विभेद र प्रतिगमनविरुद्ध महिलाको सिंहदरबार मार्च, तर प्रधानमन्त्रीले सिंहदरबार नटेकेको १० महिना पूरा

नवीन प्यासी

काठमाडौं
तस्बिर : दीपेन्द्र ढुंगाना
तस्बिर : दीपेन्द्र ढुंगाना

एउटा शव थियो, शवलाई मलामीले बोकिरहेका थिए । मलामीले सेतो कपडा लगाएका थिए । माघ २१ मा बैतडीकी भागरथी भट्टको बलात्कार र हत्याको विरोधमा प्रतीकात्मक शव बनेकी थिइन् अभियन्ता अंशु खनाल । उनी शव बोक्ने खटमा निश्चल थिइन् । उनलाई पहेँलो कपडा ओढाइएको थियो । 

शव बोकेर मलामी दिउँसो २ बजे वसन्तपुर दरबारबाट हिँडे, गन्तव्य थियो सिंहदरबार । मार्चमा थिए सयौँको संख्यामा युवा महिला । उनीहरू बलात्कृत युवतीको शव देशका प्रधानमन्त्री केपी ओलीलाई देखाउन चाहन्थे । भागरथी भट्ट, निर्मला पन्त, सम्झना विक बनेर युवा महिलाको टोली सिंहदरबारतर्फ मार्च गर्दा देशका प्रधानमन्त्री केपी ओलीले आफ्नै कार्यालय नटेकेको १० महिना भइसकेको छ । हो, कार्यकारी प्रमुखले देश आफ्नै निवासबाट चलाइरहेका छन् । संविधानविरोधी अध्यादेश ल्याउनेदेखि जननिर्वाचित संसद् विघटन गर्नेसम्म उनले बालुवाटारबाटै गरिरहेका छन् । 

प्रधानमन्त्रीले ११ महिनादेखि एक पाइला पनि नटेकेको सिंहदरबारतिर प्रधानमन्त्रीलाई भेट्न उनीहरू गइरहेका थिए । हो, यस्तै विडम्बनाको प्रतीक बनेको छ देश । 

खटमा लमतन्न बनेकी अंशु नै यो ‘पर्फर्मेन्स आर्ट’की परिकल्पनाकार हुन् । उनीहरूको टिम ‘आभा फर क्रियटिभिटी’मार्फत सामाजिक मुद्दाहरूमा सडकमा कार्यक्रम गरिरहेको छ । 

शवयात्रामा मार्च गरिरहेका रसिक राजले हामीसँग भने, ‘यो पर्फर्मेन्स आर्ट हो, तर यो केवल नाटक मात्र होइन । व्यवस्थालाई कुल्चिदिएका तानाशाहहरूले हामीलाई यसो गर्न बाध्य गराए । यतिखेर हामी चुप रह्यौँ भने भोलि हाम्रा सन्ततिहरूले पनि यो दुःख र ज्यादती भोग्न बाध्य हुनुपर्छ । त्यसका लागि हामीले यो प्रदर्शन गरेका हौँ ।’ 

प्रकाशित मिति: : 2021-02-13 06:26:00

प्रतिकृया दिनुहोस्