दिलभूषण पाठकले देख्न नसकेकाे कर्णाली

कर्णाली उत्सवको दोस्रो संस्करणको तयारी भइरहेको छ। पहिलो संस्करणको अपार सफलतापछि आयोजक संस्था ऋति फाउन्डेसन हरेक वर्ष कर्णाली उत्सव गर्ने उत्साहका साथ अगाडि बढेको छ। विषयवस्तुको खाँचो नभएको तर खासै उठान नभएको कर्णालीको लागि यो कोसेढुंगा हो।

कति विषय हाल उठान भएका छैनन्। अध्ययन, बोध र धारणाको निर्माण हुँदै जाँदा ती विषयवस्तु उठ्लान् नै। १२ ओैं शताब्दीमा सुरु भएर १६ ओैं शताब्दीमा विघटन भइजाने खस साम्राज्यले आफूलाई कति उच्चतम विन्दुमा पुगाउन सक्यो होला? तैपनि भाषा र सभ्यताको चियो चर्चा हुँदा खस साम्राज्यको नाम अगाडि आउँछ। 

त्यसभन्दा अगाडिका कयौं विषयवस्तु छुटेका छन्। अभिलेख नरहेका तीनको गहिरो खोज, अनुसन्धानको खाँचो छ।जसको अनुमान भइकन पनि अगाडि बढ्ने प्रशस्त आधार मिलेका छैनन्।आशा गरौं कर्णाली उत्सवले आउने संस्करणमा यस्ता विषयवस्तु उठान् गर्ला नै।

तर, जब–जब कर्णाली उत्सवको कुरा उठ्छ त्यसबेला म पहिलो संस्करण, सम्झन्छु। त्यसमा पनि ‘प्रश्न किन गर्ने’ सत्र सम्झन्छु। सबैभन्दा बढी त्यस सत्रका संचालक दिलभुषण पाठक सम्झन्छु।

त्यो सत्र चलिरहँदा म भौतिक रुपमा उपस्थित थिइन। लाइभ कार्यक्रम हेरेको पनि थिइन। कार्यक्रम चलिरहँदा हो, सुर्खेतका साथी विनोद शाहीको म्यासेज आयो, ‘सरिता तिवारीले कार्यक्रममै तपाईंको मुगु डायरीको चर्चा गर्नुभयो।’ 

लगत्तै लेखक माधव चौलागाईंबाट मलाई मेन्सन गरेर तिवारीले बोलेको भिडियो समाजिक संञ्जालमा सार्वजनिक भयो। साँझ तिवारीको फोन आयो। फोनमात्र साटासाट गरेका हामीले पहिलो पटक कुराकानी गर्‍यौं। मेरो नाक ठूलो भयो।

अब त भिडियो नहेरी सुखै भएन। भिडियोमा सरिता तिवारीले मेरो नाम लिनुभन्दा पहिला ध्यान भंग गरिदिए सत्र सञ्चालक पाठकले। हरि शर्मा, सरिता तिवारी र शिव गाउँलेलाई प्रश्न किन गर्ने भनेर प्रश्नै गरिरहेका उनले प्रश्न मात्र गरेनन्, पूर्व झापामा जन्मेर कर्णालीजस्तो विकट भूगोलमा माओवादी सशस्त्र संघर्षको कठिन बेला भोटो फेरेको र जुत्ता फटालेका अनुभव पनि साटे।

त्यसैले नै हो, मेरो मन, मथिङ्गल हल्लाइदिएको। आगो ओेकल्ने कहि  सरिता तिवारीका अगाडि शेयर गरिएको अनुभवले मेरो मनमा प्रश्नको राँको नै बलेको छ तर पनि मैले निकै ढिलो गरे यति लेख्नलाई। मेरो मनलाई चित्त बुझाएको थिए, ‘धीर गर्‍या, खिर खान पाइन्छ’ भनी। अब यो निष्कर्षमा छु, ‘अभि नै तो कहि नै’।

उनले मन मथिङ्गल नै हल्लाउने गरी शेयर गरेको अनुभव यस्तो छ, ‘जुन बेला म कर्णाली घुमेँ, त्यतिबेला कर्णालीमा व्यथाबाहेक केही थिएन। पलपलमा मृत्यु बाहेक केही थिएन। द्वन्द्वका कारणले वा खानाको अभावमा।’

पाठकले यो सुनाउँदै गर्दा मैले मेरा बालाई सम्झिएँ। त्यतिबेला नै हो, मेरा बा हेलिकप्टर चार्टर गरेर नेपालगन्ज, कोहलपुर हुँदै चितवनसम्म स्याउ बेच्न गएको। चितवनबाट तीन घण्टामा पुगिने काठमाडौंसम्म मेरा बा कहिले गएनन् तर के थाहा चितवनको कुनै मण्डीवालाले मुनाफाको आशामा स्याउ काठमाडौंसम्म पो पुगाइदिएको थियो कि? वा पाठककै परिवारजनले त्यसको स्वाद पो लिइहालेको थियो कि?

आजभन्दा छ वर्ष अगाडि बितेका मेरा बाको चाउरी परेका गाला सम्झन्छु। घाँटीका नसा तनक्क तन्काएर गरेको मेहेनत, सरकारले देखाएको झिनो आशामा हिमालसरि उत्साह बोकेर स्याउका पेटीको पहाड उभ्याएको दृश्य ताजै लाग्छ।

त्यसबेला पाठक बसिरहेको ओटालाको सत्ताले किसानलाई स्याउ ढुवानीमा ५० प्रतिशत अनुदान दिन्थ्यो। स्याउ बेचेर कागजात सबै पूरा गरेपछि रकम लिन पाउने भनेको आर्थिक वर्ष सकिनेबेला हुन्थ्यो। अर्थात् भदौ, असोजमा गरिएको खर्चको सोधभर्ना असारमा हुन्थ्यो।

मेरा बा ऋण काढ्थे । स्याउ बेचेर आएको रुपैयाँले सावाँ र ब्याज तिर्थे। अनि असारमा सरकारले दिने रकमलाई नाफा सम्झिन्थे। त्यो नाफा भोकाएको पेटले बाली पाक्ला र खाउँला भनी कुरेजतिको हुन्थ्यो। कर्णालीमा यो स्थिति आउनुमा भोकमरीले भन्दा पनि सत्ताले दिने आश्वासन जिम्मेवार छ।

मैले नजिकबाट नियालेका मेरा बा मात्रैको कामले पनि पाठकलगायत कर्णालीको पीडा, भोकमरी, फोहर, झिंगा, डुम, कुरुपता मात्रै देख्ने, खोज्ने अनुभवि, अग्रज र दिग्गज पत्रकारहरुका यस्ता अभिव्यक्तिलाई फिक्का बनाइदिन्छ भने कर्णालीमा युद्धकै पेरिफेरिमा पनि यस्ता कयौं दृश्यहरु थिए जसले देख्नलाई पलपलमा व्याथा र मृत्यु मात्र थिएनन् भनेर प्रमाणित गर्छ। खै किन हो पाठकले पलपलमा ब्याथा र मृत्यु मात्रै देखेछन्।

द्वन्द्वका कारणले वा खानाको अभावले पलपलमा त हुँदै होइन, समय–समयमा मृत्यु भोग्नेमा कर्णाली मात्र थिएन। सिंगो देश थियो। नत्र धादिङ जोगिमाराका मजदुरहरु कालिकोटको कोटबाडामा किन मारिन्थे? जो कर्णालीमा काम खोज्दै आएका थिए समयले मृत्यु रोजेको जस्तो बनाइदियो।

त्यसको असर भलै पाठकले  टेलिभिजन सो चलाउने ठाउँको आगनसम्म पुगेको थिएन होला। उच्च घरानासम्म त पक्कै पनि पुगेको थिएन। त्यसैले पाठकको अभिव्यक्तिले गलत निसाना लगाएको छ।

उनले यतिमात्रै भनेनन्। अर्को एउटा भयङ्कर डरलाग्दो कथा भने तर त्यो कथा एकादेशबाट सुरु भएको छैन। कर्णालीबाट सुरु भएको छ। कर्णालीको कुनै पनि ठाउँ उल्लेख नगरिएको हुनाले एकादेशको कथालाई कर्णालीमा मिसाएजस्तो छ। कथा यस्तो छ।

‘म तपाईंलाई एउटा दृष्टान्त भन्छु। मैले यो सुनेको कथा। तर मलाई यो सत्य हुनुपर्छ जस्तो लाग्छ तर सत्य नहोस्। यति कठोर कथा छ कि कर्णालीमा भोकमरी हुन्थ्यो। कुनै एउटा घरमा असाध्यै धेरै गरिबी थियो। श्रीमान् भारतमा काम गर्न गएका थिए। श्रीमती एक्लै थिइन्।

दुईवटा बच्चा बिरामी परेपछि खाद्यान्न, खानेकुरा केही पनि नभएपछि ती महिला आफ्नो घरमा भएको कुनै मुल्य आउने चिज खोज्दा केही पनि नभेटेपछि, चरेसको थाल भेटेपछि, त्यो थाल लिएर उनी सदरमुकाम गइन। बुदमा बसेर चामल साटिन्। केही चामल।

यो मेरा बिरामी केटाकेटीलाई ख्वाउँछु भनेर। तर फर्केर आउँदाखेरी उनलाई प्यास लाग्यो। कर्णाली कहिँ, त्यो चामल राखिन। तल गएर पानी खाइन र उक्लिँदाखेरी चामलको पोको थिएन। अब त्यो खाली हात घर फर्किनु र मेरा छोराछोरीको त्यो अवस्था देख्नुभन्दा म यहाँ हाम्फ हालेर मर्छु भनेपछि ती महिलाले त्यहाँबाट हाम्फ हालेको कथा सुनेको छु मैले। मेरो शरीरमा काँडा उम्रिन्छ, अझै पनि यो कथा भन्दा।’

यो कथा हो कि वास्तविकता? सत्य नहोस् तर हुनुपर्छको अन्तर्य के हो? अनुमान नै काफी होला र कर्णाली मूल्यांकनका लागि? वास्तविकता हो भने कुन ठाउँको हो? कुन जिल्लाको हो? कुन गाउँको हो? कर्णालीमा भोकमरी थियो भन्नुको मक्सद के हो? के पत्रकारितामा तथ्य जाँच हुँदैन? हुन्छ भने साँच्चै यो कथा कहाँको हो।

यस कथाकी पात्रको नाम के हो? पाठकलाई एक वर्षको समय दिन्छु। साथै सकिन्छ भने यो बाहिर ल्याइदिन चुनौती पनि दिन्छु। यदि साँचो हो भने उनी तयारी गर्दै गर्लान्, हामी उनी जस्ता पत्रकार तथा लेखकहरुले बुझेकाे र निर्माण गरेको कर्णालीबारेको संकथन र वास्तविकता तिर लागौँ।

सर्वप्रथम ‘कर्णाली’ नामको व्युत्पत्तिबारे चर्चा गरौं। ‘कर्णाल’ (करनाल) भन्नाले कर्णालीमा प्रचलित एक किसिमको घुगुरिएको बाजा हो। यो बाजालाई जोडले फुकेर बजाइन्छ। यसको आवाज तीब्र हुन्छ र पहाड पहरा नै थकिने गरी धेरैपरसम्म सुनिने खालको। 

कर्णाली नदी पनि ठूलो छ र यो नागबेली हुँदै तीब्र आवाजमा बग्छ। अनि कर्णालीका आदिबासीहरुले यस नदीलाई जुनसुकै नाम दिएको भए पनि, पछि ‘करनाल’ बाजाको आविस्कार भएपछि यो नदी ‘कर्णाली’ को नामले प्रसिद्ध हुन गएको विदित हुन्छ। 

योगी नरहरिनाथको कथननुसार पनि कर्णाल झैं कलनाद गर्ने भएकोले ‘कर्णाली’ भनिएको हो। (इतिहास प्रकाश २ र ३) जनकथन अनुसार यो पनि विदित हुन्छ कि सिमिकोटदेखि तल खार्पू भन्ने स्थाननिर हुम्ला कर्णालीसँग चुवाखोला मिल्ने दोभानमा ती दुईओटा नदी जुध्दा कर्णाल बाजाको आवाज तुल्य शब्द सुनिने।

नगरा बजाउनेलाई नगार्ची, कर्नाल बजाउनेलाई कर्नाल्ची भनिन्छ। कर्नाल प्राचीन सुषिरवाद्य मध्येको एक बाजा हो। यसको प्राचीन नाम कर्न थियो। पछि यसलाई कर्नाल भन्न थालियो। यसको आवाज र स्वरुप नदीसँग मिल्दो भएपछि नदीको नाम नै कर्नाली रहन गयो। 

यो आवाज आजतक पनि साँझ देखि रातभर सुनिएकै छ। उक्त तथ्य यस भेकको निकटमा भेरी अञ्चलमा बग्ने अर्को नदीको नाम ‘भेरी’ भएबाट पनि पुष्टि हुन्छ । किनभने ‘भेरी’ पनि ‘कर्णाल’ तुल्यकै ध्वनि निस्कने एक दुन्दुभि बाजाको नाम हो।(हेर्नुस् कर्णाली लोक संस्कृति, इतिहास, सत्यमोहन जोशी, पृष्ठ ३)

यी ठुला आवाज आउने बाजाका आविस्कार कसले गर्‍यो होला? सत्तामा रहने क्षेत्री वा तीनको वरिपरि रहने बाहुनले? होइन। यीनका आविष्करक सत्ताले जबर्जस्ती गरेर बनाएका कथित तल्लो जातका मान्छेले गरेका हुन। बजाउनका सिपालु दमाईलाई सार्की र कामीले काठ, धातु वा छालाका सामान बनाइदिएर सहयोग गरेका छन्।

बाजासँग जोडिएको नदीको नाम उस्तै रहे पनि र भुगोलको नाम परिवर्तन गरेर खस साम्राज्य भनियो। यसले खसहरु कर्णालीका आदिबासीलाई शासन गर्न पछिमात्र आएका हुन भन्ने तथ्यसँग नजिक हुन,मद्दत पुग्छ। त्यसैले प्रष्ट भन्न सकिने स्थिति छ कर्णालीका मुलबासी दलितहरु हुन्। 

सब कुरामा आफ्नो आधिपत्य जमाउने शासकहरुले कर्णाली र भेरी नदीको नाम किन फेरेनन्? २०६४ पछि सत्तामा आएका माओवादीहरुले राजमार्गलाई लोकमार्ग भन्न सके भने नदीको नाम फेर्न ठुलो कुरा थिएन। यसमा दुईवटा कारण प्रमुख छन्।

पहिलो, दलितहरु शासक थिएनन्, तीनमा राजनीतिक चेतना थिएन। उनीहरुले प्रतिरोध आन्दोलन चलाउन सक्दैन थिए। दोस्रो, ती बाजाले शासकहरुलाई प्रशस्त मनोरञ्जन दिएर सेवा गरिरहेका थिए भने शासकहरुको संचारका साधन बनेका थिए।

यी तथ्यहरुले हामीलाई खस साम्राज्य भन्दा अगाडि बढ्न मद्दत गरेका छन् तर शासकहरुको जयजयकार गाउने भजनमण्डली बनेको सत्ता र त्यसकै वरिपरि रमाइरहेका अध्येता, लेखकहरुले पिँधमा रहेका दलितहरुको इतिहास उत्खननमा रुचि जाग्ला भनेर तत्काललाई आशा गर्न सकिदैन।

****

एक पटक जुम्लाका देउडा खेलाडी पूर्णप्रसाद धिताल दाँङमा देउडा खेल्न लागेछन्। दंगाली देउडियाले होच्याउँदै भनेछन्।

‘जुम्ला जान्या जुम्ली दाईको, काम कति हुँदो हो। 
चौबिस घण्टा हात खाली नाई, सित्ति मन रुँदो हो।’

उनलाई लागेछ जुम्लीलाई ठीक पारे। श्रमलाई सम्मान गर्ने जुम्लीले त्यो गीतको जवाफ पनि श्रमसँग गाँसेर दिएका थिए तर हारेका थिएनन्, भनेर देउडाका पारखीहरु बताउँछन्। 

यसरी गीतमा होच्याउनुको कारण जुम्लीहरु भेडा पाल्थे। वर्षको एक पल्ट भेडाको उन निकालिने। उनबाट लगाउने कपडादेखि ओढ्ने, ओछ्याउनेसम्म हुने। यी सबैका लागि अरुका भर पर्नु नपर्ने। एक प्रकारको आत्मनिर्भरताको अभ्यास नै भयो। मेसिनको प्रयोग गर्ने जमाना आइनसकेकाले डोरी बनाउन हातले नै उन कात्नुपर्ने। त्यसका लगि ताखु चाहिने।

कुनै एउटा काम गर्दा गर्दै ताखु कात्न सकिने। हिँड्दा हिँड्दै, गाई, घोडा, भेडा, बाख्रा चराउँदा चराउँदै, कचहरीमा गफिँदा गफिँदै, भोट, मधेश गर्दागर्दै। उति गाह्रो पनि नहुने भएकाले ताखु कात्ने काम निरन्तर भइराख्थ्यो। जुम्ली जहाँ–जहाँ गयो त्यहीँका मान्छेले देखिरहेका थिए। दंगाली देउडियाले त्यसैलाई जुम्ली होच्याउने काइदा माने।

धितालले त्यसको जवाफ यसरी दिएका रहेछन्:-
बड्चौड बाजको बगाल, झ्याँइअ कुटी कुटी।
कति मर्‍या जिजु-बाज्या, फलाम चुटी चुटी??

जवाफ श्रमसँगै जोडिएको थियो। सबैले कुनै न कुनै खालको पेसा अंगालेका हुन्छन्, त्यसैलाई होच्याउने काइदा बनाउनु हुँदैन भन्ने खालको भाव समेटिएको गीत हो, यो। यद्यपि ‘इटको जवाफ पथ्थरले दिन्छ’ भन्ने सन्देश पनि हो । 

विशेषत सन् १८४६ मा गोर्खालीहरुले आफू विजयी भएको घोषणा गरेका भए  पनि त्यो षड्यन्त्र मुलक हमला थियो। जित्नेहरुका लागि त्यो जायज नै भयो। ‘एभ्रिथिङ इज फियर इन लभ एण्ड वार’ भनेजस्तै। तर तत्कालीन जुम्ला राज्यका राजा शोभान शाहीले हार मानेका थिएनन्। यति हुँदा पनि राज्य हत्याउने खालको विद्रोह उनले गर्न सकेनन्।

जुम्ला राज्यले तीन पटक सम्म गोर्खालीहरुलाई धुलो चटाएको हो। अन्तका राजाहरुले जस्तो जुम्ली राजाले हार मान्दै राज्य छोडेका थिएनन्। प्रतिरोध आन्दोलन भएको थियो। त्यसैले गोर्खालीहरुले पछिसम्म पनि बदला लिइरहे। युद्धमा हार्नेलाई दबाउने नियत हुन्छ। प्रथम र दोस्रो विश्वयुद्धमा हारेका देशहरुले भोगेका थिए। त्यसैले गोर्खालीका सन्तानहरु सत्तामा हुन्जेसम्म कर्णाली पछि परिरह्यो। कर्णालीलाई अलग राज्यको व्यवहार गरिरह्यो। आजसम्म पनि कायम छ।

त्यतिमात्र होइन कर्णालीबारे विविध नकारात्मक संकथनहरु निर्माण गरिरह्यो। जुम्ली भन्ने वित्तिकै फोहोरी। कर्णाली सुन्ने वित्तिकै भोकमरी, मगन्ते आदि। त्यतिमात्र नभई जुम्ला राज्यमा रहेको थोरै नराम्रा चलनलाई समेत संसारभर झ्याली पिट्यो। जस्तो छुइप्रथा मान्ने, खुला ठाउँमा  दिशा गर्ने आदि। त्यहि बाहानामा संसार निल्दै हिडेका एनजिओ, आइएनजिओ र धार्मिक संस्थाहरु समेत छिरायो। 

तर नेपाली भाषा, संस्कृति, संस्कार एवं सभ्यताको उद्गम थलो सिंजा भन्दै जस भने लिइरह्यो। तथाकथित नेताहरुले कर्णाली पुग्दा आफ्नो पुस्ता कर्णालीको फलाना ठाउँबाट गएको बताउँदै जनतासँग गला गाँस्दै जनमत आफ्नो पोल्टामा पारिरहे। दिमाग भुटीरहे। उसो त केही घगडान लेखकहरु पनि आफ्नो पुर्खा कर्णालीबाटै गएको भनेर सगौरव भन्छन्। तर लेख्ने र बोल्नेबेला कहिँकतै पक्षपाती भइहाल्छन्।

जुम्ली फोहोरी हुन्छन् भन्ने कुराको जवाफ वरिष्ठ पत्रकार भैरव रिसाल यसरी दिन्छन्, ‘त्यो जमानामा जुम्लामा साबुन पुग्नै दुर्लभ। नेपालमै पनि दोस्रो विश्वयुद्धको दौरानमा जुद्धशमशेरको पालामा विराटनगरमा पहिलो साबुन (डल्ले) कारखाना खुलेको हो। तब जुम्लामा केको साबुन? चिसो ठाउँ, आगो नतापी बाँच्नै मुस्किल। आगो ताप्दा लुगा मैलो हुने।
तसर्थ जुम्ली मैलो हुने नै भो। त्यो युगमा मैलो जुम्ली, हुम्लीलाई जुम्ली, हुम्ली भनी सम्बोधन गर्दा सम्मान, प्रतिष्ठा र इज्जत ठानिन्थ्यो। तर केही समय यता जुम्ली, हुम्ली भन्ने सम्बोधनलाई होच्याएको, हेला गरिएको, अपमान गरिएको ठानिन थालिएको छ।’(हेर्नुस्, भैरव रिसाल, सिँजालाई सिँजाकै हैसियत, १७ कार्तिक २०७६, नागरिक दैनिक)

मनका सफा घुर्मैला जुम्ली व्यापारको सिलसिलामा भोट, मधेश सबैतिर देखिन थाले। मैला जुम्ली देखेपछि राज्य संयन्त्रले नै जुम्ली र फोहोर उस्तै हुन् भन्ने संकथन निर्माण गर्‍यो। परिणामतः जुम्ला बाहिरको कोही फोहोरी भएपनि उसलाई अपमानको बिम्बस्वरुप जुम्ली भन्न थालियो।  

समय र परिस्थिति आनका तान फरक भैसक्यो। तैपनि भन्नेको मुख कस्ले थुन्ने? भन्नेहरु भनिहाल्छन् जुम्लीझैं गन्हायो। हाम्रो प्रश्न छ, सिंगो देशको परिस्थितिलाई ध्यानमा नराखी स्वाभिमान, स्वाधीनता, स्वावलम्बन, परिश्रमलाई चटक्कै बिर्सेर फोहोरको पर्यायवाची कर्णाली, जुम्ला र जुम्ली मात्रै कसरी हुन पुग्यो?

कर्णालीको अर्थतन्त्र र दुरदर्शितबारे बिहारीकृष्ण श्रेष्ठले लामो अध्ययन गरे। कर्णालीले आत्मनिर्भरताको लागि स्थानीय श्रोत, साधन, श्रम र सीपको अधिकतम प्रयोग गरेको थियो। जेमा कर्णाली निर्भर थिएन त्यसका लागि भोटसँगको व्यपारका विभिन्न नाका छेडेको थियो। जस्तो नुन भोटबाट ल्याउनपर्ने भएकाले यातायातको लागि भेडा पालन तथा विनिमयको लागि अन्न उत्पादनलाई बढवा दिइएको थियो। कर्णालीको आफ्नै रेशम मार्ग थियो।

त्यसबेला निर्यात हुनेमा मार्सी धान, जौ, गँहु, सिमी, फापर, कोदो, भटमास लगायतका  खाद्यान्न थिए भने तोरी, गल्ने आरु, ढँटेलो, फर्सी, तिखुडो (सिलम), ओेखरको तेलहन घ्यू, महलगायत मुल्यवान वस्तु थिए। आम्दानीको स्रोत एक होइन, अनेक थिए। 

व्यापारको विस्तार हालको नेपाल मात्र होइन  विदेशसम्म थियो। कर्णालीका महिलाहरुले लगाउने मुगा, मोतीका माला, तुथो र पुलीका विशेष गहना तथा बाज (हिरा खोज्न प्रयोग हुने पंक्षी) लगायतको कारोबारले व्यापारको सीमारहित बिस्तारलाई देखाउँछ। त्यही क्रममा भाषाको समेत विस्तार भएको थियो।

परिणाम नेपाल राज्यले पनि सिंजामा विकास भएको भाषालाई नै कामकाजी भाषा बनायो। अहिले गोर्खालीको अपुताली सम्हालेका राज्यका मालिकहरु नेपाली भाषा, संस्कार, संस्कृति र सभ्यताको जननी भनेर छाती फुलाइरहेका छन्।

भाषाको विकास हुनमा अर्को कारण पनि छ। गोर्खालीहरुले षडयन्त्रपूर्वक १८४६ असोज २३ मा जुम्ला राज्यको केन्द्र छिनासीम जिते पनि जुम्ला, मुगु र हुम्लाका गाउँतिर गोर्खालीविरुद्ध साना साना विद्रोह भइरहेका थिए। त्यसलाई दबाउन तत्कालीन सत्ताका नायव बहादुर शाहले सोही वर्षकै माघ ८ गते जुम्लाका सुबांगी भक्ति थापालाई पत्र पठाए।

त्यस पत्रमा ‘...ठाना हाल (किल्ला बनाउ), झारजंगल पस्याकालाई कुर हान, रसद षोल, बाह्र वर्षदेखि उभोकालाई साफ गर, जहान बच्चालाई बस्तीमा बसाव...’ भनी निर्मम निर्देशन दिएका छन्।(हेर्नुस्, माधव चौलागाईं, गाउँको जडो खोज्दा भेटिएको कर्णालीको रहस्यमय इतिहास, माघ १५, २०७७, सेताेपाटी)

१२ वर्षमाथिका सबैलाई सफाया गर भनि आदेश दिएपछि जनताको भागाभाग भयो। भाग्ने क्रममा जुम्लीहरु देशभर फैलिए र व्यापार जानेका उनीहरुसँगकाे सम्पर्कले नै भाषाको विस्तार भयो। दमन अति भएपछि जनस्तरबाट गोर्खालीले जितेको घोषणा भयो। घोषाणा यसरी गरिएको थियो। 

भातु खायो सोभान शाहीले, ताउली हाल्यो कुम्ला।
झिति(जिति) हाल्यौ गोराखाय, जनिमार जुम्ला।।

अर्थः ‘जनताबाट कर उठाएर राजा सोभान शाहीले खाए। खाने, पकाउने सामान बोकेर उनी गइहाले। हारेको उनले हो। ठिक छ गोर्खालीहरु हाे जित तिम्रै भयो। तर, यसरी जुम्ली जनता नमार।’ 

तर जनतामाथिको दमनचक्रको शृङ्खला अटुट बनेपछि सहन नसकेर जुम्ली महिलाहरुले त्यसबेला स्थानीय अगुवा कालु पाद्या र शंकर पाद्यालाई संघर्ष गर्न उत्प्रेरित गरेका थिए। उनीहरुले संघर्षकाे आह्वान यसरी गरेका थिए। 

कालू पाध्या, शंकर पाध्या, दुबै मिली एक। 
दुई मिली नेपाल बाइजाउ, अधिया नटेक।।

त्यसबेलासम्म गार्खालीले अधिया सर्त तोकोका थिए। त्यसपछि एक भएका कालु पाद्या र शंकर पाद्या नेपाल(काठमाडौं) गएर दियालो आन्दोलन चलाएका थिए। परिणाम अधिया सर्त हटाइएको थियो।

तर पनि सत्ताले दबाउन छोडेन। गोर्खालीले जितेका थिए। हारेको शक्तिलाई दबाउने युद्धको नियम नै भयो। तर जोसँग सहकार्य गरिएको हो उसले समेत दबाउनु कहाँहासम्म न्यायोचित हुन्छ। त्यमाथि लेखक, पत्रकारहरुको मानसिकता परिवर्तन नहुनु ठुलो दुर्भाग्य हो।

****

तत्कालिन सिंजा साम्राज्यले ऋण लगाएको, मागेको इतिहास भेट्नु आठौं आश्चर्य हो। तर त्यही राज्यलाई हराउने गोर्खाली देखि हालसम्मका शासकहरुका कारण आज हरेक नेपाली गर्भाधानको पहिलो प्रहरबाटै ऋणको भारी बोकिरहेको छ।

गल्ली, गल्छेडामा, चोक, चौतारोमा गलैचा, राडिपाखी, गार्सागुम्बा, गुच्ची च्याउ, पदमचाल, सुमयो, ह्याड्या बेच्नुमा गर्व गर्ने तर माग्न नजान्ने कर्णालीमा हवाइ जहाजबाट चामल र नुन ढुवानी गर्ने तथा एनजिओलाई चामल बाड्ने वितरक बनाई उत्पादन र अर्थतन्त्रलाई नामेट पार्न सत्ताले कणार्ली सुन्ने वित्तिकै मगन्तेको संकथन निर्माण गरेको हो।

कहिल्यै हात खाली नगर्ने कर्णालीबासीलाई माग्ने भन्ने र कर्णालीमा भोकमरी थियो भनि प्रचार गर्ने कत्रो हिक्मत? के कर्णाली सँधै भोकमरीको चपेटामा परिराखेको छ? परिस्थितिले भोगमरी र अनिकालसँग कसलाई जुधाएन?

महिला छुई (महिनावरी) हुनु स्वाभाविक प्रक्रिया हो। यसलाई कर्णालीले जटिल कहिल्यै बनाएन। हालको जस्तो व्यवस्थापनका विभिन्न उपाय आइसकेका थिएनन्। छुई हुँदा योनीबाट बग्ने रगत चुनौति थियो। दिनरात मेहेनत गर्ने महिलाहरुलाई आरामको जरुरी पनि थियो। रगत बगिरहने समयसम्म आराम गर्न भनि बनाइएका हुन्, छुइकिल्ला(छाउगोठ)।

गच्छेअनुसार कसैले गतिलो बनाए त कसैले अगतिलो। केही सुरक्षित थिए त केही काल निम्त्याउने खालका पनि। घर स्थानीय बस्ती विकासमा आधारित भएको ठाउँमा छुइकिल्ला अन्तराष्ट्रिय मापदण्ड अनुसारका हुने कुरै भएन। छुन नहुने, भान्सामा बस्न नपाउने, खाना बनाउन नहुने जस्ता केही सिमाहरु सबैका निम्ति अस्वीकार्य नै हुन्। चेतना फैलाउन कहिल्यै नलाग्ने, तर यहि बाहानामा एनजिओ छिराउन कर्णाली आफै लागेको हो की राज्य?

खुला ठाउँमा दिसा गर्नु तत्कालीन राज्यको युद्ध कौशलता नै हो। यद्यपी गोर्खालीका अनेक तिग्डमका अगाडि जुम्ला राज्यको अस्तित्व रहेन। तर ‘नेपाल इज एन ओपन ट्वाएलेट’ भन्दै खुला दिशा मुक्त क्षेत्र घोषणाका लागि विदेशीसँग माग्दै हिँड्ने को हो?

कसको मगज फोहोर छ? को मगन्ते छ? वा कस्तो मानसिकता बोकेर कर्णाली छिरिन्छ? यी सवालमा कर्णाली बोलिरहनुपर्दैन। यत्ति हो गोर्खालीको अपुताली सम्हाल्ने शासकहरुको मानसिकता फरक होला भनी कल्पना गर्नु ‘गधालाई धोएर गाइ बनाउछु’ भन्नुसरह नै हो। अनि पाठकजस्ता अग्रज पत्रकारहरु मित्थ्या प्रचार गरिरहन्छन्।



जुम्लाका बगैँचामा फल्न थाले इटालियन फुजी स्याउ (भिडियो स्टोरी) 

खेलकुदका माध्यमबाट सामाजिक कुरीतिलाई चुनौती दिइरहेका छौँ (भिडियो स्टोरी)

भाड मे जाय जनता

‘कुडा नखोल मुनौंदो (मनमा) पहाड छ’ (भिडियाेसहित)

छाउपडीविरुद्ध बहस हुन गोठमा महिला मर्नै पर्छ ?

प्रकाशित मिति: : 2021-02-05 17:25:00

प्रतिकृया दिनुहोस्

    महेश ज्यु जड र यथार्थ कुरो लेख्नुभयो।कर्णालीजत्तिको सुन्दर यो देशको कुनै भुभाग छैन।कर्णालीको जस्तो आत्मियता र निश्चल मानिस अन्त कतै पाईदैनन्। यथार्थमा कर्णाली नै नेपाल हो ।हजुरजस्ता सचेत पत्रकारहरु ,अगुवा कर्णाली बासी तथा नेपालको सबै क्षेत्र ,बर्ग र जातिलाई माया गर्ने सच्चा नेपालिको आवश्यकता छ अब।

    • 3 बर्ष अगाडि
    • प्रतिभा महतारा