जनकपुरधाम : चार वर्षीया सबिना खातुन पछिल्लो समय स्कुल जान थालेको दुई साता भयो। एलकेजीमा पढ्ने उनी पहिलाजस्तो रमाउँदिनन्। न घरमै खुसी देखिन्छिन्। उनी पहिला दिदी गुलाब साह खातुनको हात समातेर पढ्न जान्थिन्। दिदीसँगै टिफिन खाने र स्कुलमा खेल्ने गर्थिन्। तर, अहिले उनी एक्ली भएकी छन्। दिदी एक्कासि कहाँ हराइन् ? सबिनालाई बुझ्न गाह्रो छ। दिदीलाई कसैले मारेको हो भनेर उनले घरबाटै थाहासम्म पाएकी छन्।
बर्दिबास–१४ शुभम् बस्तीकी ६ वर्षीया गुलाब महोत्तरीको बर्दिबासस्थित एक स्कुलमा यूकेजीमा पढ्थिन्। उनी मंसिर ८ गते घरबाट चकलेट किन्न गएपछि फर्केर आइनन्। बेपत्ता भएको ३६ घण्टापछि मंसिर ९ गते मध्यरातमा उनको शव बोरामा राखेर फालेको अवस्थामा भेटिएको थियो। बलात्कारपछि गुलाबको हत्या भएको प्रहरी अनुसन्धानले देखाएको थियो। बालिका हत्या आरोपमा गौशाला–५ का २५ वर्षीय अरुणकुमार साह पुर्पक्षका लागि थुनामा छन्।
गुलाबमाथि भएको हिंसाको प्रभाव सबिनाको कलिलो मनमा परेको छ। ‘हम्मर दिदीके टकला माइर देलकै।’ सबिनालाई दिदीबारे कसैले सोध्यो भने उनी आफ्नो तोतेबोलीमा यस्तो जवाफ फर्काउँछिन्।
‘गुलाबको हत्यापछि घरमा निकै तनाव र दुःखको अवस्था थियो। त्यो सबैको असर सबिनामाथि परेको छ’, बुवा सहिद आलमले भने । उनले भने, ‘बेलाबेला रुन्छे। दिदी कहाँ गई भनेर प्रश्न गर्छे। हामीले के जवाफ दिनु उल्टै भक्कानिन्छौं।’
यस्ता जघन्य हिंसा र यातनाबाट कुनै एक जना मात्रै पीडित नभई थुप्रै कलिलो मनमा यसको छाप पर्ने गर्दछ। जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाका विनोद पञ्जियार र सुनिता पञ्जियारकी १० वर्षीया छोरी कञ्चन गाउँकै स्कुलमा कक्षा २ मा पढ्थिन्। साथीहरूसँग खेल्दै घरछेउकै चउरमा भैंसी चराउन गएका बेला बेपत्ता भइन्। बलात्कारपछि हत्या गरिएको अवस्थामा असार १२ गते उनको शव फेला पर्यो।