निक्कै ठूला र नाम चलेका अस्पतालले निको पार्न नसकेर ‘डिस्चार्ज’ दिएका बिरामीहरूको सफल उपचार गरे पनि मोरङको उर्लाबारी—८ का ८३ वर्षीय वीरबहादुर धिमालको चर्चा हुने गरेको छैन।
जुम्ल्याहा धिमाल दाजुभाइका रुपमा परिचित धिमालको दाजु बखतवीरको ६ वर्षअघि निधन भइसकेको छ। दाजुभाइ मिलेर धेरैको जण्डिसको उपचार गरे। दाजुको निधनपछि आफू एक्लैले उपचारको काम गरिरहेको वीरबहादुर बताउँछन्।
धिमालले ०१७ सालदेखि सोही ठाउँमा बसेर आयुर्वेदिक पद्धतिबाट जन्डिस, वाथ, रक्तश्राप र एलर्जीको उपचार गराइरहेका छन्। उनले आफ्नै बाबु तिल्कुरामबाट यो उपचार पद्धति सिकेका हुन्।
वीरबहादुरका अनुसार आयुर्वेदिक उपचार पाँच पुस्ताअघिदेखि नै धिमाल परिवारले गर्दै आएको हो। उनले आफ्नो उमेर ढल्कदै गएकोले उपचार गर्ने तरिका र जडिवुटीको नाम आफ्ना छोराहरूलाई सिकाइसकेका छन्।
सम्झनायोग्य घटना सुनाउनु न भन्ने जिज्ञासामा वीरबहादुरले भने, ‘उसबेला नाम ठेगाना राख्ने चलन नै थिएन। ०२५ सालमा भारतको सिलगढीबाट एक जना अद्र्धचेतकी महिलालाई उपचारका लागि उनका आफन्तले ल्याएका थिए। भारतका ठूला अस्पतालमा उपचार असम्भव भएपछि जुम्ल्याहा धिमालले नेपालमा उपचार गर्छन् भन्ने सुनेर उनीहरू उर्लाबारी पुगेका रहेछन्।
१५ दिन आवासीय उपचार गरेपछि ती महिला हिँड्दै घर गएको घटना उनलाई आजसम्म पनि सपना जस्तो लागिरहन्छ। धिमालले धेरैको जीवनमा खुशी ल्याइदिएका छन्। वीरबहादुरले भने, ‘जन्डिसले मर्न लागेका बिरामीहरू ठम्ठम् हिँड्दै गएका धेरै घटना छन् तर साधारण लेखपढका जुम्ल्याहा दाजुभाइले प्रविधि र शिक्षाको अभावमा सबैको नाम र रेकर्ड राख्न सकेनन्।
आदिकालदेखि तराईको औँलोमा संघर्ष गर्दै आएका धिमालहरूको इतिहास धेरै पुरानो छ। वीरबहादुरका अनुसार धिमालको उत्पति–स्थल नै मोरङ नै हो रे !
वीरबहादुर विगत सम्झँदै भन्छन्– १२/१३ सालमा पनि यो ठाउँमा घना जंगल थियो। त्यही जंगलबाट बाजे बराजुहरूले जडिबुटी संकलन गरी मान्छेको उपचार गर्नुहुँदो रहेछ। उसबेला गाउँघरमै उपलब्ध हुने जडिबुटी खोज्न अहिले भने धेरै टाढाको जङ्गल नै पुग्नुपर्छ।
विभिन्न सात किसिमका जडिबुटीहरूको मिश्रण गरी उनी जन्डिसको औषधी तयार गर्छन्। त्यसो अरु रोगको उपचारमा पनि उनी जडिबुटी नै प्रयोग गर्छन्। औषधि निर्माणको विधि उनले आफ्ना सन्तानबाहेक अरु कसैलाईपनि सिकाएका छैनन्। उनका अनुसार विधि साधारण छ। तर, मात्रा र परिमाण मिलाउन नजान्दा औषधि विष पनि बन्नसक्ने भएकोले जो कोहीलाई भन्न गाह्रो छ।
अझ रमाइलो कुरा त उनी उपचार निःशुल्क गर्छन्। निको हुनेहरूपछि आएर दुई चार पैसा दिन्छन्। २०÷२२ साल तिर १० रुपैयाँ दिन्थे।अहिले २ सयदेखि १ हजारसम्म दिन्छन्।
त्यसो त जुम्ल्याहा धिमालको परिवार पहिले देखि नै खानदानी हो। अहिले पनि १२ बिगाहा जग्गा छ उनको। भन्छन्– पैसाका लागि उपचार गरेको होइन्, आफुले जानको सीपबाट सेवा गर्या हुँ।
काठमाडौंको शिक्षण अस्पतालबाट डिस्चार्ज भएका पोखरा निवासी एक जना विरामी धिमालको औषधिबाट निको भएपछि ठूलो हङ्गामा नै भयो। वीरबहादुर भन्छन्, ‘डाक्टरहरू आएर औषधि काठमाडौंको क्लिनिकमा राख्न अनुरोध गरे। पैसा आधि–आधि गर्ने शर्त पनि गरे। सस्तोमा औषधि दिँदा औषधिको हेलाँ हुने, उपचार गर्नेको अपमान हुने उनको भनाइ थियो तर पैसा कमाउन औषधि गरेको होइन भनेर हामीले औषधि दिएनौँ।’
उनी डाक्टरको कुराप्रति सहमत भएनन्। गाउँमा पनि उनको औषधि खानेको संख्या पर्याप्त छ। स्थानीय दीपेश आपागाईं पनि धेरैपटक जुम्ल्याहा दाजुभाइको औषधि खाएर निको भएको अनुभव सुनाउँछन्।
झण्डै २५ हजारभन्दा बढीको उपचार गरिसकेका धिमालले आजसम्म कसैको अपवित्र वचन सुन्नुपरेको छैन। उनी थप्छन्, ‘भनेअनुसार मुख बारेर औषधि खाएपछि जुनसुकै जन्डिस निको हुन्छ। गाउँमा बसेर आयुर्वेदिक पद्धतिबाट उपचार गराइरहेका धिमालको प्रविधिबारे राज्य पनि केही अनुसन्धान गर्न सके सामान्य बिरामीका लागि लाखौँ रुपैयाँ खर्चेर उपचार गरिरहनुपर्ने थिएन कि ?’