नेकपाको झगडाले संविधानलाई खतरामा पर्‍यो, कांग्रेसले अवश्य बचाउँछ : राजेश रौनियार

प्रतिनिधिसभा विघटनपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी फुटेको छ। नेकपाको प्रचण्ड समूह, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलगायतले सरकारविरुद्ध आन्दोलन थालेका छन्। नेपाली जनताको बलिदानीबाट ल्याइएको लोकतन्त्र नेकपाको आन्तरिक कलहले गर्दा धराप पर्न पुगेको आरोप लगाइएको छ।

देश सङ्घीय संरचनामा गइसकेको र मुलुकमा तीन तहको सरकार भइसकेको छ तर अहिलेसम्म जनता जीवनमा कुनै परिवर्तनको महसुस  छैन। यसै सन्दर्भमा हामीले कुराकानी गरेका छौँ-  ने.वि सङ्घका सहमहामन्त्री तथा नेपाली कांग्रेस बाराका महाधिवेशन प्रतिनिधि राजेश रौनियारसँग श्रीनारायण महतोले गरेकाे कुराकानी। 

तपाईंलाई के लाग्छ– साँच्चै लोकतन्त्र खतरामा परेको हो ?

एकदम परेको हो। अहिले संविधानले नदिएको अधिकार प्रयोग गरी सरकारले बलजफ्ती संसद् विघटन गर्‍यो। विभिन्न समयमा मुलुकमा किसिमका अध्यादेश ल्यायो। यो सरकारले संविधानलाई पहिलादेखि नै धावा बोल्दै आएको छ।

संविधानविपरीत र लोकतन्त्रको मर्म नै नबुझेर गर्ने कामले त संविधान खतरामा परेको नै छ। नेकपाको नै अर्को समूहले यो अवैधानिक भयो भनेर प्रदर्शन गरिरहेको छ। योभन्दा बढी प्रमाण के चाहियो तपाइँलाई।

संविधान खतरामा छ भने यसलाई जोगाउन कांग्रेस के गर्दैछ ?

कांग्रेसले गर्ने काम गरिरहेको तपाईंलाई थाह नै छ। हामीले केन्द्रीयको कार्यालय निर्णयअनुसार भिन्न मितिमा केन्द्रदेखि प्रदेश र वडासम्म आन्दोलन तथा विरोध प्रदर्शन गर्दैआएका छौँ। हामीले १६५ निर्वाचन क्षेत्रमा र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शन गरी सकेका छौँ। भोलि शनिबार ७५३ स्थानीय तहमा सरकारविरुद्धमा प्रदर्शन गर्नेछौँ।

सरकारका अलोकतान्त्रित गतिविधिविरुद्धमा कांग्रेस शसक्त भएर अवाज उठाउँदै आएको छ। आगामी दिनमा पनि सरकारको यस्तो रवैया रह्यो भने अवश्य नै राजनीतिक रुपमा प्रतिवाद गर्ने छ।

अहिले सर्वोच्च आदालतको मुख हेरिरेका छौं। कांग्रेसलाई विश्वास छ कि अदालतले लोकतन्त्रको पक्षमा नै फैसला गर्ने छ र संविधानलाई जोगाउने छ।

कांग्रेस पनि आन्तरिक राजनीतिक कलहको कारण जसरी एउटा विपक्षको भमिका निर्वाह गर्नुपर्ने थियो, त्यस्तो कहाँ गर्‍यो ? जनताले पनि यही भन्दैछन् ? 

आन्तरिक कलह त मैले कतै देखेको छैन। हो व्यक्तिवादी कुराहरु होला। कुनै नेताले आफ्नो व्यक्तिगत धारणा राखेको होला तर आधिकारिक रुपमा हाम्रो पार्टीमा आन्तरिक कलह कतै छैन। महाधिवेशनको कुरा लिएर केही कुराहरु आएको होला। त्यो हाम्रोबीचमा झगडा नै भयो भन्ने होइन नि ! 

तर बाहिर हल्ला छ कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिल्छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल भने प्रचण्ड, नेपाल समूहसँग सहकार्य गर्दैछन् ?

होइन। यस्तो कुरा कतै छैन। हाम्रा सभापति शेरबहादुर देउवासँग भेट्न भएका नेकपाका प्रचण्ड नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपालले तपाईं हामीसँगै आन्दोलनमा आउनुस्, हामीलाई साथ दिनुस् र संसद पुनर्स्थापित गराऊ भनेका मात्र हुन्।

प्रचण्ड / नेपालले देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका हुन् ?

मैले पनि विभिन्न सञ्चारमाध्यममा सुनेँ तर हाम्रा सभापति देउवाले  पार्टीमा कुरा गरेर केही भन्छु पनि भन्नुभयो। कांग्रेसलाई देश र लोकतन्त्रभन्दा सत्ता प्यारो छैन।  

अन्त्यमा, संसद् विघटन भइसकेपछि जनमानसमा कस्तो प्रभाव परेको छ ? 

जनताले दिएको दुईतिहाईको बहुमत कम्युनिष्ट सरकारले पचाउन नसकेपछि जनतामा कतै न कतै निरासा छाएको छ। जनताले दिएको मतको कदर भएको छैन। बलिदानीबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र कहीँ धरापमा पर्न सक्छ कि भन्ने डरले जनतालाई सताइरहेको छ।
कांग्रेसले लोकतन्त्रको रक्षाका लागि संघर्ष गरिरहेको छ। लोकतन्त्रलाई टिकाइराख्न कुनै कसर हामीले बाँकी राख्ने छैनौँ। कांग्रेसले जनतालाई विश्वास दिलाउन चाहन्छ।
 

प्रकाशित मिति: : 2021-01-15 18:13:00

प्रतिकृया दिनुहोस्