आभारी छु ।

    • 3 बर्ष अगाडि
    • Bikrm pawan pariyar