घुम्ती शिविर तथा करदाता शिक्षा

Nepalipatra

आन्तरिक राजश्व कार्यालय झापाले आज घुम्ती शिविरमार्फत मेचीनगरका ७२ व्यवसायीलाई संस्थागत स्थायी लेखा नम्बर (पान) उपलब्ध गराएको छ। 

मेची चेम्बर अफ कमर्सको सहकार्यमा मेचीनगर नगरपालिका–१० स्थित धुलाबारीमा आयोजित घुम्ती शिविर तथा कर शिक्षा कार्यक्रममा राजश्व कार्यालयले उद्योगी तथा व्यवसायीलाई पान नम्बर वितरण गरेको हो।

आन्तरिक राजश्व कार्यालय झापाका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले करसम्बन्धी कुनै पनि कामका लागि बिचौलिया आवश्यक नभएको बताए। उनले करदातासँग सिधा सम्पर्क स्थापित गरेर परामर्श तथा सेवा प्रदान गर्न कार्यालय सधैँ तत्पर रहेको बताए। 

सङ्घ संस्थामा रहेकालाई व्यक्तिगत पान र व्यवसाय भएकालाई संस्थागत पान दर्ता गर्न श्रेष्ठले आग्रह गरे। कार्यक्रमका अध्यक्ष तथा चेम्बरका अध्यक्ष ललितकुमार बोहोराले कर शिक्षा तथा पान दर्तालगायत कामका लागि मेचीनगरका व्यवसायीले चन्द्रगढीसम्म धाउन नपरोस् भनेर घुम्ती शिविरको आयोजना गरिएको बताए। 

मुलुककै पुरानो बजारको रुपमा रहेको धुलावारीमा नेपाल बैंक लिमिटेडको स्थापना भएको दशकौँ भइसके पनि त्यहाँबाट राजश्व जम्मा हुने व्यवस्था थिएन तर यहाँको बैंकले आजैदेखि सरकारी कर तथा राजश्व बुझ्ने भएको छ।

आन्तरिक राजश्व कार्यालय भद्रपुर र मेची चेम्बर अफ कमर्सको पहलमा आज बैंकको प्रबन्धक कृष्ण नेपालसहित व्यवस्थापन समूहसँग कुराकानी गरी राजश्व बुझ्ने व्यवस्था मिलाइएको चेम्बरका अध्यक्ष बोहोराले बताए। यसअघि धुलावारी क्षेत्रका करदाताले विर्तामोड र काँकरभिट्टाको नेपाल बैंक लिमिटेड पुगेर राजश्व बुझाउँदै आएका थिए। प्रमुख कर अधिकृत श्रेष्ठले बैंकले राजश्व जम्माको सुविधा दिएपछि स्थानीय करदाता थप लाभान्वित हुने अपेक्षा गरे। 

चिठ्ठामा रकम परेको भन्दै लाखौं ठगी गर्ने पक्राउ

अनलाइनबाट चिठ्ठा परेको बहाना बनाई लाखौँ रकम ठगी गर्ने एक व्यक्तिलाई आज प्रहरीले पक्राउ गरी महानगरीय अपराध महाशाखा मीनभवन काठमाडौँ पठाएको छ। अर्जुनधारा नगरपालिका–९ का २९ वर्षीय पङ्कज पौडेली (विश्वकर्मा) रु १४ लाख नगद रकमसहित विर्तामोडबाट पक्राउ परेका हुन्।

 उनले चिठ्ठामा परेका सामग्री तथा पैसा भन्सारबाट छुटाउन कर लाग्ने भन्दै विभिन्न व्यक्तिसँग बैंकको खाता नम्बर दिई पैसा असुल्दै ठगी गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। महानगरीय अपराध महाशाखामा चिठ्ठामा सामान तथा पैसा परेको भनी विभिन्न व्यक्तिलाई विकले बैंक खाताबाट रकम ठगी गरेको भनी परेको जाहेरीका आधारमा प्रहरीले विर्तामोड नगरपालिका–२ स्थित चारपानेबाट आज पक्राउ गरेको हो। 

पक्राउ परेका उनको साथबाट रु तीन लाख ५६ हजार ७१०, निजको घरको कोठाको दराजभित्रबाट रु दुई लाख आठ हजार २०० र उनकै घर पछाडिको गाईग्वाली छेउमा गोबरको थुप्रोभित्रबाट लेडिज ब्यागमा लुकाएर राखेको नगद रु आठ लाख ३० हजार ३०० गरी रु १३ लाख ९५ हजार २१५ र विभिन्न कागजात फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए। उनले थप अनुसन्धानका लागि आजै उनलाई महानगरीय अपराध महाशाखा मिनभवन काठमाडौँ पठाइएको जानकारी दिए। रासस 

प्रकाशित मिति: : 2021-02-08 21:02:00

प्रतिकृया दिनुहोस्