नीहरूले पहिला पैसाले माटो खोसे, त्यसपछि धानले र अहिले ‘विकास’ले माटो खोसिरहेका छन्
हेर्दाहेर्दै झम्टेवीर तामाङको गाउँमा सबथोक फेरियो । उनी पहिला गाउँवासी थिए, अहिले नगरवासी भए । पहिला उनको गाउँमा गोरु र पाडाले तान्ने गडी गुड्थ्यो । अहिले कार गुड्छ । टुकी बत्ती विस्थापित भयो, बिजुलीबत्ती आयो । गाग्रीमा पानी बोक्नु परेन, घरघरमा नगरको धारा आयो । चिठी बोकेर हुलाक कार्यालय धाउनु परेन । घरघरमा इन्टरनेट आयो । सहकारीदेखि मनी ट्रान्सफरसम्म, स्वास्थ्य चौकीदेखि पुलिस चौकीसम्म, टेलिफोनदेखि टेलिभिजनसम्म सबै सुविधा उनको गाउँमै आयो । झम्टेवीरको गाउँमा के मात्रै फेरिएन र अहिले, सबथोक फेरियो । सरसर्ती हेर्दा झम्टेवीरको गाउँमा अब फेरिन बाँकी केही रहेन ।
तर, गाउँमा धेरैथोक फेरिँदा पनि उनको जीवन भने फेरिएन । गाउँमा विकासको लहर चलेर सबथोक फेरिँदा पनि झम्टेवीरको परिचय भने फेरिएन । भोट हालेपछि केही दिनका लागि त उनको औँलाको रंग फेरियो । तर, उनको शरीरमा लुगा फेरिएको गाउँलेहरूले देखेनन् । उनको खुट्टामा चप्पल परेको पनि गाउँलेहरूले आजसम्म देखेनन् । उमेरले ५ दशक टेक्न लागेका उनलाई गाउँलेहरूले अझै ‘दाउरे’कै रूपमा चिन्छन् । उनी गाउँभरिका मानिसको दाउरा चिरिदिन्छन्, खेत खनिदिन्छन्, मल बोकिदिन्छन् । हिजोआज गाउँलेहरू भन्दै छन्, ‘अब झम्टेवीरले पहिलाको जस्तो दाउरा चिर्न सक्दैन । खेत खन्न सक्दैन । किनकि उनलाई पोहर सालदेखि टिबी रोग लागेको छ ।’