शंकर अर्याल
अन्तरदेशीय व्यापारमा लजिष्टिक सपोर्टका लागि एक दर्जनभन्दा बढी आयोजना अघि बढाइएको छ । उत्तरी तथा दक्षिणी छिमेकी राष्ट्रबाट हुने अन्तरदेशीय तथा तेस्रो मुलुकबाट हुने व्यापारका लागि सीमानाकाहरुमा एकीकृत जाँच चौकी (आईसीपी) र सुख्खा बन्दरगाह (आईसीडी) को निर्माण तथा स्तरोन्नति गर्न लागिएको हो ।
हाल यस्तो सेवाका लागि २ वटा एकीकृत जाँच चौकी तथा ४ वटा सुख्खा बन्दरगाह सञ्चालनमा आइसकेका छन् । ३ वटा एकीकृत जाँच चौकी र थप ३ वटा सुख्खा बन्दरगाहको निर्माणको प्रक्रिया अहिले अघि बढाइएको छ । थप केही आयोजनाको निर्माणका लागि प्रारम्भिक योजना समेत बनाइएको छ ।
हाल निर्माणका विभिन्न चरणमा ६ वटा परियोजना छन् । आईसीडी अन्तर्गत काठमाडौं चोभार, मुस्ताङको कोरला तथा रसुवाको टिमुरेमा सुख्खा बन्दरगाह निर्माणको अवस्था छन् । त्यस्तै, आईसीपी अन्तर्गत नेपालगञ्ज, भैरहवा र चाँदनी दोधारास्थित एकीकृत जाँच चौकी निर्माणको विभिन्न चरणमा रहेको समितिले जनाएको छ ।
निर्माण कार्य सम्पन्न भइ सञ्चालनमा रहेका वीरगञ्ज, भैरहवा, काँकरभिट्टा र तातोपानीस्थित सुख्खा बन्दरगाह तथा वीरगञ्ज र विराटनगरका एकीकृत जाँच चौकीको भने स्तरोन्नतीको प्रक्रिया अघि बढाइएको छ । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सञ्चालनमा रहेका आयोजनाहरुको क्षमता विस्तार गर्ने तथा अटोमेसनमा लैजाने प्रक्रिया अघि बढाइएको बताए ।