मजदुरले पाएनन् ज्याला

पाँच महिनादेखि ज्याला नपाएपछि भूजीखोलाका ७० मजदुर आर्थिक समस्यामा परेका छन्। बागलुङको ढोरपाटन नगरपालिकास्थित भूजीखोला पाँचौँ लघुजलविद्युत् आयोजना निर्माणमा खटिएका मजदुरले पाँच महिनादेखि ज्याला नपाएपछि समस्यामा परेका हुन्।

गत भदौ १७ गते राति आएको बाढीले उक्त जलविद्युत् आयोजनाको नहर र विद्युतगृहमा  ठूलो क्षति पुर्याएको थियो। ८४ किलोवाट क्षमता भएको आयोजनाका ७० मजदुरले २७ दिन लगाएर काम गरी पुनः सञ्चालनमा ल्याएका थिए। काम सकिएर विद्युत सञ्चालन भएको पाँच महिना पुगे पनि आफूले गरेको मजदुरीको ज्याला अहिलेसम्म नपाएको स्थानीय मजदुर ओमकार विकले बताए। विकले २५ दिनसम्म लगातार काम गरेको तर अहिलेसम्म पूरा ज्याला नपाएको गुनासो गरे।

“बाढीले बिजुलीको कुलो र पावरहाउसमा ठूलो क्षति गरेको थियो, गाउँकै युवा मिलेर करिब एक महिना काम गर्यौँ, बिजली छिट्टै नै बाल्यौँ, तर अहिलेसम्म पनि पूरा पैसा पाउन सकेको छैनौँ”, विकले भने, “काम गरेको पैसा नपाउँदा खर्च चलाउनै हम्मेहम्मे भएको छ।” मजदुरी गरेरै पाँच जनाको परिवार पाल्दै आएका विक काम गरेको पैसा नपाउँदा परिवार पाल्न समस्या भएको गुनासो  गर्छन्।

दिनको रु एक हजारका दरले पारिश्रमिक पाउने गरी सम्झौता गरेर महिना दिन काम गरेको भए पनि जम्मा रु नौ हजारमात्रै पाएको उनकाे भनाइ छ। काम गरेको पारिश्रमिक नपाएपछि विद्युत्गृहमा काम गरेका मजदुरले केही समय पहिले विद्युत्गृहमै तालाबन्दीसमेत गरेका थिए। तर केही दिनमै पारिश्रमिक दिन्छौँ भन्ने प्रतिबद्धतापछि एक दिनमै ताला खोलेको उनीहरुको भनाइ छ।

बाढी पसेर विद्युतगृहमा  क्षति पुगेपछि गाउँमा निरन्तर बत्ती नबल्दासम्म आफूहरुले खटेर काम गरेको भए पनि आयोजनाले पारिश्रमिक नदिएको अर्का मजदुर टेकबहादुर विकको गुनासो छ।

विद्युत्गृहको नहरमा भौतिक संरचनामा पुगेको क्षतिलाई सामान्य बनाउन २७ दिन काम गरेको उनकाे भनाइ छ। भूजीखोला पाँचौँ लघुजलविद्युत् आयोजनाका अध्यक्ष पदम घर्तीमगरले ऋण धन गरेर बाढीले क्षति पुर्याएको विद्युत् सञ्चालनमा ल्याएको भन्दै सरकारी निकायबाट सहयोग नहुँदा आफूहरु नै समस्यामा परेको बताउछन्।

अहिलेसम्म, वडा, नगरपालिका, प्रदेश र केन्द्रबाट कुनै पनि सहयोग नभएको दुखेसो पोख्दै अवलोकन गर्न आउने नेताहरूले आश्वासन मात्रै दिएको उहाँ बताउनुहुन्छ। सहयोग गर्छौँ भनेकाहरूले सहयोग नगर्दा मजदुरको पारिश्रमिक समयमा दिन नसकेको घर्तीले बताए। रासस

प्रकाशित मिति: : 2021-02-03 07:15:00

प्रतिकृया दिनुहोस्