शेयरबजारमा नयाँ रेकर्ड, नेप्से सूचक ६५.४९ अंकले बढ्यो

बिएल संवाददाता

काठमाडाै‌ं

शेयर बजारमा नयाँ रौनक छाएको छ। मंगलबार होटेलबाहेक बाँकी सबै समूहको सूचकमा तेजी आएको छ। बिमा, माइक्रोफाइनान्स र अन्य समूहहरु थप चम्किएका छन्। 

नेप्से सूचक ६५.४९ अंकले बढेर २४७३.७३ विन्दुमा आइपुगेको छ। ८ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। २०० कम्पनीको १ करोड ५० लाख ६२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। निर्जीवन बिमा समूहको सूचक सबैभन्दा धेरै ६२६.२ अंकले वृद्धि भएको छ।

यसैगरी, अधिकांश बिमा कम्पनीहरुको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक हुने बेला भएको छ। बिमा कम्पनीहरुले तुलनात्मक रुपमा राम्रो कमाई गर्ने अनुमान पनि लगानीकर्ताहरुले गरिरहेका छन्।

यसैगरी, माइक्रोफाइनान्स कम्पनीहरुले पनि धमाधम रिपोर्टहरु सार्वजनिक गरिरहेका छन्। धेरैले आकर्षक हिसाबले नाफा विस्तार गरेका छन्। यसको सकारात्मक प्रभाव पनि सेयर बजारमा परेको आँकलन गरिएको छ। 

यस्तै, बिमा र माइक्रोफाइनान्स समूहका कम्पनीहरुको पुँजी तुलनात्मकरुपमा कम रहेकाले पनि आपूर्ति कम छ। यसको प्रभाव पनि बजार बढी पर्ने गरेको लगानीकर्ताहरुको भनाई छ। 

बिमा समितिमा नयाँ अध्यक्ष नियुक्त भएका छन्। नयाँ अध्यक्ष पाएसँगै लगानीकर्ता अझ उत्साहित भएको अनुमान छ।

यस्तै, बैंकहरुको भाउ तुलनात्मकरुपमा निकै सस्तो देखिएको छ। राम्रा बैंकहरुको भाउ पनि निकै कम भएकाले विस्तारै त्यतातिर पनि लगानीकर्ताको ध्यान आकर्षित हुन अपेक्षा गरिएको छ। पछिल्ला दिनहरुमा सेयर कारोबार रकमहरुमा पनि उत्साह देखिएको छ।

अनलाइन प्रविधि प्रयोगका कारण लगानीकर्तालाई सेयर खरिदबिक्रीमा निकै सजिलो भएको छ।

प्रकाशित मिति: : 2021-02-02 15:36:00

प्रतिकृया दिनुहोस्