नेपाली समाजमा मान्यजनले आफूभन्दा सानालाई आशीर्वाद दिँदा ‘भाग्यमानी भएस्’ भन्ने प्रचलन छ। विवाहित महिलालाई ‘सौभाग्यवती भवः’ भन्ने चलन पनि व्यापक छ। हिन्दु समाजमा सिन्दूरलाई सौभाग्यकै प्रतीक मानिन्छ। केही काम भएन वा बिग्रियो भने ‘भाग्यमा नभएको’ भनेर चित्त बुझाइन्छ। भाग्यसँगै कर्मको कुरा पनि उठ्छ। ‘कर्मै खोटो’ वा ‘भाग्य बिग्रिएको’ भनेर कुनै कुरा हुनु वा नहुनुको कारक मानिन्छ।
समाजको भाग्यवादी प्रवृत्तिको झल्को कला–साहित्य तथा गीत–संगीतमा पनि भेटिन्छ। अरुणा लामाले गाएको चर्चित गीत ‘पोहोर साल खुशी फाट्दा’मा ‘तेरो भाग्य यति नै हो भोगचलन गरिसकिस्’ भनेर नियतिलाई दोष मात्र दिइएको छैन, ‘भावीले निधारमा कर्म लेखिदिने मसी के हो ?’, ‘भाग्य तोक्ने कसी के हो ?’ भनेर भाग्यको गाथा नै गाइएको छ। तर, समाजमा गरिने यी र यस्ता भाग्यको कुराप्रति प्रश्न खासै गरिँदैन। लेखेको पाइन्छ, देखेको पाइँदैन भन्ने लेखान्तमा निर्भरताले मानवको अपार श्रम शक्तिलाई गिज्याए झैं लाग्छ। भाग्यको सहारा लिने प्रचलन र प्रवृत्तिले कर्मलाई अवमूल्यन गर्दै आएको छ।
परम्परागत सोचको खण्डन गर्दै नयाँ ज्ञान प्रकाश पार्ने गौतम बुद्धले ‘भाग्य’ भन्ने कुरालाई ठाउँ नै दिएनन्। उनले ‘कर्म’को पनि नयाँ भाष्य बनाई यसलाई व्यक्तिसँग सम्बन्धित भनेर बुझाइदिएका छन्। कर्म अनुसार फल हुने र यसमा कसैको हस्तक्षेप वा प्रभाव नपर्ने बताउनु बुद्धको दार्शनिक र क्रान्तिकारी अभिव्यक्ति हो।
कुनै अमूक शक्ति वा विधाताले सबैको भाग्य पहिल्यै निर्धारण गरिसक्ने र सोही अनुसार मानिसहरू जिउने परम्परागत मान्यताविरुद्ध बुद्धले त्यस्तो कुनै शक्ति हुँदै नभएको प्रष्ट पारे। वैदिक धर्म–दर्शन वा समाजमा मात्रै नभएर अन्य समाजमा पनि भाग्यको कुरा पाइन्छ। यी जम्मै मूल्य–मान्यता विरुद्ध बौद्ध दर्शनको सन्देश अन्तर्निहित छ।