चेतनाथ आचार्य
यही जनवरी ६ तारिख बुधबार दिउँसो, बेइजिङको तापक्रम माइनस १९ डिग्री सेल्सियस। मुटु कमाउने चिसो हावा। केही पाइला हिँड्दा पनि ज्यानै जालाजस्तो। चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेअनुसार २० वर्षपछि बेइजिङको तापक्रम यति तल झरेको अहिले हो। झलमल्ल घाम लागिरहेको भए पनि चिसो सिरेटोले खुला ठाउँमा राखिएको पानीलाई तुरुन्तै बरफ बनाउने।
मध्य दिउँसो त्यो चिसोमा बाहिर निस्किँदा मलाईचाहिँ भित्रदेखि गर्मीको महसुस भइरहेको थियो। ममा कुनै ज्वरो थिएन तर मन भने भकभकी उम्लिरहेको। कोठाबाट २ सय मिटर हिँडेर मिनी बसमा चढेपछि मनभित्रको तापक्रम अझ उक्लियो।
चिसो वातावरणमा मन तात्नुको पछाडि एउटा सुखद संवेग थियो। तुलबुल थियो। जिज्ञासा र कौतुहलता थिए। दोस्रो विश्वयुद्धपछि विश्वमा देखिएको सबैभन्दा ठूलो समस्या कोरोना महामारीविरुद्ध चीनले बनाइरहेको खोपको प्रत्यक्ष अवलोकन गर्न जाने अवसर पाएकाले चिसोमा पनि मलाई तातो महसुस भइरहेको थियो।
एउटा पत्रकारका लागि कुनै स्थलको प्रत्यक्ष अवलोकन गर्न पाउनु सामान्य कुरा हो। तर कोरोनाविरुद्ध खोप बनाइरहेको चीनकै अग्रस्थानको कम्पनी, खोप निर्माण प्रक्रिया, प्रयोगशाला, पछिल्ला प्रगति सबै कुरा प्रत्यक्ष देख्न पाउनु ठूलो उपलब्धि थियो मेरो लागि। उच्च प्रविधियुक्त प्रयोगशाला र विश्वका दर्जन मुलुकमा मानिसमा परीक्षण गर्दा ८५ प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको खोपको निर्माता साइनोभ्याक्स चीनको मात्र होइन, विश्वकै नामी खोप कम्पनी हो।