‘बैशाख १७ को चुनाव गाह्रो होला जस्तो लागिसक्यो’

अनलाइनखबर

काठमाडाैं

२० माघ, काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आगामी बैशाख १७ मा चुनाव गर्न गाह्रो हुने बताएका छन् । यदि सर्वोच्च अदालतले चुनावमै जानु भन्यो भने पनि अब बैशाख १७ मा चुनाव गर्न नसकिने उप्रेतीको विश्लेषण छ ।

विगतमा निर्वाचन आयोगले सामान्यतया निर्वाचन तयारीका लागि न्यूनतम १२० दिन आवश्यक पर्ने बताउँदै आएको थियो । यसपटक केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर १७ र २७ बैशाखका लागि घोषणा गरेको निर्वाचनको मिति आउन ८७ दिन मात्र बाँकी छ । 

नेकपाको विवाद अनि सर्वोच्चमा विचाराधीन मुद्दाका कारण समय घर्किँदै जाँदा १७ बैशाखमा चुनाव हुन नसक्ने औंल्याउँदै यसलाई सार्न सकिने उप्रेती सुझाउँछन् ।

तथापि, सर्वोच्च अदालतले निर्वाचनमै जाऊ भन्छ भन्नेमा उप्रेती विश्वस्त भइसकेका छैनन् । उनी भन्छन्, ‘हामीले यो कुरा गरिरहँदा सर्वोच्च अदालतले निर्णय दिइसकेको छैन । यी सबै कुराहरू अदालतले निर्वाचनको पक्षमा निर्णय दिँदाका लागि हो ।’

घर्किँदै गएको समयसीमा बाहेक यसपटकको अर्को अप्ठ्यारो पनि छ, त्यो हो- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजन । नेकपा प्राविधिकरुपमा विभाजित भइसकेको पनि छैन । तर, व्यवहारिकरुपमा एउटै पार्टी पनि रहेन ।

निर्वाचन आयोगले दिएको मितिभित्र दुबै पक्षले दल विभाजनको आधिकारिकता दाबी नगरेको अवस्थामा नेकपाको विवाद सल्टाएर चुनावको तयारीमा लाग्नु आयोगका लागि फलामको चिउरा चपाउनुजस्तो भएको छ ।

प्रकाशित मिति: : 2021-02-02 23:13:00

प्रतिकृया दिनुहोस्