‘तुम जसरी भया लगै आइग्या हामरी गहनान’ । उक्त वाक्य लिएँ– रमेशबहादुर बलायरको फेसबुकको भित्तोबाट । यो वाक्यले क्षणभरका लागि बनाइदियो नोस्टाल्जिक । नौ–१० कक्षामा पढ्दाताका गृहकार्य नगरेबापत वा बदमासी गरेबापत ईश्वरी पन्त सरले दिने सजाय भनेकै प्रायःजसो कान निमोठ्ने र चिमोट्ने कार्य हुन्थ्यो ।
यसरी सजाय दिने क्रममा बानेडुङ्ग्रीसैनका केटाहरुलाई ठट्टालु पारामा भन्ने गर्नुहुन्थ्यो, ‘मनमनै त तँ भनिराखेको होलास्– आइजाल्लै मेरी गहनान । नै आउन्या हुँ ला तेरी गहनान ।’
गहनान भन्नासाथ धेरै कुरा आइदिन्छन् सम्झनामा । पौष मसान्तअगावै वनमा तरुल कोर्न जानेदेखि अरुसँग ज्याकेट जुत्ता मागेर लगाई जाने गरेको थुप्रै घटनाहरु छन् सम्झिनयोग्य ।
डडेल्धुरा र डोटीको सीमा नजिकै देखिन्छन् सेती नदीका छालहरु । तिनै सेती नदी हुन् जसलाई स्कन्दपुराणको मानसखण्डमा सीता नदी भनेर उल्लेख गरिएको पाइन्छ । सुदूरपश्चिममा नदीलाई गङ्ङा पनि भनिन्छ । गङ्ङामा गरिने स्नानलाई गङ्ङास्नान भनियो । पछि त्यही शब्द अपभ्रषित हुँदै गहनान हुन गयो ।
मकर संक्रान्तिका दिन ठूलो मेला लाग्ने प्रसिद्ध तीर्थस्थलका रुपमा चिनिने उक्त क्षेत्रको नाम नै गहनान रहन गयो । पुराणमा तिनै सीता नदी र शाकिल्या नदी (शाकिल्या ऋषिले तपस्या गरेको ठाउँ, अहिलेको सकायल गाड) को संगमलाई पवित्र तीर्थस्थल मानिएको छ । जहाँ अवस्थित छन् देवताका मन्दिरहरु । नदी किनारमा पुस मसान्तमा मेला लाग्थ्यो ।
ठूल्ठूला मुढा पोलेर रातभर डेउडा गीतमा सवाल जवाफ गरेर र सुनेर रात बिताउँथे कैयौँले । त्यति बेला विशेषतः त्यहाँका स्थानीयले गहनान आउन रैवार पठाउँथे– ड्यौडियाहरुलाई । अनि एक ठाउँको ड्यौडियाले अर्को ठाउँको ड्यौडियालाई भन्ने गर्थे– ‘यो वर्ष गहनान जाऊँ वइ (उतै) मनका जसो गरिबट आऊँ पन ।’
त्यहाँ ‘मनका जसो गरिबट आऊँ पन’ भन्नु भनेकै रातभर डेउडा गीतका माध्यमबाट सवाल जवाफमा पोखिएर आऊँ । मनको इच्छा पूरा गरेर आउँ भन्न खोजिएको हो । गहनाननजिकको गाउँ बानेडुङ्ग्री सैनमा पनि थिए नाम चलेका गीतेरु अर्थात् गिताङ्गेहरु । तिनै गिताङ्गेले पठाउँथे अन्य क्षेत्रका गिताङ्गेहरुलाई रैबार ।
त्यहाँका चर्चित गिताङ्गेहरु थिए– देउराम बलायर र गंगाराम बलायर । छुट्टै हुन्थ्यो– त्यति खेरका ड्यौडियाहरुका गीत र खेलको रौनक । ओजपूर्ण शब्दहरु प्रयोग गरिएका ती गीतका पंक्तिहरुले काव्य नै बोकेका हुन्थे । पछिल्लो समय केही वर्ष बुवाको बिँडो थाम्न (स्थान ओगट्न) देखापरे गंगारामका छोरा मानबहादुर बलायर पनि । ती दिन त्यो समय एक इतिहास बनिसक्यो । तर, त्यो इतिहास पनि आएन लिपिबद्ध भएर । मात्र मौखिक रुपमा सीमित रह्याे ।
माघे संक्रान्ति त अमेरिकामा बस्ने नेपालीले पनि मनाएकै छन् । तील, गुढ, सख्खरजञ्ज, तरुल खाएकै छन् तर यहाँको जस्तो हावापानी, आँगन, परिवेश कहाँ पाउनु त्यहाँ । त्यहाँ देखिदैन गहनानको मेला पनि । पाइँदैन सेतीका छाललाई स्पर्ष गर्न पनि ।
त्यति बेलै मनन् गर्न सकिन्छ– जन्मभूमि, कला, संस्कृति र सभ्यताको बारेमा । त्यसैले त बाँचुन्जेल जीवनमा निको नहुने दाग बनाइदिन्छ विगत । त्यही दाग हृदयपूर्वक चिलाउँछ बेलाबखत सम्झनाको घाउ बनेर । जसको छैन कतै कुनै ओखती । जुन कुरा समेटेर वर्षौंअघि गीत गाइन्– गायिका डीक्रा देवीले पनि:
परदेशीले बाटो नाप्यो छाप छोडेर पाउको
कोइ छौ कि औषधि गर्ने जिन्दगीका घाउको ।
जिन्दगीको मोडैपिच्छे ठाउँ बनाएको छ– मध्य तथा सुदूरको लोकसाहित्य र संस्कृतिले । हाम्रो आफ्नो भौगोलिक धरातल भन्नु नै त्यही लोकसाहित्य र संस्कृति हो । जहाँ हरेक स्थानमा उपस्थिति जनाएको छ जिन्दगीले ।
संस्कृति भनेकै जीवन र कला दुबै हो । हामी जति हाम्रो कला र संस्कृतिको व्यवास्था गर्छौ त्यति नै मात्रामा बोकिरहन्छ जिन्दगीले विगतका सम्झनाका प्रेमिल धर्साहरु । हृदयपूर्वक त्यति नै सम्पन्न पनि हुन्छौँ हामी ।
धेरै पछि आज सम्झिरहेछु, सोचिरहेछु अनि निकै नै मनन् गरिरहेछु एकान्तमा विगतका दिनहरु । केलाउँदै छु सपनाको बिस्कुन अनि अवलोकन गर्दैछु यो जगतका मठाधीशहरुको व्यवहार । जिन्दगीको मोडमा आइलागेका झमेलाहरु । हिजो आफ्ना बनेकाहरुको अहिले देखाउने गरेको व्यवहार । राज्यव्यवस्थाको प्रहसन आदि ।
मलाईजस्तै विगतले सम्झाए होला, झक्झकाए होला र त गहनानको पूर्वसन्ध्यामै नोस्ट्याल्जियामा हराउन मन लाग्यो होला कुइरेको देशमा रहेका रमेशबहादुर बलायरलाई पनि । परिणामस्वरुप लेखे हुनन् उनले पनि फेसबुकको भित्तामा– ‘मेरा गहनान स्मरणका यी अंशहरु झन्डै ३०–३५ वर्षअगाडिका हुन् तर ठ्याक्कै उस्तै छन् मानसपटलमा ।
बिउँतिन्छन्– कहिलेकाँही यिनीहरु मन बेस्सरी बिरक्त्याउने र खल्बलाउने गरी । समयले धेरै ठूलो फड्को मारिसक्यो । त्यसयता धेरै ठूला–ठूला परिवर्तनहरु भए ।
मेरो आफ्नै जीवनमा पनि धेरै ठूलो परिवर्तन भएको छ, कमसेकम आधि उमेर ढल्कि नै सक्यो । गहनानको मेला जान नपाएको पनि वर्षौं भयो । स्वभाविक रुपमा मानिसका चाहना र जीवनशैलीहरुमा निकै परिवर्तन आइसकेको छ । अहिलेको गहनान मेला धेरै अर्थमा निकै फरक छ होला ।
फेसबुकको भित्तामा धरै कुरा लेखेका छन्– उनले विगतको गहनान मेलाका बारे । बलायरले भनेझैं अचेल गहनान मेला धेरै अर्थमा फरक छ । बिहानै गाडीमा आउँछन् भक्तहरु र स्नान गरेर फर्किहाल्छन् । साधुशन्तहरुको उपस्थिति पनि निकै न्यून देखिन्छ । मुडा पोल्ने र रात बिताउने चलन नै हराइसकेको छ । २५ वर्षपछाडि यो वर्ष मेला हेर्न जाने संयोग जुरेको थियो मेरालागि ।
बलायरले सम्झाएको मरिच अदुवा राखेर पकाएको त्यो कालो चिया भेटिएन कहीँकतै पनि । पुराना दिनका जस्ता टेपरेकर्डरमा डेउडा गीत बजेको सुन्न पाइने कुरै भएन । डेउडा खेल देखिएन ।
बिहान स्नान गरेर फर्केपछि आगो ताप्दै छोरीबेटीलाई तील गुढ र दक्षिणा दिइरहेका भक्तजनहरु देखिएनन् । न त देखिए पुस मसान्तमा पकाएको निसोसे, माडा, पुरी जस्ता परिकारहरु माघे संक्रान्तिका बिहानै तताइरहेका, चपाइरहेका अनुहारहरु ।
हजारौं मान्छेहरुले भरिभराउ हुने मेला सम्झिएँ अनि मेरो सामुन्नेको मेला हेरिरहेँ । त्यहाँ मुस्किलले दुई सय जना हुँदा हुन् । मान्छेले भरिभराउ बगरलाई क्यामेरामा कैद गर्ने इच्छा अधुरै रह्यो । मेरो घाँटीमा झुण्डिएको क्यामेराले मलाई गिज्याएझैं लागिरह्यो सडक किनारका होटेलमा माघेसंक्रान्तिको बिहान घाम नझुल्किदै रक्सिका बोतल रित्तयाइरहेका अनुहारहरु देखेर । अनि सम्झिनामा आउन थाले विगतमा सुनेका डेउडा गीतका दुई पक्ति:
विजुली बर्माका देश याँ बिजुली काँ छ
तमी खोज्दा उइलका जसो ऐले उसो काँ छ ।
छल्किरहेका सेतीका ती छालहरूले मनभरि यादका तरङ्गहरू फ्याकिरहे । देखिएन नजिकमा यादैयादले चिरिएको मुटुको धड्कन छाम्नसक्ने विगतको जस्तो प्राकृतिक सौन्दर्य । आइदिएन स्नेहिल पाराले सुम्सुम्याएर जाने चिसो बतास पनि । निकै बेरसम्म एकोहोरो हेरिरहेँ वरिपरिको दृश्यलाई ।
अहिले उहिलेको जस्तो छैन् । सबै विषयवस्तु परिवेश पुराना दिनकै जस्ता हुने कुरा पनि त भएनन् । तीर्थस्थलको गरिमा बढाउने जात्रा–पर्वहरू हिजो आज तारे होटलको गरिमा बढाइरहेका छन् । पुराना स्वस्थकर बनेका परिकारहरू, पहिरन र भाषा सबै बासी, परम्परावादी र काम नलाग्ने बनेका छन् ।
संवेदना, माया र सद्भाव पलाउने मनका चौखटहरू कुँजा भइसके । यसरी एकतिर लोप भइरहेको संस्कृति र सभ्यता छ, अर्कोतिर बेतालमा बजिरहेछ एक्काइसौँ शताब्दीको डमरु । पैसाको लागि जे पनि गर्न तयार यत्रतत्र छरिएका मनहरू भौँतारिएकै छन् । तर पनि खोजिरहन्छ यो मन विगतका तिनै गहनानका मेला । त्यही परिवेश । त्यही उमेर । तिनै साथी संगीहरु । आखिर मनै त हो सम्झिन र सोच्नलाई के नै परिश्रम लाग्दछ र ।
प्रायोजक शिखर नगरपालिका र सहप्रायोजक गन्यापधुरा गाउँपालिका रहेको भलिवल प्रतियोगिताको अन्तिम दिन थियो माघेसंक्रान्तिको त्यो दिन । खेल हेर्नेको निकै नै भीड थियो गहनाननजिकै रहेको सिद्धेश्वर माविको प्राङ्गणमा ।
आयोजकको उक्त कार्य प्रसंसायोग्य थियो नै तर पनि भातमा ढुङ्गो लागेझैं खड्किरह्यो मेरो मनमा एउटै कुरा – के स्थानीय तहमा भलिबल खेल्ने खेलाडीहरु छैनन् ? छन् भने तिनीहरुलाई किन समावेश गरिएन ? एक लाख राशीको प्रथम पुरस्कार राखिएको उक्त प्रतियोगिताका खेलाडी थिए– क्षेत्रीय र राष्ट्रियस्तरमा खेलिसकेका ।
त्यहाँका स्थानीयले चिनेका खेलाडी नभएपछि मौन थिए दर्शकहरु । देखिएन सुनिएन कतै हुटिङ गरेको पनि । शिखर नगरपालिका र गन्यापधुरा गाउँपालिका अन्तर्गत पर्ने दुई दर्जन जति हाइस्कुल छन् । त्यहाँ अध्ययनरत विद्यार्थीहरुका समूह बनाउन सकिन्थ्यो होला । यस्तो गर्नु भनेको स्थानीय तहमा नयाँ खेलाडी जन्माउनु पनि हो । तथापि रौनक आएकै थियो खेलमा ।
धार्मिक पर्यटनका हिसाबले महत्त्वपूर्ण गन्तब्यका रुपमा हेर्न सकिन्छ गहनान क्षेत्रलाई हराभरा र मन्दिरै मन्दिरको किनार बनाउन सकिन्थ्यो । संग्रहालय निर्माण गर्न सकिन्थ्यो । त्यो क्षेत्रको महिमा उल्लेख गरेका पोष्टर, ब्रुसर तयार गरी भारतसम्म प्रचारप्रसार गर्न सकिन्थ्यो ।
होमस्टे चलाउन सकिन्थ्यो नजिकका गाउँमा । अन्य सांस्कृतिक कार्यक्रमहरु गर्न नसके नि पुराणमा ठूलै महत्व दर्शाइएको त्यस क्षेत्रमा लाग्ने मेलाको विशेष अंश बनेको डेउडा खेल खेलाउन सकिन्थ्यो । थुप्रै छन् यस्ता गर्न सकिने कार्यक्रमहरु ।
आशाका किरणहरुले पनि सिकाउछन् ऊर्जापूर्वक बाँच्न । मनभरि आशाका ऊर्जा थुपारेर बाँच्दै गर्दा चाडै नै आइपुग्ने छ त्यो दिन । स्थानीय सरकारका पदाधिकारीले अलिकति पनि मनन् गरिदिए र त्यस क्षेत्रलाई पर्यटकीय गन्तब्यका रुपमा चिनाउने प्रयत्न गरिदिए भने सुन्न सकिने छ कयौंका मुखार बिन्दुबाट – ‘हाम लगै आउन्या हौं तमरी गहनान । (हामी पनि आउनेवाला छौं तपाईको गहनानमा ।)’