काठमाडौं, माघ २८ : २१ माघमा बेपत्ता बैतडी दोगडकादार गाउँपालिका-७ चडेपानीकी किशोरी भागीरथी भट्ट (१७ वर्ष) २२ माघमा घर र विद्यालयबीच झाडीमा मृत फेला परिन्। शव परीक्षणबाट उनको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ। उनको हत्यामा संलग्न पक्राउ परेका छैनन्। सरकारले हत्यारा चाँडै पक्राउ पर्ने र कडा कारवाही गर्ने प्रतिबद्धता जनाउँदै आएको छ।
यसअघि बझाङ मस्टा गाउँपालिका-२ खिकालाकी बालिका सम्झना कामी (१२ वर्ष) को शव ७ असोजमा स्थानीय शिव मन्दिरनजिकै फेला पर्यो। स्थानीय राजेन्द्र बोहराले बलात्कारपछि उनको हत्या गरेको अनुसन्धानबाट खुलेको छ।
सुदूरपश्चिम प्रदेशमै १० साउन ०७५ मा कञ्चनपुरकी किशोरी निर्मला पन्त (१३ वर्ष)को बलात्कारपछि हत्या गरियो। घटनाको अढाइ वर्ष बितिसक्दा पनि हत्यारा पक्राउ परेका छैनन्।
यी घटनाले नेपाली समाजमा छोरीलाई बचाउनै गाह्रो हुँदै गएको उजागर गर्छन्। बालिका र किशोरीमाथि निरन्तर भइरहेको हिंसाले नेपाली समाजको अँध्यारो पाटो प्रतिविम्बित गर्छन्। हत्यारा पहिचान र पक्राउ गर्न प्रहरी असफल बनेका निर्मला पन्तको हत्याजस्ता प्रकरणले आफ्नै घर, समाजमा चर्को असुरक्षा महसुस गराउँदै आएका छन्। अधिकांश घटनामा आफन्त र छिमेकीको संलग्नता पाइनु अझ गम्भीर विषय हो।
अझ, बलात्कारमा संलग्न अभियुक्तलाई जोगाउन गाउँ, समाज नै लागिपर्ने गरेका घटना सार्वजनिक भएका छन्। जस्तो- २९ भदौमा सप्तरी डाक्नेश्वरी नगरपालिका-७ की संगीता मण्डल (१७ वर्ष) माथि सामूहिक बलात्कार भयो। पीडित युवती परिवारको सहयोगमा उजुरी दिन प्रहरीमा जान खोजिन् तर गाउँमै पञ्चायती बसी युवतीलाई पैसा दिएर घटना लुकाउन खोजियो । प्रहरीले उजुरी लिने चासो नलिएपछि किशोरीले आत्महत्या गरिन्।
यस्तै, १० जेठमा बुटवलकी अंगिरा पासी (१३ वर्ष) माथि बलात्कार भयो। तर, वडाध्यक्षकै रोहवरमा गाउँमा पञ्चायती बसी बलात्कारीसँग बिहे गरिदिने निर्णय गरियो। गाउँलेसामु बलात्कारीको जिम्मा लगाइएपछि अंगिरालाई कथित सानो जात बताउँदै परिवारले अस्वीकार गरे। उनी पनि आत्महत्या गर्न बाध्य बनिन्।
नेपालको कानूनले बलात्कारलाई जघन्य अपराध मानेको छ। तर, यति जघन्य अपराधमा संलग्न व्यक्तिलाई पनि कानूनी कारवाहीको साटो जोगाउन लागिपर्ने सामाजिक मनोविज्ञानले यस्ता घटना बढ्न मद्दत पुर्याउँदै आएका छन्।