रवीन्द्र घिमिरे
उनको पहेँलो टोपी, रातो सारी र पावरवाला चश्मा लगाएकी बुढीआमा आइतबार बिहान वैदेशिक रोजगार विभागको गेटमा चप्पल घिसार्दै पुगिन् । मसिनो काँपेको स्वर निकँल्दै सुरक्षागार्डलाई सोधिन्, ‘हाकिम सा’ब हुनुहुन्छ बाबु ?’
म्यानपावर कम्पनी र दलालहरुले ठगेका युवाहरु पुग्ने विभागमा बयोवृद्धको उपस्थिति अपवाद थियो । सुरक्षा गार्डले बिनम्रतापूर्वक तेस्रो तलामा जान सुझाए ।
उनी भर्याङमा तीन ठाउँमा रोकिएर विभागका महानिर्देशक कुमारप्रसाद दाहालको कर्यकक्षमा पुगिन् । महानिर्देशकलाई हात जोड्दै भनिन्, ‘छोरा खोजिदिनुहुन्छ कि भनेर हजुरकहाँ आएँ । गएको असोजबाट मेरो छोरा विदेशमै हरायो ।’
उनी कैलालीको गोदावरी-९ धनचौडीकी सुनमतीदेवी जोशी हुन् । उमेरले ७७ काट्न लाग्यो, आँखा राम्रो देख्दिनन् । चिसो काठमाडौंमा उनको मन छोराको पीरले भतभती पोलेको छ । र, त्यही दुःख बिसाउन सरकारी अड्डा धाइरहेकी छन् ।
साँझ परेपछि कहिले भदा कहाँ त कहिले आफन्त कहाँ बास बस्न पुग्छिन् र, उज्यालो भएपछि फेरि छोरा खोजिदिन आग्रह गर्दै सरकारी अड्डा पुग्छिन् । थाहा पनि छैन, विदेशमा हराएको छोरा कसले खोजिदिन्छ ? तै पनि आश मारेकी छैनन् । सुनमतीदेवीका अनुसार ८७ वर्ष पुगेका उनका श्रीमान दानबहादुर शाही गृहमन्त्री हुँदा सुरक्षा गार्ड थिए । यो परिचयले काम भइहाल्छ कि भनेर कुन सरकारी अड्डा पुग्दा पनि श्रीमानको त्यही विगत सम्झाउँछिन् ।