ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोविरुद्ध देशका आदिवासी नेताहरूले नेदरल्यान्ड्सको द हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालतमा मुद्दा दर्ता गरेका छन्।
कायापो आदिवासीहरूका नेता चीफ राओनी मेतुकतिरे र पाइतर सुरुइ आदिवासीहरूका चीफ आलमिर नारायामोगा सुरुइले शुक्रवार अमेजन वर्षावन नष्ट गरेको आरोपमा मानवताविरुद्धको अपराधमा मुद्दा दर्ता गरेका हुन्।
उनीमाथि अभूतपूर्व रूपमा वातावरणीय क्षति, हत्या र उत्पीडनको आरोप छ।
बोल्सोनारो जनवरी २०१९ मा राष्ट्रपति बनेदेखि अमेजन वर्षावनको विनाश ह्वात्तै बढेर गएको भन्दै द हेगमा मुद्दा दर्ता गरिएको हो।
वनविनाश वर्षको ३४.५ प्रतिशतले बढेको, विगत ११ वर्षमा आदिवासी नेताहरूको हत्या उच्च स्तरमा रहेको र वातावरणीय निकायहरू ध्वस्त बनाएकाे मुद्दामा उल्लेख गरिएको छ।
मुद्दा दायर गर्ने दुई आदिवासी नेताहरूले स्थानीय जनतालाई जबर्जस्ती अन्तै सार्ने र उत्पीडन गर्ने काम मानवताविरुद्धको अपराध भएको जिकिर गरेका छन्।