प्रधानमन्त्री ओलीले तानाशाहीको बाटो राेजे: यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले हतास मानसिकताले संसद् विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओली तानाशाहीको बाटोतर्फ अग्रसर रहेको टिप्पणी गरेका छन्। 

पार्टीको आन्तरिक झगडा मिलाउन नसक्दा प्रतिनिधि सभा विघटन गरेर संघियतालाई जोखिममा पारेको अध्यक्ष यादवको भनाई छ । 

वीरगञ्जमा संघिय प्रेस फोरमले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यादवले मधेश आन्दोलन, जनआन्दोलन लगायतबाट प्राप्त उपलब्धीलाई समाप्त पार्न प्रधानमन्त्री ओली लागिपरेको आरोप लगाए । 

‘विगतमा आफैले गरेका सहमतिहरु कार्यन्वयन नगर्दा हामीहरु संविधानबाट बाहिरिएको थियौं,’ उनले भने,‘ प्रधानमन्त्रीले पार्टी फुटाउने र संवैधानिक निकायहरुलाई कब्जा गरेर निरङकुशता लाद्न खोजे।’

संविधानले नदिइएको अधिकार प्रयोग गरेर प्रतिगमनकारी नीतितर्फ प्रधानमन्त्री ओली उन्मुख भएको हुँदा यसको प्रतिकारमा सबै जनता ऐक्यबद्धता भएर उत्रिनुपर्नेमा जोड दिए । 

संसद् विघटन पुर्णरुपमा असंवैधानिक र गैरसंवैधानिक कदम भएकाले सर्वोच्चले जनताको पक्षमा निर्णय गर्ने विश्वास पनि उनले व्यक्त गरे । 

‘समावेशिता र पहिचान लगायतका सवालहरु सुन्ने वित्तिकै उनलाई कति भोल्टको हो कति भोल्टको करेन्ट लागे जस्तो हुन्छ’, यादवले भने। 

निर्वाचनको घोषणा गरेको प्रसँगमा अध्यक्ष यादबले प्रधानमन्त्री ओलीको नेतृत्वमा हुने चुनावको विश्वसनियता र निष्पक्षतामा जनताले विश्वास नगर्ने दावी गरे  । 

संघियता, गणतन्त्र र लोकतन्त्रको पक्षमा रहेका शक्तिहरुविच एकता हुनुपर्ने र देशमा स्थिर सरकार ल्याउनुपर्ने उनको आशय छ ।
 

प्रकाशित मिति: : 2021-01-12 13:07:00

प्रतिकृया दिनुहोस्