खगेन्द्र संग्राैला
धेरै होस् वा थोरै, सारमा होस् वा रूपमा, कहिल्यै एक पलधरि अडिएर विश्राम नगर्ने समयसँगै जे पनि बदलिन्छ । नभन्दै नागरिक आन्दोलन पनि बदलिएको छ । ०६२/६३ को नागरिक आन्दोलनको तारो ज्ञानेन्द्रीय फौजीशाही थियो, यसपाला तारो भएको छ सत्तामा खड्गप्रसाद शर्मा ओलीको सार्वत्रिक छाडापन, विधि विध्वंश र जनअधिकार हरण र अनिश्चयमुखी आतङ्कको भयावह आरम्भ । अघिल्लो नागरिक आन्दोलनको नेतृत्व मूलतः अपेक्षाकृत बृद्ध नागरिक र युवाका हातमा थियो, यसपाला नेतृत्व मूलतः मध्यम बयका नागरिक एवं युवकहरूका हातमा छ ।
अघिल्लोमा भन्दा यसपाला युवाको संलग्नता विविध दृष्टिले रोचक एवं रमितलाग्दो छ । लिङ्ग, जाति, क्षेत्र, भाषा, पेसा हर दृष्टिले यो बहुरङ्गी छ, विविध छ, विस्तारित छ । र, प्रस्तुतिको शैली र भङ्गीमा पनि यसपाला नानाओली विविधताले अतिरिक्त सौन्दर्य थपेको छ । अघिल्लोमा निरस भाषणमा न्यूनाधिक सरसता थप्ने मूलत तत्व चारवटा थिए । अर्जुन पराजुलीका सडक कविता, सारङ्गीधारी गाइने भाइका गीत, यदाकदा रामेशादिको गायन र श्रवण मुकारुङको बिसे नगर्चीको वाचन । यसपाला विविधताका आइटम अझ विविध छन् ।
यसपाला कालो पोशाकधारी युवतीका ब्यङ्ग्य र कटाक्षयुक्त लयदार नारा छन्, किशोरीका कलात्मकतायुक्त भावमय प्रस्तुति छन्, तानाशाहीविरोधी आक्रोशका अभिनयसज्जित अनेक मौन र मुखर अभिव्यक्ति छन्, नानाओली गीत छन्, विविध भाषाका कविता वाचन छन्, सीमान्त जनताका पीरमर्का र आकाङ्क्षाका गर्जन छन् । आन्दोलनका यी यावत् झाँकीका बीचमा आन्दोलनको प्रकृति, चरित्र, लक्ष्य र संहिताप्रति युवाको सजगता र सतर्कता गजप छ ।