खोपको पहिलो खेप आज

अर्जुन अधिकारी

कोभिड महामारीविरुद्धको बहुप्रतीक्षित खोप अन्ततः नेपालमा आउँदै छ । छिमेकी भारतले अनुदानमा दिने १० लाख डोज खोप बिहीबार काठमाडौं आइपुग्दै छ । स्वास्थ्य मन्त्रालयका अनुसार भारतले दिने खोप बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक रूपमा नेपाललाई हस्तान्तरण हुनेछ । अक्सफोर्ड/एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप नेपाल आउन लागेको हो । 

सरकारले पहिलो चरणमा तीन प्रतिशत अर्थात् नौ लाख ११ हजार तीन सय ४२ जनालाई कोभिड– १९ विरुद्धको खोप लगाउने तयारी गरेको छ । तर, अहिले भने १० लाख डोज मात्रै आउन लागेकोले पहिलो चरणमा करिब चार लाखलाई मात्र खोप लगाउन सकिने स्वास्थ्य मन्त्रालयको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमको भनाइ छ । ‘यो खोप एकजनालाई दुई डोज लगाउनुपर्छ । त्यसैले सामान्यतया १० लाख डोजले पाँच लाख जनसंख्यालाई लगाउन पुग्ने हो । तर, १० देखि १५ प्रतिशत खोप प्रयोगमा आउँदैन,’ उनले नयाँ पत्रिकासँग भने, ‘एक भायलमा १० डोज खोप हुन्छ । हरेक भायल खोलेपछि तुरुन्तै सक्नुपर्छ । ६ घन्टापछि लगाउन मिल्दैन । त्यसबीचमा लगाएर सकिएन भने पनि त्यसलाई फाल्नुपर्छ । त्यसैले अहिले आउन लागेको खोप करिब चार लाख नागरिकलाई लगाउन सकिन्छ भन्ने अनुमान छ ।’

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बुधबार कोभिडविरुद्धको पहिलो खेप नेपाल आउन लागेको जानकारी दिएका हुन् । पहिलो चरणमा फ्रन्टलाइनका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्सचालक, जोखिममा रहेका सामाजिक अभियन्तालाई लगाइनेछ । 

प्रकाशित मिति: : 2021-01-21 11:03:00

प्रतिकृया दिनुहोस्