तीन महिनाअघि माइतिघर मण्डलामा एक हुल कालो कपडाधारी युवतीहरु जम्मा भए। उनीहरुले आँखामा पनि कालो पट्टी बाँधेका थिए । सडकमा बाजा बजाउँदै उनीहरुले चोरऔंला ठड्याउँदै भने, 'तँ बलात्कारी होस्।' उनीहरुले कलात्मक तरिकाले आफ्नो मत प्रस्तुत गरे। बलात्कारीलाई फाँसी दिनुभन्दा सानैदेखि यौन शिक्षामा ध्यान दिन सरकारलाई कलाकै माध्यमबाट सुझाए।
त्यही माइतिघर मण्डलामै नाटक मञ्चन भये, 'प्रतिगमन।' नाटकमा कसरी जनताले निरंकुश शासकको कुर्सी खुस्काए र फेरी कसरी अर्को आएर जनताको अधिकारमा प्रतिगमन गर्यो भन्ने विषय सम्प्रेषित थियो। यो क्रम चल्ने क्रममा केही दिनअघि मात्रै टेकु पचलीघाटको खरीको बोटमुनि शिल्पी थिएटरको टोलीले नै अर्को नाटक मञ्चन गर्यो र सहिद शुक्रराज शास्त्रीलाई झुण्ड्याइएको क्षणको स्मरण गरायो। जसको यतिवेला विशेष अर्थ छ।
विरोधको अर्थ आफूलाई कुनैपनि अव्यवस्थाको विपक्षमा उभ्याउनु हो। त्यसमा फरक मत राख्नु हो। तर आन्दोलन नै गर्ने, टायर नै बाल्ने, इँटा नै प्रहार गर्ने खालका शास्त्रीय तरिकामा अभ्यस्त छौं हामी। धेरैले गरेको त्यही र देखेको पनि त्यही। तर आफ्नो फरक मत सिर्जनशील तरिकाले प्रस्तुत गर्ने अभ्यास हुन थालेको छ। रंगकर्मी घिमिरे युवराज र उनको नाट्य समूह कलामार्फत् विरोध प्रदर्शन गरिरहेको छ।
नागरिक माझ आफ्ना कुरा राख्ने र सही कुरा बुझाउने उत्कृष्ट माध्यम कला हो। त्यसलाई प्रयोग गरेर अहिले आफूले निरन्तर सरकारको खबरदारी गरिरहेको युवराज बताउँछन्। नागरिक समाजको प्रतिगमन बिरुद्धको शान्तिपूर्ण आन्दोलनमा छ। यसलाई कसरी कलात्मक बनाउने भन्नेबारे त्यहाँ छलफल भइरहन्छ।