उनको जन्मथलोका सबै युवा लाहुरे बन्ने सपना देख्थे। उनकै सहोदर दाई पनि लाहुरे बने। तर उनलाई लाहुरे बन्ने सपनाले कहिल्यै लखेटेन। सम्भवतः नेपाल आमाले उनीबाट ठूलै अपेक्षा गरेकाले पनि होला उनमा लाहुरे बन्ने ईच्छा नजागेको।
हो, लाहुरे बन्न छाडेर २०४० साल साउन १ गते लेखापालमा नाम निकालेका तिनै प्रेमकुमार राई सचिवबाट सेवानिबृत हुँदै अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनेका छन्। सरकारले अख्तियारको प्रमुख आयुक्तमा राईको नाम सिफारिस गर्नासाथ धेरै भ्रष्टहरूको सातो उडेको छ।
खोरण्डेदेखि अख्तियारसम्मको यात्रा
२०१८ सालमा संखुवासभाको खोरन्डे गाउँमा मध्यमवर्गीय किसान परिवारमा प्रेमकुमार राईको जन्म भएको थियो। संखुवासभा सदरमुकामसँग जोडिएको छ, खोरन्डे गाउँ।
२०३५ सालमा संखुवासभाको खाँदबारीको हिमालय माविमा एसएलसीसम्मको पढाई पुरा गरे राईले। एसएलसी पास गरेपछि उच्च शिक्षाका लागि काठमाडौं आए। २०३६ सालमा शंकरदेव क्याम्पसमा आइकममा भर्ना भए। तर, उबेला आन्दोलनका कारण २०३९ सालमा मात्रै आइकम सकियो। मिनभवनबाट विकम गरे। २०४५ सालमा शंकरदेव क्याम्पसबाट उनले एमबिए सके।
२०४० साल साउन १ गते लेखापालमा नाम निकालेका उनको अध्ययनको क्रम चलिरहेको थियो। बीचमा आन्दोलन आदिका कारण नियमित पढाइ हुन सकेको थिएन। अध्ययनको अवधि लम्बिदै जाँदा घरबाट खर्च पठाउन समस्या भएपछि उनले जागिरको बाटो रोजे।
महालेखा परीक्षक अन्तर्गतको जागिर गर्दा उपत्यका बाहिर जान नपर्ने र काम सकिएपछि पढ्ने समय पनि पाइने भएका कारण उनले त्यो जागिर रोजेका थिए। त्यही क्रममा उनले २०४४ सालमा शाखा अधिकृतमा नाम निकाले। उपसचिवका लागि २०४९ सालमा लिखित प्रतिस्पर्धा गरे, त्यसमा पनि नाम निकाले। दिइएका परीक्षामा कहिल्यै असफल भएनन् राई।
राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री कार्यालय, आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र गृह मन्त्रालयमा सचिवको जिम्मेवारीमा काम गरे।
राई असाध्यै कम बोल्छन्। प्रष्ट र सिधा बोल्छन्। खस्रो बोल्छन्। सरल छन्। मितब्यायी छन्। हुने काम भए तत्काल गरिदिन्थे। तर हक्की छन्। ‘हुन्छ’ भने हुन्छ, भनी दिन्छन्, हुदैन भने सिधैं हुदैन भनी दिन्छन्। जे बोल्छन्, त्यही गर्छन्। कानुनले गर्न नमिल्ने काम जस्तासुकै दबाब आए पनि गर्दैनन्। यो उनको स्वभाव हो। ‘कर्मचारीले कहिल्यै पनि जनता र देशको समय बर्बाद गरी दिनुहुन्न,’ उनी यसो भन्ने गर्थे सचिव हुँदा।
राई गृह सचिबबाट अवकास लिदै गर्दा उनको बारेमा पत्रकार राजेश राईले लेखेका थिए, ‘राई सचिव बनेर जुन–जुन मन्त्रालयमा गए, त्यहाँ सुधार गरे। सम्बन्धित मन्त्रालयका उच्च अधिकारीका अनुसार उनी जहाँ–जहाँ गए त्यहाँ अमिट छाप छोडेर विदा भए। आफू जहाँ गए पनि सुधारको प्रयास गरेको उनी बताउँछन्। भन्छन्, ‘जहाँ अलि समय लिएर काम गर्ने अवसर पाएँ। त्यहाँ दीर्घकालीन रुपमा सुधार हुने गरी कामको शुरुवातको प्रयास गरें।’
उनले गरेका अनेकौ कामको लामो सूची छ। पछिल्लो समय गरिएको कार्यसम्पादन सम्झौताको अवधारणा ल्याउन पनि उनको भूमिका छ। मुलुकको समृद्धि र सुशासनमा कार्यसम्पादन सम्झौता निकै प्रभावी हुने उनको बुझाई छ।
२३ महिना राईले गृह मन्त्रालयमा बिताए। राईको २३ महिना गृह मन्त्रालयको कार्यकाल प्रभावकारी मानिन्छ। गृहमा उनले एउटा पद्धतिको सुरुवात गराएका थिए। गृहसचिव बनेर अबकास लिदै गर्दा राइले भनेका थिए ‘अब गृहमा पनि एउटा बेस तयार भएको छ। आउनेले इमानका साथ कामअघि बढाए धेरै ठूलो परिवर्तनको अवस्था आउनेमा म विश्वस्त छु।’
उतिबेला राईले राजीनामा दिएको समाचार बाहिर आए लगतै सामाजिक सञ्जालमा उनले हिँडेको बाटो पछ्याउने प्रतिबद्धतासहित भावुक स्टाटसहरु लेखिए।
सहसचिव केदार पनेरुले लेखेका थिए, ‘आदरणीय प्रेमकुमार राई ! प्रेरणाको श्रोत ! इमान्दारिता, कर्तव्यपरायणता, सदाचारीता र नैतिकताप्रति सधै अव्वल ! अबको दिनमा निजामती कर्मचारीले उहाँको पथ समाउन त्यसरी नै लाग्न सकेमा सफलता टाढा छैन !’
शाखा अधिकृत अनिल किराँतीले लेखे, ‘अघिकां कर्मचारीको अभिभावक आदरणीय गृह सचिव प्रेमकुमार राई सर निजामति सेवाको विशिष्ट श्रेणीबाट अवकास हुँदै हुनुहुन्छ। हामी निजामती सेवामा कार्यरत कर्मचारीहरुको रोल मोडल हो उहाँ। हामी उहाँकै मार्गमा हिँड्न खोजी रहेका छौ।
कर्मचारीतन्त्रप्रति अहिले त अत्याधिक नकारात्मक धारणाहरु छन् तर प्रेम सर जस्तो व्यक्तित्वले यसको शाख जोगाउनु भएको हामी मान्छौं। आदरणीय सरको आगामी दिन पक्कै समग्र प्रशासन र कर्मचारीतन्त्रलाई सुदृढ गर्ने पक्षमै रहन्छ र रहनेछ, थाहा छ। हामी प्रेम सरको इतिहास (हिजो, आज र भोलि) को भूमिकाप्रति गर्व गर्छौ। सरको उपस्थिति हाम्रो शक्ति थियो र हुनेछ। सरको योगदान हाम्रो कर्मको आधार हो। हामी सरको मार्गलाई पछ्याउँछौं। सरलाई सविनय सप्रेम शुभकामना।’
राजधानी दैनिकका सम्पादक सागर पण्डितले लेखे, ‘गृह सचिव राईको सेवानिवृत्तपछि निजामती प्रशासनले एउटा धरोहर गुमाउने महसुस गरेका छन्। उनीहरुको अनुभवमा निजामती क्षेत्र माली बिनाको फूलबारी जस्तै हुनेछ। निजामती प्रशासनभित्र एउटा भनाई नै छ राई जस्ता सचिव १० जना मात्रै हुने हो भने मुलुकको कायपलट हुन धेरै समय लाग्दैन।’
हो , तिनै प्रेमकुमार राई अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनेका छन्। सफल कार्यकालको शुभकामना छ, प्रेम सर। देशले तपाईबाट गरेको अपेक्षा पुरा गर्नुहुनेछ भन्ने सबैको विश्वास छ।