भ्रष्टाचार नियन्त्रण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछु: प्रमुख आयुक्त राई

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगको साँखलाई अझ उचाईमा पुर्‍याउने बताएका छन्। बुधबार आयाेगको पदभार ग्रहण गर्ने क्रममा उनले सबै चुनौती पार गर्दै साझा जिम्मेवारी वहन गर्ने बताए।

‘मुलुक र जनताप्रति इमान्दार र निष्ठापूर्वक रहेर कार्यसम्पादन गर्नेछु,’ उनले भने। सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना साकार पार्न आयोगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने, आगामी दिनमा आयोगमा कार्यरत जनशक्तिको क्षमता विकास र उत्प्रेरणा अभिवृद्धि गर्ने विश्वास समेत उनले व्यक्त गरे।

प्रमुख आयुक्त राईले नेपालमा भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्न जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्ने बताए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त राई, आयुक्त किशोर कुमार सिलवाल र जय बहादुर चन्दले पनि आयोगको पदभार सम्हालेका थिए। राजीनामा दिएका आयुक्त डा. गणेशराज जोशीको पनि विदाइ गरिएको थियो।


स्वाभिमानी प्रशासकको अख्तियार यात्रा 

प्रकाशित मिति: : 2021-02-03 18:50:00

प्रतिकृया दिनुहोस्