जनमत कुल्चिएर पशुपतिको पाउमा

जनताको अमूल्य मतबाट निर्वाचित प्रतिनिधिहरूको सभा नै विघटन नै गरेका प्रधानमन्त्री केपी ओलीको सरकार नागरिकमाथि दमनमा उत्रिएको छ । प्रतिगमनविरुद्ध ‘बालुवाटार मार्च’मा निस्किएका अभियन्ताहरूमाथि लाठी र पानीको फोहोरा हानेर प्रहरीले कैयौँलाई घाइते बनाएको छ । 

सोमबार दिउँसो २ बजे बृहत् नागरिक समाजको अगुवाइमा ‘फ्लास मोब’का अभियन्ता, कमलपोखरी बचाऊ अभियान अगुवा कमलपोखरीमा जम्मा भएका थिए । पोखरीको पुरातात्विक पहिचान मासेर क्रंकिटको बनाउन लागिएको विरोधमा उनीहरूले कमलपोखरीको माटो उठाएर टीका लगाएका थिए । 

सयौँको संख्यामा उपस्थित अभियन्ताले माटोको टीका लगाएर प्रतिनिधिसभा विघटनविरुद्ध नारा लगाउँदै मार्चपास सुरु गरेका थिए । नक्साल हुँदै अघि बढेका उनीहरूको गन्तव्य थियो बालुवाटार । प्रधानमन्त्रीनिवासअगाडि सडकमा धर्ना दिने उनीहरूको योजना थियो । तर, हातमा लाठी बोकेका प्रहरी पनि सँगै गइरहेका थिए । अभियन्ता भने नारा लगाउँदै संयमित रूपम अघि बढिरहेका थिए । 

भाटभटेनीअगाडि पुुगेपछि मात्र अभियन्ताहरूलाई थाहा भयो, प्रहरीले ‘ब्यारिकेड’ लगाएर बालुवाटारतर्फको सडक अवरोध गरिसकेको थियो । नागरिक समाजले भाटभटेनीको पीपलबोटमा कोणसभा ग¥यो । ‘फ्लास मोब’का किशोरीहरूले केही क्षण नारा लगाए, गायक प्रदीप देवानले गोपालप्रसाद रिमालको ‘एक जुगमा एक दिन एकपटक आउँछ...’ बोलको गीत प्रस्तुत गरे । शिल्पी थिएटरले सडकनाटक प्रस्तुत गरेको थियो भने प्रणिका कोयूले कविता वाचन गरिन् । 

कोणसभामा बोल्दै मानव अधिकारकर्मी मोहना अन्सारीले सुरुमै प्र्रश्न गरिन्, ‘हामीलाई बालुवाटारको गेट हेर्नेसमेत अनुमति किन छैन ?’

संविधानको रक्षा नागरिकले गर्ने र नागरिकको रक्षा प्रहरीले गर्नुपर्ने भन्दै उनले सुरक्षाकर्मीलाई सोधिन्, ‘हामी कमलपोखरीबाट बालुवाटारसम्मको मार्चमा आएका हौँ । हामी शान्तिपूर्ण प्रदर्शनमा छौँ । तर, नागरिक अधिकारको रक्षा गर्न तपाईंहरूले सडक बन्द गर्नुभएको हो ? प्र्रहरी साथीहरूले जति छेकेर बसे पनि बालुवाटार जनताको हो, जनता त्यहाँ पुग्छन् ।’

प्रकाशित मिति: : 2021-01-26 08:20:00

प्रतिकृया दिनुहोस्