शीतलहरको मार : बूढापाका र बालबालिकालाई बचाउनै मुस्किल (भिडियो स्टोरी)

नेपालको मध्य–तराई क्षेत्रमा तराई क्षेत्रमा चलिरहेको शीतलहरका कारण जनजीवन कष्टकर बनेको छ। बाक्लो हुस्सुसँगै बढेको जाडोले पर्सा–बारा–रौतहट लगायत मध्य–तराई क्षेत्रको जनजीवन अस्तव्यस्त भएको हो। 

करिब दुई सातादेखि घाम नलागेपछि यस क्षेत्रमा अत्यधिक जाडो बढेको हो।चिसोमा खासगरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन्। बाक्लो हुस्सुका कारण बिहान त बाहिर निस्कनै मुस्किल पर्नेगरेको छ। बिहान–बेलुका सडकमा सवारीसाधन गुडेकोसमेत देखिँदैन।

हुस्सुका कारण सडक दुर्घटनासमेत बढेको छ। जाडो र शीतलहरका कारण बालबालिकामा निमोनियाको प्रकोप बढी देखिएको छ। दमका बिरामी सङ्ख्या पनि बढेको चिकित्सकको भनाइ छ।

शीतलहरले जनजीवन अत्यन्त कष्टकर बन्दै गएको छ तर स्थानीय तहले जाडोबाट जोगिने पूर्वतयारी गरेको छैन। यसअघिका जाडोमा जस्तो दाउरा वितरण गरी चोक–चोकमा आगो समेत बालिएको छैन। 

त्यस्तै शीतलहरको प्रत्यक्ष मारमा दैनिक ज्याला–मजदुरी गर्नेहरु परेका छन्। घरबाट कारण बाहिर निस्कन नसकिने र काम पनि नपाइने भएका कारण छाक टार्नै मुस्किल भएको स्थानीयबासीको दुखेसो छ। 

दैनिक काम गरेर परिवार पाल्नेगरेको भन्दै करिब २ सतादेखिको शीतलहरका कारण काम नपाएको बाराको बारागढी गाउपालिका, दरुवागाउँका स्थानीयको भनाइ छ। 
वर्षेनी हुने शीतलहरबाट बचाउन भन्दै सरकारले ठूला कुरा गरे पनि आफूहरुलाई केही फरक नपरेको उनीहरुको दुखेसो छ। 

त्यसैगरी बालबालिकालाई ठण्डीबाट जोगाउनै मुस्किल भएको स्थानीयबासीको भनाइ छ। 

ठण्डीका कारण विद्यार्थीको पठनपाठनमा समेत बाधा भएको विद्यार्थीहरुको भनाइ छ। हुनेखानेलाई त खासै फरक नपरे पनि गरीब तथा दैनिक ज्यादा–मजदुरी गरी छाक टार्नेलाई भने शीतलहर काल बनेको छ। 

प्रकाशित मिति: : 2021-01-29 17:54:00

प्रतिकृया दिनुहोस्