खोप : थप अनुदान आस, खरिदमा अलमल

पर्शुराम काफ्ले / अर्जुन अधिकारी

भारतले अनुदानमा दिएको खोप अहिले धमाधम लगाइएको छ । चीन र बेलायतले पनि सीमित संख्यामा डोज दिने भनेका छन् । तर, खरिद गर्ने विषयमा भने अहिलेसम्म कुनै ठोस प्रगति भएको छैन । 

१८ वर्ष उमेर नपुगेका तथा विभिन्न स्वास्थ्य अवस्थामा भएका व्यक्तिलाई खोप लगाउन मिल्दैन । त्यसैले ७२ प्रतिशत नागरिकलाई मात्र खोप लगाउने सरकारी तयारी छ । यसरी दुई करोड १६ लाख जनतालाई दुई–दुई डोज लगाउन नेपाललाई चार करोड ३२ लाख डोज खोप आवश्यक पर्छ । तर, यो खोप जुटाउने विषयमा अहिलेसम्म कसैसँग पनि सहमति भएको छैन । 

अहिलेसम्म १० लाख डोज भारतबाट आएको छ, थप १० लाख भारतले र तीन लाख डोज चीनले दिने आश्वासन दिएका छन् । यसरी अनुदानमा २३ लाख डोज खोप आउने आशा भएपछि चार करोड नौ लाख डोज कहाँबाट कसरी जुटाउने भन्नेमा नेपाल सरकार अझै स्पष्ट भइसकेको छैन । 

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा. भीमसिंह तिङ्करीका अनुसार थप खोप खरिद गर्न भारतीय कम्पनी सेरमसँग छलफल भइरहेको छ । ‘भारतले अनुदानमा दिएको १० लाख डोज आएको छ, तर थप खोप खरिदका लागि सम्बन्धित कम्पनीसँग छलफल सुरु भएको छ । अहिले अनुदानमा आएको सिरम इन्स्टिच्युट अफ इन्डियाको कोभिसिल्ड हो । त्यही खोप ल्याउने विषयलाई हामीले उच्च प्राथमिकतामा राखेका छौँ,’ उनले भने । 

सबै जनतालाई तीन महिनामा खोप लगाउन सम्भव नभएको डा. तिङ्करीको भनाइ छ । ‘दुनियाँमा यसै पनि मागअनुसार खोपको उत्पादन भएको छैन । त्यसको खरिद, अयात र वितरणका आफ्नै प्रक्रिया छन् । अब तीनदेखि चार महिनामा सबै नागरिकलाई खोप लगाउन सकिन्छ भन्ने भन्ने अवस्था छैन,’ उनले भने । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पनि सबै जनताले खोप कहिलेसम्म पाउँछन् भन्ने यकिन गर्न नसकिने बताए । उनले तीन महिनामा सबै नेपालीलाई खोप लगाइसक्न भने सम्भव नहुने स्पष्ट पारे । ‘तीन महिनामा सम्भव छैन । यो विषय खोपको उपलब्धतामा भर पर्छ । खोप उपलब्ध भयो भने लगातार लगाउँदै जान सकिन्छ, सरकारले खरिदको योजना पनि बनाएको छ, तर उपलब्ध नै भएन भने कसरी गर्ने ?’ डा. गौतमले नयाँ पत्रिकासँग भने । 

सरकारले भारतबाट अनुदानमा आएको पहिलो चरणको खोप प्रयोगमा आएपछि मात्र दोस्रो चरणको अभियान सुरु गर्ने तयारी गरेको छ । पहिलो डोज लगाएको २८ दिनपछि मात्रै दोस्रो डोज खोप दिने हो । त्यसपछि मात्र खोप प्रक्रिया पूरा हुन्छ । त्यसैले दोस्रो चरणको खोप अभियान सुरु हुन नै अझै करिब डेढ महिना लाग्ने अवस्था छ । 

प्रकाशित मिति: : 2021-01-31 06:59:00

प्रतिकृया दिनुहोस्