युवराज घिमिरे
अहिले मुलुकमा खासगरी कुन नेपाल कम्युनिस्ट पार्टीको भीड ठूलो? भन्ने बहससँगै ती समूहहरुका आकार, त्यहाँ लगाइएका नारा र नेताहरुका अभिव्यक्ति सञ्चार माध्यममा मुख्य विषय बनेका छन्। सञ्चार माध्यमका आफ्नै आवद्धता र पूर्वाग्रहले पनि कुनै एक पक्षलाई नायक र अर्कोलाई खलनायकका रुपमा प्रस्तुत गरिएका उदाहरण प्रशस्त छन्। नायक र खलनायक चरित्र या छवि जनता र मुलुक या तिनको हित सापेक्ष हुन्छ। तर, यो भीड त्यसमा आएका र ल्याइएकाहरुको संख्याको आधारमा को लोकप्रिय? को जनविरोधी? भनी किटान गर्न कठीन हुन्छ।
यो समग्र भीडको राजनीतिमा पक्ष-विपक्षको विवेक, राष्ट्र र जनताप्रतिको निष्ठा, मुलुकप्रतिको वफादारी, आफैलाई समिक्षा गर्ने साहस कुनै पक्षले नदेखाउँदा त्यसलाई जन निरपेक्ष भन्न कठीन नहोला। अर्को अर्थमा अहिलेको सडक आन्दोलन पूर्णरुपमा सिधै सत्ता सापेक्ष उछलकुद हो। भोलि दौड सकिँदा सत्ता फेला पार्ने पराक्रमी र न्याय पक्षीय, अनि सत्ताबाट वञ्चित अर्को कित्तामा उभिएको मानिने छ तत्कालका लागि। तर, ती दुई कित्ता प्रजातन्त्रका सत्ता र प्रतिपक्ष नभएर कुनै किसिमले सत्ता हत्याउन सफल र असफल समूहभन्दा फरक कित्ता हुने छैनन्। सडकमा तिनका अभिव्यक्ति र सत्तामा छँदा या विपक्षमा छँदा अहिले दुवै कित्ताका नेतृत्व वर्गको चरित्रले पटक–पटक यो कुरा सावित गरेको छ।
फरक यत्ति हो, अहिले सत्ताको प्रतिस्पर्धामा सडकमा प्रतिद्वन्द्वी राजनीतिक दलहरु मात्र हैनन्, उनीहरुलाई न्याय पक्षीय तथा अन्याय पक्षीय समूहको विशेषण भिराउन प्रत्यक्ष अप्रत्यक्ष रुपले दाता, विदेशी शक्ति, नागरिक सामाज र हिजो इजलासमा आसिन ‘श्रीमान्हरु’, अनि आज ‘वार’ मा रहेका तथा यो र त्यो पक्षमा बहस गरिरहेका ‘विद्वान’ अधिवक्ताहरु पनि आंशिक रुपमा सडकमा छन्।
अहिले एउटा कुरा भने सकारात्मक रुपमा भिन्न देखिन्छ। हिजो सत्ताले ‘संविधान’ र ‘संविधानवाद’विरुद्ध निर्णय लिँदा दलीय आवद्धताका आधारमा अडान लिने कानुन व्यवसायीहरु आज निकै हदसम्म दलभन्दा माथि उठेको देखिन्छ। त्यस अर्थमा हिजो एमाले र केपी ओलीको नजिक देखिएका वकिलहरु आज प्रधानमन्त्रीका रुपमा ओलीले गरेको सिफारिसलाई आधार मान्दै त्यसलाई अन्ध अनुमोदन गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा उभिएका छन्, न्यायालय र तीमध्ये केही सांकेतिक रुपमा सडकमा पनि।