बलात्कार रातारात कतैबाट निर्यात गरिएको आयातीत वस्तु होइन, वर्षौँवर्ष खर्चिएर यही समाज, राज्य र व्यवस्थाद्वारा निर्माण गरिएको मानसिकताको उपज हो । जन्मपश्चात् गरिने पर्वरिस, दिइने शिक्षा र हामी वरिपरि मौजुद सामाजिक परिवेशले नै एक मान्छेभित्र बलात्कारी चेतनाको बीजारोपण गरिदिन्छ । बलात्कारी त फगत उब्जनी मात्रै हो उत्पादक त यही संरचना हो । घरदेखि सडक, समाज र सत्तासम्म सबैतिर यो संरचना बलात्कारी जन्माउन र बलात्कारीहरूकै पैरवी गर्नमा अभ्यस्त देखिन्छ ।
केही वर्षअघि एउटा गाउँको चौतारीछेउ जमिरहेको सार्वजनिक भेलामा गुन्जिरहेका केही आवाज र त्यहाँ उठाइएका सवालले यतिवेला मेरो मन र मस्तिष्कभित्र आश्चर्य उद्वेग घृणा, प्रतिशोध, प्रश्न र प्रतिप्रश्नको दोहोरो आँधी एकसाथ चलाइरहेको छ । गाउँका सम्पूर्ण भद्रभलाद्मी आमा समूहलगायतका व्यक्तिहरूको चौतर्फी घेराइमा एक अधबैँसे महिलालाई अभियुक्त बनाएर यसरी खडा गरिएको थियो, मानौँ उनी निकै ठूलो जघन्य अपराध गरेर फरार भइरहेको अवस्थामा गिरफ्तारी गरेर अपराध कबुल गर्न अदालतसमक्ष पेस गरिएको हो ।
उनका चारैतर्फ तेस्र्याइएका प्रश्न आरोप–प्रत्यारोप उनीसँग चिच्याइ–चिच्याइ भनिरहेकाछन् कबुल गर् ! “ए आइमाई ! तँ अपराधी होस्, तैँले ठूलो अपराध गरेकी छस् । कबुल गर् !” उनीमाथि दिनहुँ आफ्नै श्रीमान्द्वारा मारपिट जोरजबर्जस्ती र अनेक प्रकारका यातना हुने गरेको हुँदा मध्यरात लोग्नेको हमलाबाट बच्न घर छोडेर निस्केको कुरा भनिरहेकी थिइन् । तर, त्यहाँ उपस्तिथित कोही उनको कुरामा विचार गर्नसमेत तयार थिएन । बरु उल्टै उनलाई निकृष्ट तरिकाले चरित्रहीन आइमाईको तक्मा भिराइँदै थियो । “रातमा लोग्ने छोडेर हिँड्ने आइमाई चरित्रहीन हो । एक विवाहित आइमाईलाई यसरी बाहिर रात बिताउने अधिकार हाम्रो समाजमा छँदैछैन । के थाहा परपुरुससँग पो रात कटाएर आएकी हो कि ?”
समाजलाई आफ्नो पेवा सम्झने समाजका कथित प्रतिष्ठित प्रतिनिधि समूहको अभिव्यक्ति थियो यो । जसले एक लोग्नेलाई स्वास्नीमाथि मनलागी मारपिट हिंसा र बलात्कार गर्न पाउने आधिकारिक मौखिक सर्टिफिकेट थमाइरहेको छ । वास्तवमै तिनीहरू ती पीडित महिलामाथि नै खनिएका थिए । ती महिलाले भोगिरहेको पीडाबोध गर्न कोही तयार थिएनन् । आखिर स्त्रीप्रति यहाँको समाज र यहाँका कथित सामाजिक अगुवा किन यति धेरै क्रुर र अनुदार भएर प्रस्तुत हुन्छन् ? बलात्कारीप्रति समेत उदार बनेर मिलापत्र गराउन सक्ने यस्ता स्थानीय निकायमा पुरुषसत्ताको न्यायालयले हरेक दिन कति स्त्रीलाई अन्यायको भारले थिच्दै कठोर जिन्दगी बाँच्न बाध्य पारिरहेको होला ?