असुरक्षित देखिएकाे काेराेना खाेप भारतले नेपाल पठाउँदै

Photo: हिन्दुस्तान टाइम्स
Photo: हिन्दुस्तान टाइम्स

भारतले नेपाललगायत छिमेकी मुलुकलाई कोरोनाविरुद्धको खोप आज (बुधबार) देखि पठाउन सुरु गर्ने भएको छ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार अनुदानस्वरूप दिने भनिएकाे खोप जनवरी २० तारिख (आज) देखि आफ्ना छिमेकी देश भुटान, माल्दिभ्स, बंगलादेश, म्यान्मार, ससेल्ससहित नेपालमा पठाउन थालिने भएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘छिमेकी देशहरूबाट भ्याक्सिन उपलब्ध गराउन आग्रह गरिएको छ। बुधबारदेखि नेपाल, भुटान, माल्दिभ्स, बंगलादेश र म्यानमारलाई खोप आपूर्ति गर्छौं।’

सोमबार बसेको स्वास्थ्य मन्त्रालय, विदेश मन्त्रालय, वाणिज्य मन्त्रालय र औषधि विभागको संयुक्त बैठकले नेपाललगायत भारतका अत्यन्त नजिकका छिमेकी मुलुकमा सीमित संख्यामा कोरोना खोपको डोज पठाउने निर्णय गरेको थियाे। 

साेही निर्णयअनुसार आज माल्दिभ्समा खोप पठाइने र अन्य मुलुकमा पनि क्रमशः वितरण गरिने भारतको विदेश मन्त्रालयले जनाएको छ।

निर्णयअनुसार नेपाल, भुटान, सेसल्स, अफगानिस्तान र बंगलादेशलाई सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिसिल्ड खोप प्रदान गरिनेछ भने मंगोलिया, ओमान, म्यान्मार, फिलिपिन्स, बहराइन, मालद्वीप र मरिसियसलाई चाहिँ भारत बायोटेक कम्पनीले उत्पादन गरेको खोप पठाइनेछ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मंगलबार ट्विट गर्दैै बुधारबारदेखि मित्र राष्ट्रमा खोप आपूर्ति सुरु गर्ने जानकारी दिएका छन्। नेपालका अधिकारीले भने खोप आजै पनि आउन सक्ने तथा कम्तीमा यो हप्ताभित्र आइपुग्ने अपेक्षा गरेका छन्।

दुवै खोप सरकारी स्तरबाट सप्लाई गरिनेछ।  यसको चाँजोपाँचो भने परराष्ट्र मन्त्रालयले मिलाउनेछ। तर समाचारमा पठाउने समय र खोपको संख्या उल्लेख गरिएकाे छैन। अघिल्लो साता नेपालको औषधी व्यवस्था विभागले भारतको सिरम इन्स्टिच्युटमा उत्पादन भइरहेको अक्सफोर्ड एक्ट्राजेनेकाको कोभिसिल्ड खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो ।

नेपालले भने ६० लाख जनसंख्याको लागि कोभिसिल्ड भ्याक्सिनको माग गरेको छ । यसै साता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगै स्वास्थ्य सचिव लक्ष्मण अर्याल पनि भारत भ्रमणमा थिए । भ्रमणका क्रममा खोपको विषयमा पनि छलफल भएको थियो । 

तर भारतीय विदेश मन्त्रालयले भने आन्तरिक माग पूरा हुने निश्चित भएको कारणले मात्र छिमेकी मुलुकलाई खोप उपलब्ध गराउने उल्लेख गरेको छ।

भारत सरकारले जुन व्यक्तिलाई कोरोना खोपका लागि प्राथमिक समूहमा राखेको छ, उनीहरूले खोप लगाइरहेका छन्। खोप केन्द्रमा कार्यक्रम अधिकारीले उनीहरूलाई खोपका विषयमा जानकारी दिनेछन्। यस क्रममा यदि कसैले कोभ्याक्सिन लगाउन मानेनन् भने जबर्जस्ती गर्ने छैनन्।  

यता स्वास्थ्य मन्त्रालयले खोप आएको एक साताभित्रै लगाउन थाल्ने गरी योजना बनिसकेको जानकारी दिएको छ ।

दुई करोड ५० लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउन रुस तयार

रुसले नेपाललाई दुई करोड ५० लाख डोज कोरोना भाइरविरुद्धको खोप उपलब्ध गराउने जनाएको छ। 

रोयटर्सले रुसको सरकारी समाचार एजेन्सी आरआइए न्यूजलाई उदृत गर्दै उक्त समाचार प्रकाशित गरेको हो। 

आरआईएले रुसको विदेश मन्त्रालयका अनुसार ‘स्पुतनिक भी खोप’ नेपाललाई सकेसम्म चाँडो उपलब्ध गराउन तयार रहेको समाचार प्रकाशित गरेकाे छ।

रुसले उत्पादन गरेको ‘स्पुतनिक भी’ खोप रुस, बेलारुसलगायत देशमा लगाउन थालिसकिएको छ।

सुरक्षित छैन खाेप

भारतले उत्पादन गरेकाे खाेप लगाउँदा दुई जनाकाे मृत्यु भएकाे छ भने ६ सय जना विरामी भएका छन्।

कर्नाटक राज्यमा खाेप अभियान सुरु भएकै दिन खोप लगाएका ४३ वर्षीय बिरामीकाे खाेप लगाउनासाथ मृत्यु भएकाे हाे भने उत्तर प्रदेशकाे मुरादाबादमा ५२ वर्षीय व्यक्तिकाे भने खाेप लगाएकाे भाेलिपल्ट मृत्यु भएकाे भारतीय स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। उनले पनि शनिबार नै खाेप लगाएका थिए।  

पछिल्लाे व्यक्तिकाे पाेस्टमार्टम रिपाेर्ट आइसके पनि पहिलाे व्यक्तिकाे रिपाेर्ट आउन बाँकी छ।

रिपाेर्ट आएका व्यक्तिकाे मृत्यु खाेपका कारण नभई हृदयाघात र फाेक्साेमा समस्याका कारण भएकाे भारतीय मन्त्रालयकाे दाबी छ। अर्का व्यक्तिकाे मृत्युकाे कारण भने पाेस्टमार्टम रिपाेर्ट आएपछि मात्र थाहा हुने मन्त्रालयले जनाएकाे छ। 

भारत सरकारले गत शनिबारदेखि देशभर कोरोनाविरुद्ध खोप लगाउने अभियान सञ्चालन गरिरहेको छ। जुन अभियानलाई विश्वकै ठूलो खोप अभियान भनिएको छ।

पहिले भारत सरकारले प्रतिरक्षा प्रणाली कमजोर भएका वा यो बढाउन औषधि खाइरहेका बिरामीले पनि कोरोनाविरुद्धको खोप लगाउन सक्छन् भनेकाे थियाे।  

तर जब लगातार खोपका नकारात्मक असर (साइडइफेक्ट) देखिन थालेपछि भारत बायोटक कम्पनीले मंगलबार यससम्बन्धी विवरण सार्वजनिक गर्दै प्रतिरक्षा प्रणाली कमजोर भएका वा यो बढाउन औषधि खाइरहेका बिरामीले कोरोना खोप नलगाउन आग्रह गरेकाे छ।सबैभन्दा राम्रो निम्न समस्या छन् भने कुनै पनि खोप नलगाउने :

–कुनै पनि किसिमका एलर्जी छन् भने
–ज्वरो आएको छ भने
–रगतसँग सम्बन्धित कुनै विकार वा रगत पातलो बनाउने औषधि खाइरहनुभएको छ भने
–तपाईंको शरीरमा रोगप्रतिरोधी क्षमता कम छ वा यो बढाउने औषधि सेवन गरिरहनुभएको छ भने
–गर्भवती हुनुहुन्छ भने
–स्तपान गराइरहनुभएको छ भने
–कुनै अन्य खोप लगाउनुभएको छ भने

भारतीय सञ्चारमाध्यमका अनुसार यदि यस्ता व्यक्तिले खोप लगाए भने उनीहरूमा गम्भीर एलर्जीका समस्या आउन सक्छन्। 

तपाईं खोप लगाउन जानुभयो भने अब खोप कार्यक्रमका अधिकारीले पहिला केही कुरा साेध्नेछन्। जस्तै : तपाई अहिले कुनै रोगको औषधि खाँदै हुनुहुन्छ? यदि हो भने कति समयसम्म र कुन रोगका लागि?
 

प्रकाशित मिति: : 2021-01-20 08:20:00

प्रतिकृया दिनुहोस्