भक्तपुर मध्यपुरठिमी–६ चपाचोका रमेश प्रजापती दम्पत्तिको दैनिकी माँटाका भाडा बनाएरै बित्छ। बिहानदेखि साँझसम्म उनको परिवारका सदस्यहरू माटो मुछ्ने, विभिन्न प्रकारका भाडा बनाउने काममा व्यस्त हुन्छन्।
विगत २५ वर्षदेखि उनी यही पेसामा छन्। माँटाका भाडा बनाएरै आफ्नो जीविकोपार्जन गर्दै आएका उनलाई पुस्ता हस्तान्तणको चिन्ता छ।
किनकि पुर्खौदेखि अंगाल्दै आएको पेसालाई नयाँ पिढीले अंगाल्न गर्न सकेका छैनन्।
“बुवा, हजुरबाले गर्दै आएको कामलाई नै मैले पनि अगाडि बढाए। तर, छोराछोरीलाई यो कामप्रति नै चासो छैन। मेरो घरमा म पछि यो पेसा गर्ने नै कोही हुनेछैन”, उनले भने।
चपाचोका जगतकृष्ण प्रजापतीले माटोका भाडा बनाउन थालेको झण्डै ४० वर्ष पुग्यो । उनले सानैमा आमाबाबुबाट माँटाका भाडा बनाउन सिकेका हुन्। त्यहिबेला सिकेको सिप प्रयोग गर्दै अचेल उनले आफ्नो जीविकोपार्जन गर्दै आएका छन्। तर, नयाँ पुस्ताले यो पेसाप्रति रूचि तथा चासो नदेखाउँदा पेसामा पुस्ता हस्तान्तरणको चिन्ता छ।
“म लगभग ७/८ वर्षको थिए होला। बुवाले गर्दै गरेको काम देखेरे मैले पनि गर्न थाले। त्यहिबाट काम सिकियो। फेरि यो काम भनेको हेरेर मात्र सिकिँदैन। त्यसका लागि काम गर्नैपर्छ । छोराछोरी यो कामप्रति चासो नै देखाउँदैनन्”, जगतकृष्णले भने।
बजारमा आएका नयाँ-नयाँ प्रविधियुक्त प्लाष्टिकका भाडाका कारण यसको माग पनि घट्दो छ। जसले गर्दा पनि नयाँ पुस्ता यो कामप्रति पूर्ण निर्भर हुन सक्ने अवस्था पनि छैन ।
“यो काम गर्न निकै समस्या छ। माटोसँग खेल्नुपर्छ। त्यो पनि काचो माटो। एक त यो फोहोर भयो। त्यसमा झन गाह्रो काम त्यसैले छोराछोरी यस्तो पनि काम गर्ने हो भन्दै तर्किन्छन्”, रमेशले भने।