बराहताल गाउँपालिका–१ तेलपानीका इन्द्रबीर थापा (७१) ले जीवनको उर्वर समय बर्दियादेखि भारी बोकेरै बिताए । भूगोल सुर्खेतको भएपनि दूरीका हिसावले तेलपानी बर्दियाको भूरिगाउँसँग नजिक छ । तीन वर्षअघि सुर्खेत खण्डबाट सडक खन्दै आँगनै डोजर पुग्यो । थापाको आँगनैबाट आठ मिटरको चौडा सडक जान्छ । सडक पुगेपनि अझैसम्म यहाँ गाडी भने पुगेका छैनन् ।
इन्द्रबहादुरलाई आफुले भोगेको दुःख छोरा र नाति पुस्ताले नभोगुन भन्ने लाग्छ । ‘मैले त पिठ्यूमै भारी बोकेर आफ्नो जीवन गुजारे, त्यो दुःख छोरा र नातिले नपाउनु भन्ने हो,’ उनले भने, ‘बनेको सडकमा गाडी गुड्न पाए हुन्थ्यो ।’ सडक भएपनि सवारी नचल्नुको एउटै कारण हो, भेरी नदीमाथि पुल नबन्नु ।
२०६९ असार २९ गते पप्पु/मल्ल जेभी निर्माण सेवाले भेरी नदीमा पुल बनाउने गरेर सडक डिभिजन कार्यालय सुर्खेतसँग संझौता गरेको थियो । संझौता अनुसार काम गरिदिएको भए प्रदेश राजधानीबाट बर्दिया जोडिन्थ्यो । भेरीपारीका साविकको हरिहरपुर र तरंगा गाविसका नागरिक यातायातको पहुँचमा हुन्थे । ‘भेरीमा पुल नबन्दा अहिले पनि बर्दिया राष्ट्रिय निकुञ्जमा जोखिमपूर्ण यात्रा गरेर दैनिक उपभोग्य बस्तु खरिदका लागि बर्दिया पुग्नुपर्छ,’ स्थानीय टोपबहादुर कठायतले भने, ‘सडक भएपनि साधन नहुँदा आफ्नै क्षेत्रमा यात्रा गर्र्न पाएका छैनौं ।’