राष्ट्रिय गौरवको योजना अन्तर्गत सप्तरीको रुपनगर चोकदेखि उदयपुरको सिवाइसम्मको मदन भण्डारी मार्गको निर्माणकार्य अहिले तीव्ररुपमा भइरहेको छ ।
विसं २०७५ फागुन १ गते राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिलान्यास गरेकाे मदन भडारी मार्गको निर्माणकार्य तीव्ररुपमा भइरहेको स्थानीयवासी उत्तम अचार्यले जानकारी दिए ।
सो मार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–१२ रुपनगर चोकदेखि चर्खिया, बस्तीपुर, श्रवणपुर, पोडाहा खोला हुँदै उदयपुरको सिवाइसम्मको सडक निर्माण अहिले तीव्रगतिमा भइरहेको उनले बताए ।
आर्थिक वर्ष २०७७/७८ मा ठेक्का पाएका बजरङग कन्ट्रक्सन काठमाडाँैले चर्खियादेखि पोडाहा खोला श्रवणपुरसम्मको सडकखण्डमा कालोपत्रका लागि अहिले माटो खसाउने र ग्राभेलको काम शुरु गरेको छ । यस आर्थिक वर्षमा रु चार करोड ४० लाखको बजेटबाट बजरङ्ग कन्स्ट्रक्सन काठमाडाँैले तत्काल सो सडकमा मोटो भर्ने र ग्राभेलको काम सकेपछि कालोपत्र गर्ने योजनासाथ सडक निर्माण भइरहेको जनाएको छ ।
ती सडकमा अहिले टिपर र ट्र्याक्टरबाट माटो खसाउने काम भइरहेको छ भने कालोपत्रका लागि तयारी गरिएको कञ्चनरुप नगरपालिका प्रमुख वसन्त मिश्रले जानकारी दिए । रु एक करोडको ठेक्का पाएका नीरज जोशीले मदन भण्डारी मार्ग अन्तर्गत तिरमार्गदेखि शिवालय मन्दिर हुँदै चर्खियासम्मको करीब ७०० मिटरसम्म सडकमा माटो भर्ने र माटो मिलाउने काम शुरु गरिएको पाइएको छ ।
गत आर्थिक वर्ष २०७६/७७ मा रु एक करोडमा रुपनगर चोकदेखि शिवालय चोकसम्म करीब ७०० मिटर कालोपत्र सम्पन्न गरेको थियो । त्यपछि सो सडकखण्डमा बाँकी सडक निर्माण भइरहेको जनाइएको छ । रुपनगर चोकदेखि उदयपुरको सिवाइसम्म निर्माण भइरहेको सो मार्गको लम्बाइ १३ किलोमिटर छ । सो मार्ग रुपनगर चोकदेखि चर्खिया, वसन्तीपुर, पौडाहा खोला हुँदै उदयपुर जिल्लाको सिवाइ भएर पहाडी मार्गसम्म जोडिने छ ।
यसका लागि प्रत्येक आर्थिक वर्षमा बजेट विनियोजन भई ठेक्काका लागि सम्झौता अनुसार काम भइरहेको सडक डिभिजन कार्यालय लहानको भनाइ छ ।
यस क्षेत्रमा फराकिलो सडक बाटो बन्न थालेपछि स्थानीयवासीसमेत खुशी भएका छन् । सडक बाटोको अभाव खेप्दै आएका रुपनगरवासी अहिले सो मार्गको निर्माण देखेर स्थानीयवासी खुशी मात्रै होइन कि बाढी र वर्षाको समयमा नाङ्गे खुट्टा हिँडनुपर्ने बाध्यतसमेत अन्त्य हुन लागेको कञ्चनरुप नगरपालिकाका स्थानीयवासी राजकुमार साहले बताए । रासस