फरक विचार बोकेर
बेग्लै सिद्धान्तको
नूतन घुम्टो भित्र
सुनौतीका प्रश्नहरूले
उत्तर खोज्ने छन्
तिमी र मसँग
आफ्नो हिस्सा माग्ने छन्
जीन्दगीको बिच मार्गमा।
मार्न पल्केका
बिना हतियार रेट्न पल्केका
ती जनावरहरूले
तिमी र मलाई
मार्दैनन् भन्ने
कुनै विकल्प नै छैन।
हिजो एउटै आँगन भित्र
आत्मीयताको भाव बोकेर
चंगा जस्तै उड्ने रहर
आज चुँडिएको छ
तिम्रो लोचनको अगाडि
लट्टाको डल्लो
वर्षौदेखिको प्यास मेटाउन
कहाँ सकिन्छ र
आँसुका धाराहरूले
जीवनको तिर्सना!
अमृतको अपेक्षा गरेर
विष बनाउने चेष्टा गरेका
ती बनैयाहरूलाई
राँको लिएर लखेट्नु पर्छ
यो देशबाट
यो राष्ट्रबाट
यो समाजबाट
तिमी र मैले
एकताको माला उनेर
विरताको भाव बोकेर!
नांगिएको गगन भित्र
नांगिएर हिँड्ने
यस्ता पाखण्डिहरू
बाँचेर पनि केही हुँदैन
मात्र पृथ्वीको भार हुन्
संसारको धब्बा हुन्
समाजको कोहाहल हुन्
र राष्ट्रको दुच्छर हुन्
यस्तालाई आजैबाट लखेट्नु पर्छ
तिमी र मेरो आँगनबाट!