सङ्खुवासभामा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

बिएल संवाददाता

किमाथाङ्का
Sunakhari pati

सङ्खुवासभाको मकालु गाउँपालिका–५ मा आज अरुण तेस्रोको टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

 मृत्यु हुनेमा मकालु–३ हेदाङ्नाका ४२ वर्षीष खड्गबहादुर राई रहेका छन्। 

खाँदबारी किमाथाङ्का सडक खण्डको फ्याक्सिन्दा बेँसीमा भारतको विहार प्रदेशको ७६१० नम्बरको टिपरले को२३प ४८१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बुढाथोकीले जानकारी दिए। 

उक्त ठक्करबाट राईकी श्रीमती प्रेमकुमारीसमेत गम्भीर घाइते भएकी थिइन्। खड्गबहादुर राजारानी आधारभूत विद्यालयका कार्यालय सहयोगी हुन् भने उनकी श्रीमती सोही विद्यालयकी बाल शिक्षिका हुन्।

राई दम्पति दुवै गाउँपालिका केन्द्रको नुममा तालीममा सहभागी हुन जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 

उक्त दुर्घटनामा गम्भीर घाइते भएकी प्रेमकुमारीको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लैजाने तयारी भइरहेको बताइएको छ।

मोटरसाइकललाई ठक्कर दिने काभ्रेको नवबुद्ध नगरपालिका–६ का ३० वर्षीय सुवास चौलागाईलाई भने नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। अहिले स्थानीयवासीले खाँदबारी -किमाथाङ्का सडकखण्डको फ्याक्सिन्दा बेँसीमा सडक अवरुद्धसमेत पारेका छन्।  
 

प्रकाशित मिति: : 2021-02-12 13:41:00

प्रतिकृया दिनुहोस्