कठैबरा, देउवा प्रधानमन्त्री पर्खिरहेको नेपाल !

Break n Links
Break n Links

दक्षिण देब्रे भएन भने अझै १४ महिना नेपालले खड्गप्रसाद शर्मा ओलीलाई प्रधानमन्त्रीका रूपमा ब्यहोर्नुपर्ने हुन्छ । उनको कार्यकालमा देशमा हुने भनेको  गफ मात्र हो र उनले गफ दिन्छन्, त्यसको प्रतिक्रियामा अरूले पनि गफ नै दिन्छन् । यस्तो स्थितिमा नेपालमा हुने भनेको गफ प्रतिस्पर्धा मात्रै हो ।

राष्ट्रिय गफाडीहरू त यो गफ–प्रतिस्पर्धामा सहभागी हुने नै भए, गफ गर्न नजान्ने पनि सफलताको सूत्र यही पो रहेछ भन्ने भ्रममा त्यतैतिर तानिन सक्छन् । तर, नेपालमा हुने गफ प्रतियोगितामा ओली अजय छन्, उनलाई कसैले पनि जित्न सक्दैन । गफमा उनलाई टक्कर दिने भनेको अर्का गफाडी रवि लामिछानेले हो तर उनी विवादास्पद विगतको भारीले उठ्नै नसक्ने गरी पछारिएका छन् । अहिले जेलको बास गराउने सहकारी प्रकरण मात्रै पनि सही निष्कर्षमा पुग्यो भने उनको राजनीतिक जीवन बाँच्न सक्दैन ।

कहिले जिब्रो मात्र चलाउने ओलीको पालो सकिएला र आफ्नो पालो आउला भनेर नचल्ने जिब्रो मिठ्याउँदै बसेका छन् देउवा । दक्षिणले उनलाई ओलीले पालो देलान् भनेर भर नपर्न र तुरुन्तै पाइने प्रधानमन्त्री पदका लागि अर्को १५ महिना नपर्खन भनेकोले हुनसक्छ, केही समययता उनको सत्ता छटपटी एकाएक बढेको देखिन्छ । यही कारण हुनसक्छ, यसअघि सिंगापुरमा उपचार गराउँदै आएका उनी फलो–अपका लागि भन्दै एक्क्सी बैंककतिर लागेका छन् । संयोग पनि यस्तो मिलेको छ कि श्रीमती आरजु पनि एउटा सरकारी कार्यक्रम मिलाएर उतै लागेकी छन् । स्मरणीय छ, केही समययता बैंकक नै दक्षिणसँगको सत्ता सौदाबाजीको ‘मिटिङ पोइन्ट’ बन्दैआएको छ ।

ढिलो होस् वा चाँडो, जिब्रो मात्र चलाउन मात्र जान्ने ओली गएपछि पालो आउँने भनेको जिब्रो नै नचल्ने देउवाकै हो । उनलाई प्रधानमन्त्री बनाउन प्रमुख प्रतिपक्षी दल माओवादी सुप्रिमो प्रचण्ड पनि तयार नै छन् ।

ओली पनि लगभग दिनहुँजसो १५ महिनापछि उनैलाई पालो दिने भनिरहेका छन् । संसदको अंकगणित पनि सबैभन्दा ठूलो दल कांग्रेसका संसदीय दलका नेता उनलाई नै प्रधानमन्त्री बनाउन सहज छ । नेपालको सत्ताका लागि महत्त्वपूर्ण मानिने दक्षिण पनि तुलनात्मक रूपमा उनकै लागि दाहिना हुन्छ । देउवाभन्दा ओली घातक हुने अर्थमा राप्रपा र रास्वपाजस्ता दलको सहानुभूति पनि देउवातिरै हुनु अस्वाभाविक हैन ।

देउवालाई प्रधानमन्त्री हुनबाट रोक्ने एउटा झिनो सम्भावना भनेको अहिले नेतृत्वमा रहेका ओली, प्रचण्ड र नेपाल पछाडि बसेर एक सर्वसम्मत वाम युवा नेताको नेतृत्वमा वामपन्थी पार्टीहरूको एकता नै हो । एमाले, माओवादी र नेकपा एस मिलेमा नेपालमा वामपन्थी प्रधानमन्त्रीको सम्भावना सधैँ रहन्छ, यसपटक पनि छ । तर, ओली प्रचण्ड र नेपाल बाँचुन्जेल त्यस्तो सम्भावना लगभग छैन भने पनि हुन्छ ।

यही बीचमा विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा पुनः प्रवेश गरेर आशाको त्यान्द्रो बन्लिन् कि भन्ने झिनो सम्भावना देखिदैछ । यसै पनि राजनीतिमा असम्भव केही हुँदैन र अझ त्यसमाथि पनि नेपाली राजनीतिमा त रात रहे अग्राख पलाउन सक्छ ।

तर, त्यो सम्भावना लगभग छैन भने पनि हुन्छ । त्यसैले विद्यमान तमाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचकहरूलाई आधारमा अबको प्रधानमन्त्री देउवा नै हुन् भन्ने लगभग तय छ । यसपटक उनी पहिलो पटक हैन, छैँटौपटक प्रधानमन्त्री हुने हुन् ।

जतिपटक प्रधानमन्त्री भए पनि देउवाबाट केही राम्रो होला भन्ने अपेक्षा कसैले गर्दैनन् । अरूले त गर्दैनन् नै, स्वयं काँग्रेसीहरू पनि गर्दैनन् । उनीहरू त यति मात्र कामना गरिरहेका हुन्छन् कि राम्रो नगरे पनि नराम्रो नगरिदिए हुन्थ्यो ।

उनीहरूमा एउटा जबरजस्त डर पनि छ कतै पहिलाजस्तै ज्ञानेन्द्रलाई भित्राएर कांग्रेस नै सक्ने त हैनन् ? तर, सँगसँगै उनीहरूलाई एउटा आशा पनि छ कि यो उनको राजनीतिक बिदाइ हो । त्यसैले पनि उनले राम्रो राजनीतिक बिदाइ लिन सक्छन् । कांग्रेस पार्टीभित्र उनलाई मन पराउने र मन नपराउने दुवैथरि काँग्रेसीहरू उनको बिदाइ कार्यकाल राम्रै भए हुन्थ्यो भन्ने चाहन्छन् ।

देउवा नेपाली राजनीतिका एक आयाराम गयाराम पात्र नै हुन् । उनलाई कुनै राम्रो कामको लागि नेपाल र नेपालीले सम्झनुपर्ने कारण नै छैन । उनलाई सम्झने भनेको नेपाली राजनीतिमा विकृति भित्राउने र अझ त्योभन्दा पनि बढी ज्ञानेन्द्रलाई सत्ता बुझाउने एक नालायक प्रधानमन्त्रीका रूपमा मात्रै हो ।

महाकाली सन्धि, प्राडो–पजेरोलगायतका विकृतिहरूको लामो फेहरिस्त नै जोडिन्छ उनीसँग । उनलाई माध्यम बनाएर पत्नी आरजु नेपालकै एक नम्बर बिचौलिया बनिन् । आरजुलाई गणतन्त्रकी पम्फादेवी भन्नेहरूको कमी छैन । यो सबै देउवाकै कारण भएको हो र यसको मूल दोषी कोही हो भने त्यो देउवा मात्रै हुन् ।

देउवासँग नेपाल विद्यार्थी संघको टिके सभापति भए बाहेक कुनै राजनीतिक इतिहास पनि छैन । २०४६को होस् वा २०६२÷०६३को जनआन्दोलन, देशमा आमूल परिवर्तन ल्याउने यी दुवै आन्दोलनमा उनको निर्णायक भूमिका त के, सक्रिय सहभागिता पनि छैन । उनको सोच र कोण पनि अग्रगामी छैन । उनीसँग न कुनै सोच छ, न दृष्टिकोण । न केही गर्छु भन्ने चाहना नै देखिन्छ उनको अनुहारमा ।

तर, यी सबै भएर पनि देउवाले काँग्रेसमा कोइराला राजनीतिक वंशबादलाई चुनौति मात्र दिएनन्, एक किसिमले किनारा नै लगाइदिए । यसको पछाडिको मूल कारण कोइरालाहरूको पेलानमा परेका सबै काँग्रेसीहरू एक हुनु थियो । देउवा त त्यसको मोहरा मात्र थिए । उनको अतिरिक्त तागत चाहिँ सुदूर–पश्चिम भूगोलको प्रोक्सिमिटी हो । राजनीतिक दलको घेराभन्दा माथि उठ्ने सुदूर–पश्चिम आफैँमा एक गजबको प्रोक्सिमिटी हो ।

कांग्रेसको नेतृत्वमा देउवा पुग्नु नै कांग्रेस दुर्दशाको प्रमुख कारण हो । यसबाट कांग्रेस त पत्रु भयो नै, त्यसको ट्रिकल–डाउन असर अरू राजनीतिक दलमा पनि पर्यो । नेपाली राजनीतिको मूल्य, मान्यता र सिद्धान्त स्खलित हुनुको एक मुख्य कारण यो पनि हो ।

प्रकारान्तरमा नेपालका अरू मुख्य राजनीतिक दलहरूले पनि देउवाकै हैसियतका शीर्ष नेताहरू पाए । अहिले उनीसँगै उभिएका ओली र प्रचण्ड पनि उनीजस्तै नालायक हुन् । यी तीन नालायकको सिन्डिकेटले नै देश अहिलेको बरबाद स्थितिमा पु¥याएको हो ।

यी तीन नालायकले आआफ्ना दलको राजनीतिक इतिहास र विरासत कहिल्यै माथि नउठ्ने स्थितिमा पु¥याए । त्यति मात्र हैन, राजनीतिलाई एक घिनलाग्दो व्यापारको रूपमा परिभाषित गरे । राजनीति भनेको पद, पैसा र तथाकथित प्रतिष्ठा प्राप्तिको भ¥याङ बनाइयो ।

अझ, डरलाग्दो कुरा त के पनि भयो भने राजनीतिको अपराधीकरण हैन, अपराधकै राजनीतिकरण गरियो । आज हरेक दलमा वैचारिक नेताहरू हैन, मनी र मसलको रजगज छ । हरेक पार्टीको लागि दीपक मनाङे अपरिहार्य भएको दृश्य नेपाली राजनीतिको पछिल्लो मानक हो । यस्तो घृणित राजनीति नै नीतिहरूको राजा भएको देशको भविष्यप्रति कसरी ढुक्क हुन सकिन्छ र ?

देशमा सत्ताको नाममा अनेक प्रयोग भए । अहिले संसदको पहिलो र दोस्रो ठूलो दलको लगभग दुई–तिहाइको सरकार छ । संसदीय परिपाटीसँग पटक्कै मेल नखाने यो भद्दा सत्ता समीकरणले पनि माखो मार्न सकेको छैन । देशको अवस्था अझ दयनीय भइरहेको छ । ऋण बढेको बढै छ । देश छोड्नेको ताती घट्ने कुनै संकेत छैन, बरु उल्टै लम्बिँदो छ । त्योभन्दा पनि ठूलो सकस त देशमा भविष्य छैन भन्ने भाष्य यथार्थमा परिणत भइरहेबाट मिलेको छ । जनतामा कुनै आशा जाग्न सकेको छैन । बरु उल्टै निराशा चुलिँदै छ । त्यो निराशा विरोधमा परिणत हुने सम्भावना बढ्दो छ ।

आज सर्वत्र विरोधको निशानामा कोही छन् भने ती ओली, देउवा र प्रचण्ड नै हुन् । जनता यी तीन नालायकलाई बिदा दिन चाहन्छन् । त्यसका लागि प्रपञ्च मिलाउने उनीहरूका दलले नै हो । तर, ती दल उनीहरूकै प्राइभेट लिमिटेड कम्पनीजस्ता भैसकेका छन् । नेता र कार्यकर्ताहरूको हैसियत पनि हुक्के, चिलिमे, ढोकेभन्दा उपल्लो छैन । अझ यसो भन्दा पनि ती पार्टीहरूमा अब भक्त हैन, अन्धभक्तकै रजगज भैसकेको छ ।

काँग्रेसमा त अलि अलि देउवाको विरोधमा बोल्न पनि पाइन्छ तर एमाले र माओवादीको आन्तरिक लोकतन्त्रको अवस्था त हरितन्नम नै छ । त्यहाँ त बोल्ने कुरै छोडौँ, मुख बाउन पनि वञ्चित छ। केही मुख बाउनेहरूको मुख पनि साम, दाम, दण्ड, भेदको सियोले सिएर बाँकीमा एक किसिमको त्रासको खेती गरिएको छ । फलतः बोल्नुपर्ने बाँकी पनि मुख सिइने डरले बोल्न सकिरहेका छैनन् ।

भनाइ नै छ, अति भएपछि खती हुन्छ । त्यसैको परिणाम हो, नेपाली जनताले गरिरहेको विकल्पको खोजी । उनीहरू चाहन्थे, सम्बन्धित दलहरूले नै ओली, देउवा र प्रचण्डको विकल्प दिउन् । पटक पटक मौका दिँदा पनि उनीहरूको कानमा बतास लागेन । त्यसपछि उनीहरू एकपछि अर्को विकल्पमाथि प्रयोग गर्न बाध्य छन् । एकपटक बालेन, हर्क र गोपीको स्वतन्त्र विकल्प पनि हेरे । त्यसलगत्तै त्यही स्वतन्त्र नाम राखेको रवि लामिछानेको स्वतन्त्रको विकल्प पनि हेरे । तर, यी दुवैखाले विकल्पहरू पनि भरपर्दा भएनन् । त्यसपछि के गर्ने त ?

शायद उपायविहीन भएर होला, उनीहरू ज्ञानेन्द्र विकल्प होलान् कि भन्ने सोच्न थालेका छन् । हो, यो कुनै पनि हालतमा उत्तम त के, तन्नम विकल्प पनि हैन । तर, पनि कतै ‘वाध्यताको नाम राम’ भन्ने अवस्थातिर त देश अगाडि बढिरहेको छैन ? अवस्था सोचनीय छ ।

यो अवस्थाका बारेमा सत्ताका चतुर खेलाडी ओली, देउवा र प्रचण्ड अनविज्ञ हुने कुरै भएन । शायद यसैले होला, फेरि यी तीनैजना वालुवाटारमा भेला भएर चोचोमोचो मिलाउँदै गरेको तस्बिर सार्वजनिक भएको छ । अझ, लाज पचाएर उनीहरूले गणतन्त्रविरूद्ध गरिने सबै आन्दोलनलाई निस्तेज पार्न एकमत भएर लाग्ने पनि भन्न भ्याइसके । अझै पनि यी तोरीलाहुरेहरू आफूविरूद्धको जनआक्रोशलाई गणतन्त्रविरूद्धकै आक्रोश भनेर जनतालाई घाँस हाल्ने प्रयास गरिरहेका छन् । यिनीहरूको यही कुमति जारी रहने र तिनीहरूका दल पनि उनीहरूसँगै सती जाने हो भने नेपालमा विद्रोह टाढा छैन ।

घुम्दै फिर्दै रूम्जाटार भनेझैं फेरि नेपाल जिब्रो मात्रै चलाउने ओलीको ठाउँमा जिब्रो नै नचल्ने देउवाको प्रधानमन्त्रीत्व भोग्न अभिसप्त छ । देउवाको यो छैटौपटकको सत्तारोहण नेपाली जनताको न अपेक्षा हो, न चाहना । यसले न कुनै आशाको सञ्चार गराउँछ, न देशमा केही हुन्छ भन्ने विश्वास नै जगाउँछ । यस्तो जान्दाजान्दै पनि देश त्यही दिशामा धकेल्ने लिँढेढिपी गरिरहने हो भने गणतन्त्र नै धरापमा नपर्ला भन्न सकिन्न । बाँकी त समयको ऐनाले देखाउने हो, बाँच्नु मात्र पर्छ, बाँचे देखिन्छ ।

प्रकाशित मिति: : 2025-04-26 03:59:00

प्रतिकृया दिनुहोस्