बन्द सीमानाका खुलाउन सरकारसँग सामाजिक अभियन्ता यादवको आग्रह

सामाजिक अभियन्ता विजय यादवले सीमानाका खुलाउन राष्ट्रपति र प्रधानमन्त्री समक्ष आग्रह गरेका छन्। 

उनले बीएल नेपाली सेवासंग संक्षिप्त कुराकानी गर्दै सिमानाका बन्द रहेको हुँदा सीमासँग टाँसिएर बसेका यस भेगका जनतालाई धेरै गाह्रो भइरहेको बताए।

कोरोना संक्रमण कालमा लामो समयदेखि बन्द रहेको नेपाल भारत बीचको सीमानाका सरकारले खोल्ने तयारी गरेको भएपनि कहिले खुल्छ भने कुनै अतोपतो छैन।

‘नेपाल–भारत सीमानाका बन्द हुँदा मधेसमा बिवाह, गाडी आउजाउ, किनमेललगायतको समस्या भइरहेको छ। यसले जनजीवन नै प्रभावित पारेको छ,’ यादवले भने।

नजिकिएको चाडवाडमा समेत सीमापारिका चेलीबेटीलाई बोलाउन अथवा उनीहरुको घरमा जानको लागि समस्या परेको उनले बताए। 

‘कोरोनामा लगाईएको सबै खाले प्रतिबन्धहरु हटेको छ। तर सरकारले नाटकीय रुपमा एकतर्फी मात्र सीमानाका बन्द गरेर जनतालाई दुख दिने काम भइरहेको छ,’यादवले भने।

उनले सीमानाका बन्द हुँदा तस्करी समेत बढेको दाबी गरेका छन्। ‘सीमानाका नखुल्दा जनताले लुकाई छिपाई दैनिकी उपभोग्य बस्तुहरु ल्याउदा प्रहरीले खोसेर जफत गर्ने गरेको छ। तर त्यही तस्करहरु अबैध तरिकाले क्विन्टलसम्मका सामान ल्याउदा आर्थिक प्रलोभनमा परेर लैजानदिने गरेका छन्,’ उनले बताए। 

पर्साको अधिकांश गाउँहरु सीमानाकासंग जोडिएको छ। नेपालमा दैनिक उपभोग्य सामग्री महङ्गो भएर उपभोक्ताहरु सीमापारी जानेको गरेका थिए। 

तर सीमा बन्द हुँदा जनताले तस्करीको समान नै बाध्य भएर महङ्गोमा नै किन्ने गरेका छन्। देशमा भएको आन्तरिक राजनीतिक किचलोको कारण नाका कहिले खुल्ने एकिन छैन। 

सरकारले त आफ्नो प्रयोजनको लागि समान त ल्याउदै छ तर सर्वसाधारण जनताको लागि खोलिएको छैन। ‘सरकारले अब जसरी आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर सबै जसो क्षेत्र खोलेको छ त्यसरी नै नाकालाई खोल्नु पर्छ,’ उनले भने। 

कोरोनाको ठूलो महामारीको कारण जनताहरु अहिले आर्थिक अवस्थाबाट निकै नराम्रोसँग प्रभावित भएको यादवको भनाइ छ। 

‘झन यत्रो महङ्गी बढेको छ। जनतालाई कसले हेर्या छ? सबैले आ–आफ्नो कुर्सि बचाउने खेलमा लागेका छन्। जनता के खाँदै छन् कसरी आफ्नो जीविकोपार्जन गर्दैछन्?  सुस्ताएको आर्थिक गतिबिधिलाई कसरी अगाडी बढाउने भन्ने कुनै चासो सरकारले दिएको नै छैन,’ उनले भने। 

प्रकाशित मिति: : 2021-01-13 12:12:00

प्रतिकृया दिनुहोस्