केही दिनमै नेपालमा कोरोनाविरुद्धको खोप, सुरुमा फ्रन्टलाइनरलाई

थाहा खबर

काठमाडाैं

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमण देखिएको एक वर्ष पुग्दा सरकारले कोरोनाविरुद्ध खोप ल्याउन गरेको सम्पूर्ण तयारी पूरा गरेको छ।

नेपालले  कोभ्याक्सबाट आउने खोप ढिलो हुने भएकाले सरकार आफैंले खोप खरिद गरेर सुरुमा फ्रन्टलाइनमा खटिएका तीन प्रतिशत जनतामा खोप प्रयोग गर्ने तयारी थालिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब केही दिनमै 'सेरम इन्स्टिच्युट अफ इन्डिया' ले उत्पादन गरिरहेको कोभिसिल्ड खोप ल्याउने सबैखाले तयारी पूरा गरिसकेको छ।

जसका लागि मन्त्रालयले खोप प्रयोग गर्न चाहिने कोरोना निर्देशिकासमेत बनाइसकेको छ। मन्त्रालय स्रोतले भन्यो, ‘सबै तयारी भइसकेको छ अब एक दुई दिनमै आउँछ र कसरी लगाउने भन्न पूर्वाभ्यासका लागि ड्रिल गरिनेछ।‘

गत शुक्रबार औषधि व्यवस्था विभागले कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागि सशर्त अनुमति दिएपछि नेपालमा यही खोप आउने लगभग निश्चित भएको हो।

भारतमा शनिबारदेखि कोभिड खोप लगाउन सुरु भइसकेको छ। यस्तो अवस्थमा नेपालमा खोप कहिलेसम्म आइपुग्छ चर्चा भएको हो। यही खोप ल्याउन स्वास्थ्य सचिव लक्ष्मण अर्याल भर्खरै भारत पुगेर कोभिसिल्ड खोप उत्पादन गरिरहेको कम्पनीसँग सल्लाह गरेर आएका समेत बताइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाट ल्याउन लागेको कोभिसिल्डका लागि हाल  रेफ्रिजेरेटर भ्यानको समेत तयारी गरिसकेको बताइएको छ। हाल भ्याक्सिन स्टोरमा रहेका ९ वटा कोल्ड रुममध्ये २ वटा कोभिड भ्याक्सिन भण्डारणका लागि  छुट्याइएको बताइएको छ।

प्रकाशित मिति: : 2021-01-17 22:34:00

प्रतिकृया दिनुहोस्